ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाँत माझ्नुहोस् ‘ब्ल्युटूथ ब्रस’ले

Oct 15, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

दाँतका समस्याले ग्रस्त भएका अथवा भविष्यमा निम्तिन सक्ने समस्याका कारण चिन्तित हुनुहुन्छ भने तपाईंका लागि एउटा खुशीको खबर । १ महीनापछि अन्तरराष्ट्रिय बजारमा एक यस्तो टूथ ब्रसको विक्री शुरु हुन लागेको छ, जसले तपाईंले राम्रोसँग दाँत माझिरहनुभएको छ कि छैन भनेर जानकारी दिनेछ । हो, एक अमेरिकी कम्पनीले ‘ब्ल्युटूथ’ कनेक्टिभिटीयुक्त एक टूथब्रस बजारमा ल्याउने तयारी पूरा गरेको छ । ‘बिमब्रश’ नाम दिइएको यो टूथब्रसबाट दाँतबारे जानकारीहरु लिन स्मार्टफोनको आवश्यकता भने पर्दछ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा यो टूथब्रशबाट पाउने जानकारी हेर्न एक ‘एप्लिकेशन’ डाउनलोड गर्नु पर्दछ । तत्पश्चात् बिमब्रशमा रहेको ब्ल्युटूथलाई चालू गर्दै स्मार्टफोनसँग जोडेपछि प्रयोगकर्ताको दाँत मझाइ र मुखभित्रका समस्याबारेका सबै जानकारी स्वचालित रुपमा स्मार्टफोनको डिस्प्लेमा हेर्न सकिन्छ ।

एप्लिकेशनमा रहेको ‘टाइमर’ सेट गरिसकेपछि प्रयोगकर्ताले दाँत माझ्न बिर्सिएको खण्डमा बिमब्रशले नोटिफिकेशनहरु प्रवाह गर्ने गर्दछ । त्यसैगरी प्रयोगकर्ताहरुको दाँत मझाइ ठीक भए/नभएकोबारे सन्देशहरु पनि दिने गर्दछ । निर्माता कम्पनीले दिएको जानकारीअनुसार टाइमरलाई एकपटक सेट गरिसकेपछि दुई मिनेटसम्म ब्रश गर्नुपर्ने सन्देश स्मार्टफोनमा प्रवाहित हुन्छ । त्यतिमात्रै नभई बिमब्रशले दाँतको अवस्था ठीक नभएमा दन्त चिकित्सककहाँ जान सुझाव पनि दिने गर्दछ । टूथब्रशको एप्लिकेशनले दाँत मझाइअनुसार प्रयोगकर्तालाई ‘रेटिङ’ पनि प्रदान गर्छ । विश्लेषकहरुले यो टूथब्रसले मानिसहरुको दाँत माझ्ने व्यवहारलाई परिवर्तिन गर्ने सम्भावना औंल्याएका छन् । उनीहरुका अनुसार दाँत राम्रोसँग नमाझ्ने बालबालिकाका अभिभावकलाई यो उत्पादन एक वरदान नै साबित हुन सक्छ । अभिभावकहरुले यसको प्रयोगबाट आफ्ना सन्तानहरुलाई ठीक समयमा सही ढङ्गले दाँत माझ्न प्रेरित गर्न सक्ने उनीहरुको भनाइ छ ।

कम्पनीले बताएअनुसार यसको स्मार्टफोन एप्लिकेशनको आगामी संस्करणमा प्रयोगकर्ताले आफ्नो दाँतका कुन भागलाई बढी ब्रश गर्ने गर्छन् भनेर विश्लेषण गर्ने सुविधा थपिनेछ । साथै, दाँत माझिरहँदा स्मार्टफोनमा मधुर सङ्गीत बजिरहने विकल्प पनि थपिने कम्पनीले बताएको छ । नोभेम्बरमा बजारमा आउने यसको मूल्य ५० अमेरिकी डलर तोकिएको जानकारी कम्पनीले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)