पुस २३, धनगढी । एकसय तीन कित्ता अर्थात १७ बिगाहा ४ कट्टा साढे ८ धुरी जमिन धनगढी विमानस्थलको नाममा नामसारी गर्न २३ करोड ११ लाख ५ हजार रुपैयाँ जग्गा अधिग्रहणवाफत मु–आब्जा वितरण गरिएको छ । करीब ९८ घरपरिवारको जग्गा अधिग्रण गरी अधिकांश जमिन धनगढी विमानस्थलको नाममा नामसारी भइसकेको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले जानकारी गराए ।
८–१० घरपरिवारको जग्गा मात्रै अव विमानस्थलको नाममा नामसारी हुन बाँकी छ, केहिदिनभित्रै त्यो जमिनपनि नामसारी भएर आए धनगढी बीमानस्थलको नाममा कूल ७० बिगाहा जमिन हुनेछ, उनले भने ।
विमानस्थलको नाममा जग्गा नामसारी सम्पन्नलगत्तै धनगढी विमानस्थलको दूरी र दिसा पत्ता लगाउने उपकरण जडान गरिने विमानस्थल प्रमुख ठकुल्लाले बताए । बाक्लो हुस्सु र तुवालो लागेका बेला र रात्रिकालिन समयमा पनि सवै उडानहरु भर्न सकिने गरी जापानको जाइकाको सहयोगमा भीओआर–डीएमई उपकरण जडानका लागि जमिन अतिक्रमण गरिएको हो । धनगढी विमानस्थल त्रिभुवन विमानस्थलपछि धावनमार्ग लामो भएको देशकै ठूलो विमानस्थल हो । ३० मिटर चौडा र १ हजार ८ सय मिटर लामो धावनमार्ग भएको धनगढी विमानस्थल ५२ बिगाह क्षेत्रफलबाट बढेर अहिले ७० बिगाहा पुगेको छ । लामो समयको प्रयासपछि २०७२ सालमा पौने ९ बिगाह जमिन अधिग्रहण गरिएको थियो भने हाल १७ बिगाहा ४ कट्टा साढे ८ धुरी अधिग्रहण गरिएको छ ।
स्थानीयस्तरको प्रयास र सक्रियताकै कारण २०६२ सालमा विमानस्थलको धावनमार्ग कालोपत्रे भएको थियो । अहिलेसम्म धनगढी विमानस्थलको नाममा करीब ६०–६५ बिगाह जमिन रहेकोमा सबै मौसममा दूरी र दिसा पत्ता लगाउन सक्ने उपकरण भीओआर–डीएमई जडानका लागि थप १७ बिगाहभन्दा बढी जमिन विमानस्थलको नाममा नामसारी हुन अन्तिम चरणमा पुगेको छ । मु–आब्जा कम दिएको भन्दै जग्गा धनी यावप्रसाद जोशीले जिल्ला प्रशासनमार्फत गृहमन्त्रालयमा मुद्धा दायर गरेकाले काममा केहि समस्या भएपनि बाँकी जमिनलाई नामसारी गर्ने काम निरन्तरण अघि बढिरहेको कार्यालयले बताएको छ । सरकारी मूल्याङ्कन ६ लाख कायम गरिएको जग्गाको १२ लाख रुपैयाँ दिँदा पनि नमानेपछि विकासनिर्माणमा समस्या देखिएको कार्यालयको भनाई छ ।
भीओआर–डीएमई उपकरण नभएका कारण अहिले धनगढी विमानस्थलमा दैनिक उडानहरु अवरुद्ध हुने गरेको छ । बाक्लो हुस्सु र तुवालो लागेका वेला जहाज अवतरण हुने अवस्था नदेखिएपछि जतिसक्दो चाँडो अधिग्रहण गरिएको जग्गालाई विमानस्थलको नाममा नामसारी गरी भीओआर र डीएमई उपकरण जडान गराउने कार्यमा हामीले जोड दिएका छौँ, ठकुल्लाले भने । यसअघि जाइकाले उपकरण जडानका लागि माटो तथा जमिनको परिक्षण गरिसकेकाले उपकरण जडान हुन मात्रै बाँकी रहेको उनले बताए । जहाज अवतरण मुख्यतया दुई प्रकारले हुने गरेको छ । एउटा आँखाले हेरेर (भीएफआर, अर्को उपकरणको सहयताले भिजिविलिटी कम हुँदा पनि सहजै अवतरण गराउन सकिन्छ ।
धनगढी विमानस्थलको हकमा अहिले अन्दाजको भरमा वा पाइलटको आँखाले हेरेर (भीएफआर)को सहायताले जहाज अवतरण गरिंदै आएको उनले बताए । दिसा निर्देशन गर्न (विमानस्थलदेखि जहाजसम्मको दूरी देखाउँने इभीओआर–डीएमई जडानका लागि १७ बिगाहा जमिनभन्दा बढि आवश्यक देखिएकाले मु–आब्जासहित जग्गा विमानस्थलको नाममा ल्याउनु आवश्यक थियो । उनका अनुसार धावनमार्गको थे्रसहोल्डदेखि ४ सय २० मिटर एप्रोसलाइट र भीओआर–डीएमईको लागि समेत गरेर ७ सय ५० मिटरको दूरीमा जडान गर्नुपर्ने भएकाले खुटिया रोडसम्म जग्गा अधिग्रहण गरिएको हो ।
रात्रीकालिन उडान समेत सहजै रूपमा भर्न सकिने उपकरणहरु जडान गरिन लागेकाले निजी जग्गा अधिग्रहण कार्यलाई छलफल र संवादको माध्यमबाट सरकारी मूल्याङ्कनको आधारमा मु–आब्जा वितरण गरी विमानस्थलको नाममा उक्त जग्गा नामसारी गर्ने काम भइरहेको छ ।
२०६५ सालदेखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गरिंदै आएको छ । सवै मौसममा सहजै विमान अवतरणका लागि इभीओआर–डीएमई उपकरण जडान गर्न चालू आवभित्रै काम सक्ने लक्ष्यअनुरुप काम भइरहेको कार्यालयले बताएको छ ।