ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पबाट १०६१ किमी सडक क्षति : सडक पुनर्निर्माणको काम पनि निराशाजनक

Jan 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका कामहरूमा ढिलाइ भइरहेको अवस्थामा भूकम्पप्रभावित सडक संरचनाको पुनर्निर्माण तथा स्तरोन्नतिको काम पनि निराशाजनक देखिएको छ । २०७२ वैशाख १२ को भूकम्पबाट कुल १ हजार ६१ दशमलव ६४ किलोमिटर (किमी) सडकमा क्षति पुगेको थियो । त्यसमध्ये हालसम्म भक्तपुरको तेलकोटको ७ किमी सडकमात्रै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । उक्त सडक कुल सडकमध्ये एशियाली विकास बैङ्क (एडीबी)सँगको ऋणमा निर्माण हुने १७ ओटा सडकको ३ सय ७ किमीमध्येको हो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)अन्तर्गतको भूकम्प आपत्कालीन सहायता आयोजना (ईईएपी)का अनुसार उक्त सडक १ महीनाभित्र सम्पन्न हुनेछ । त्यसका अतिरिक्त विपद्पछिको व्यवस्थापन ढाँचा (पीडीआरएफ)अन्तर्गत ३१ ओटा सडकको ७ सय ५३ दशमलव ८९ किमी निर्माण हुनेछन् । एडीबीको रू. ४ अर्ब ऋण सहयोगमा सडक निर्माण तथा सडक पुलजस्ता पूर्वाधार निर्माणका लागि २०७३ पुसमा आयोजना स्थापना भएको हो । आयोजना निर्देशक ईश्वरचन्द्र मरठ्ठाले सबै सडक निर्माणको प्रक्रियामा गइसकेको बताए । उनले भने, ‘आयोजनाले १८ महीनामा सबै सडक निर्माण सक्ने जिम्मा पाएको थियो, तर चुनावलगायत कारणले ढिलो हुने देखिएको छ ।’ १ वर्षमा ७ किमी सडक निर्माण गर्न नसकेको आयोजनाले भूकम्पबाट क्षति भएका सबै सडक २०७५ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण कार्य अघि बढाएको बताए पनि सो समयमा निर्माण पूरा हुने सम्भावना भने कम देखिन्छ । उनले हालसम्म सडक निर्माणका लागि रू. ८० करोड खर्च भइसकेको जानकारी पनि दिए । कुल सडकमध्ये ३२ ओटा निर्माणको प्रक्रियामा गएको र ५ ओटा सडक ठेक्का प्रक्रियामा रहेका छन् । मरठ्ठाले भूकम्पबाट क्षति भएका यिनै सडकमा सडक पुल निर्माणका लागि प्रक्रिया शुरू गरिएको पनि बताए । उनका अनुसार यही चालू आर्थिक वर्षमै ८९ ओटा सडक पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसक्ने र त्यसलगत्तै निर्माण प्रक्रियामा जानेछन् । डोलिडारका अनुसार पीडीआरएफअन्तर्गतका १८ ओटा जिल्लाका सडकको डीपीआर तयार भइरहेको छ । भूकम्पको ३ वर्ष हुनै लाग्दा प्रभावित सबै भौतिक संरचनाको निर्माणको काम सुस्त देखिएको अवस्थामा सडक संरचनाको निर्माणको काम पनि निराशाजनक देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ती सडकमध्ये १ सय ४० किमी सडक रणनीतिक सडकअन्र्तगत रहेका छन् । आयोजनाले हाल १२ ओटा जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, चितवन, गोरखा र लमजुङमा सडक निर्माण गरिरहेको छ । यस्तै पीडीआरएफअन्तर्गत १८ जिल्लामा रहेका सडकहरूमा सङ्खुवासभा, धनकुटा, खोटाङ, भोजपुर, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, मकवानपुर, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची, म्याग्दी र पाल्पा रहेका छन् । यी सडक नेपाल सरकारको लगानीमा निर्माण हुनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)