ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ करोडको खरी–बोरी खोलाको पानी आउँदै

Jan 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
पुस २४, सुर्खेत । सुर्खेत उपत्यकामा खानेपानीको अभाव झेल्दै आएका नागरिकलाई अब केही राहत हुने भएको छ । बहुप्रतिक्षित खेरी–बोरी आयोजनाको ३० लिटर प्रतिसेकेण्ड पानी करेखोला प्रशोधन केन्द्रमा थपिँदा खडेरीमा वीरेन्द्रनगरका बासिन्दाले अब केही राहत पाउने छन् । उपत्यकामा खानेपानी आपूर्ती गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले झुप्रा खोलापछिको दोस्रो आयोजनाको निर्माण सम्पन्न गरेर पानीको स्रोत थप गरेको हो । झुप्रा खोलाबाहेक खरी र बोरीखोला आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थपिएपछि वीरेन्द्रनगरका बासिन्दालाई केही मत्थर हुनेछ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको खरी–बोरीखोला आयोजनाबाट तत्काल केही हदसम्म खानेपानी समस्या कम हुने बताएको छ । आयोजना पूर्णरुपमा सम्पन्न हुन अझै एक महीना लाग्ने संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए । उनले आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थप हुने बताए । ‘अहिल्यै २२ लिटर प्रतिसेकेण्ड आईसकेकोले संस्थाको आम्दानी ११ प्रतिशतले थप वृद्धि हुनेछ,’ उनले भने, ‘आयोजनाबाट पानी आएपछि अब पानीको लोडसेडिङ २४ घन्टाभन्दा बढी हुँदैन् ।’ यसअघि ९६ घन्टाको पालो लगाउने गरिएको थियो । हाल आइरहेको १ सय १९ लिटर प्रतिसेकेण्ड पानीमा अब ३० लिटर प्रतिसेकेण्ड दोस्रो आयोजनाबाट थप हुँनेछ । झण्डै ५४ किलोमिटर दूरीबाट आयोजना सम्पन्न गरेर संस्थाले पानीको स्रोत थप गरेको हो । खरी–बोरी खोला आयोजनाको लागत २०७२ माघबाट निर्माण थालिएको यो आयोजनाको कूल लागत १७ करोड १८ लाख ९७ हजार ५सय ५० रुपैयाँ थियो । ३४ हजार ९ सय ४३ घरधुरीका १ लाख ९६ हजार ३ सय ५२ जना नागरिक यो आयोजना निर्माण सम्पन्न पश्चात लाभान्वित हुनेछन् । तर, नयाँ आयोजनाको पानी थपिएसँगै अग्रीम भुक्तानी दिएका नागरिहरुको घरमा धारा जडान कार्य पनि जारी रहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उनले नयाँ आयोजनाबाट हाल करेखोला केन्द्रमा २२ लिटर प्रतिसेकेण्ड पानी झरेकाले केही निर्माण चरण बाँकी रहेकाले एक महीनामा पूरै पानी केन्द्रमा थपिने बताए । डिजाइनभन्दा जनसङ्ख्या वर्षेनी तेब्बर बढ्दै संस्थाले झुप्रा खोला आयोजनाको निर्माण शुभारम्भ गर्दा तयार गरेको डिजाईन अनुसार ह्वात्तै सुर्खेत उपत्यकाको जनसङ्ख्या बढ्दा पानी वितरणमा समस्या भएको संस्थाका अध्यक्ष देवकोटा बताउँछन् । सन् २००२ मा गरिएको प्रारम्भिक सर्भेमा उपत्यकामा ५२ हजार ६ सय २७ जनसंख्या थियो । तर डिजाइन अवधि सन् २०२० सम्म १ लाख ४ हजार २ सय ३९ नागरिकलाई झुप्रा खोला मुहानको पानी थेग्ने अनुमान थियो । सन् २०१५ मै उपत्यकामा १ लाख ५० हजार जनसङ्ख्या भएपछि खोनपानी सङ्कट खडेरीमा चुलिएको हो । संस्थाको ०७४ पुस २० गतेको तथ्याङ्क अनुसार नीजि १४ हजार ९ सय ७२, कार्यालय सङ्घ संस्था २ सय ८३, सामूहिक १ सय २१ गरी १५ हजार ३ सय ७६ धारा जडान गरिएको छ । तर प्रक्रिया पुगेका २ हजार १ सय १५ धारा जडान हुन बाँकी रहेको अध्यक्ष देवकोटाले उल्लेख गरे । दीर्घकालीन समाधान गर्न भेरी नदीको पानी ल्याईने सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको छ । भेरी पम्पिङ आयोजना नाम दिई अहिले विस्तृत सर्वेको काम भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अबको तीन वर्षभित्र सुर्खेत उपत्यकाबासीले भेरी नदीको पानी खान पाउनेछन् । उक्त आयोजनाका लागि परामर्शदाता सिएमएस÷जेकन÷जीकन जेपी रहेको छ भने क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय र सुर्खेत उपत्यका खानेपानी संस्थाले समन्वय गरिरहेका छन् । भेरी नदी र झुप्रा खोलाको दोभानस्थललाई स्रोतको रूपमा प्रयोग गरेर इन्फिल्टूेशन ग्यालरी, पम्पिङ स्टेशन र ओभरहेड ट्याङ्कीहरुलगायत आवश्यक संरचनाहरु सोही क्षेत्रमा निर्माण गर्न उपयुक्त हुने बताइएको छ । विद्युत र सडकको सहज पहुँच, मर्मत सम्भार गर्न सहज हुने, पम्पिङपश्चात ग्राभिटी फ्लोबाट पानी ल्याउन सहज हुने र पम्पिङको लागि भर्टिकल डिस्टेन्स कम पर्ने सुझाव संस्थाले दिएको छ । सो आयोजनाका लागि एक अर्ब बढी रकम लाग्ने बताईएको छ । संस्थाका अध्यक्ष देवकोटाले बढ्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरीको पानी ल्याउने तयारी भइरहेको बताए । उनले ९० प्रतिशत सरकारको अनुदान र १० प्रतिशत उपभोक्ताको लागतमा सो आयोजना बनाउने मोडल तयार पारिएको उल्लेख गरे । त्यति धेरै रकम जुटाउन चुनौती भएपनि दीर्घकालीन समस्या समाधानका लागि त्यसको विकल्पपनि नभएको अध्यक्ष देवकोटा बताउँछन् । ‘सुर्खेत उपत्यकाका लागि चाहिने एक सय वर्ष पछिसम्मको खानेपानीको माग पूरा हुनेगरी सर्वे गर्ने काम भइरहेको छ,’ उनले भने, ‘भेरीबाट करब ५ सय देखि ७ सय लिटर प्रतिसेकेण्ड पानी आउनेछ ।’ परामर्शदाताले पम्पिङ स्टेशन र इण्टेक बनाउनका लागि विस्तृत सर्बे गरिसकेको छ भने वीरेन्द्रनगर ११ को अमृतडाँडामा ट्रिटमेण्ट प्लान्ट निर्माणको पनि सर्वे गरिसकेको छ । अहिले उपत्यकाको घरधुरी सर्वेक्षणका लागि ५ जनाको टोली बनाएर विभिन्न स्थानका ८ सय घरधुरीको तथ्याङ्क संकलन भइरहेको अध्यक्ष देवकोटाले बताए । उनले भेरी नदीको पानी नै सुर्खेत उपत्यकाबासीको दीर्घकालीन खानेपानी समस्या समाधानको एउटामात्रै उपाय रहेको जिकिर गरे । उपत्यकामा अहिले डेढ लाख जनसङ्ख्या छ । उक्त जनसङ्ख्यालाई दैनिक एक करोड ५० लाख लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने १ सय ४१ लिटर प्रतिसेकेण्ड मात्रै भइरहेको छ । अझै दैनिक २८ लाख लिटर पानी अपुग छ । संस्थाको नाम परिवर्तन २०५७ सालमा स्थापना भएको झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नाम फेरिएको छ । संस्थाको गत माघ १० गते सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट पारित र गत कात्तिक २३ गते जिल्ला जलस्रोत समितिबाट स्वीकृत भएपछि संस्थाको नाम सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था राखिएको हो । पानीको चुहावट नियन्त्रण गरिने संस्थाका अध्यक्ष देवकोटाका अनुसार वीरेन्द्रनगरमा अहिले पानीको चुहावट भइरहेको र यसलाई १५ प्रतिशतमा झार्ने योजना रहेको बताउँछन् । उनले विकास निर्माण गर्दा केहि ठाँउमा पाइपलाईन फुटेकोकारण वितरणलाईनबाट खेर गईरहेको पानीलाई तत्काल रोक्ने काम शुरु भएको बताए । उनका अनुसार केही घरधनिहरुले मोटर जडान गरी पानीको चोरी गर्दै आएकाले पानी चोरलाई तत्काल पत्तालगाई कडा कार्वाही गरिने छ । संस्थाले वीरेन्द्रनगरमा १० ओटा स्किम खडा गरी खानेपानीको वितरण गर्दै आइरहेको छ । संस्था विसं. २०५७ जेठ १५ गते स्थापना भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)