ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तराईका बाढीपीडितलाई राहत : १८ जिल्लामा रू. १ अर्ब ४ करोडको अख्तियारी

Jan 9, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । तराईका बाढीपीडितहरूले अब न्यानो लुगाका साथै घर मर्मतका लागि राहत पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाढीपीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरीद गर्ने गरी गृह मन्त्रालयलाई रू. १ अर्ब ४ करोड ६ लाख ५० हजारको अख्तियारी दिएपछि उनीहरूले राहत पाउने निश्चित भएको हो । प्राधिकरणले बाढी प्रभावित तराईका १८ जिल्लाका घरधनीलाई न्यानो लुगाका साथै घर मर्मतका लागि प्रतिघरधूरी रू. २५ हजार उपलब्ध गराउने गरी गृहलाई मङ्गलवार अख्तियारी दिएको हो । प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बाढीका कारण पूर्णरूपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधूरीलाई घर मर्मत र न्यानो लुगा खरीदका लागि रकम उपलब्ध गराएको बताए । उनले भने, ‘मङ्गलवार गृहलाई अख्तियारी दिइएको छ, अब गृहले जिल्ला विपद् व्यवस्थापन समितिले उक्त रकम परिचालन गरी बाढी प्रभावितलाई रकम उपलब्ध गराउने छन् ।’ प्राधिकरणका अनुसार प्रतिपरिवार घर मर्मत गर्न रू. १५ हजार र न्यानो कपडा खरीदका लागि रू. १० हजार वितरण गर्नेछन् । प्राधिकरणअन्तर्गतको बाढी पुनर्निर्माण तथा पुनःस्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहतस्वरूप घर मर्मत गर्न र न्यायो लुगा खरीदका लागि बुधवारदेखि नै प्रभावित जिल्लाका समितिमार्फत रकम वितरणको प्रक्रिया शुरू गरिने बताए । प्राधिकरणले ‘बाढीपश्चात्को पुनरुद्धार आवश्यकता पहिचाहन प्रतिवेदन’अनुसार पहिचान भएका ती घरधूरीलाई रकम उपलब्ध गराएको हो । तर, हाल उपलब्ध भएको रकम भने घर निर्माणबापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गरिनेछ । गत साउनमा आएको बाढीबाट अतिप्रभावित १८ जिल्ला क्रमशः झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया र कैलालीका घरधूरीले उक्त रकम पाउनेछन् । राष्ट्रिय योजना आयोगले तयार गरेको उक्त प्रतिवेदनअनुसार बाढीका कारण यी १८ जिल्लाका ४१ हजार ६ सय २६ घर पूर्ण रूपमा क्षति भएका र १ लाख ५० हजार ५ सय १० घरमा आंशिक क्षति पुगेको थियो । यस्तै, यी जिल्लामा रू. ६० अर्ब ७१ करोडको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार बाढीपीडितको पुनःस्थापनाको लागि रू. ७३ अर्ब २२ करोड लाग्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयले बाढीपीडितलाई तत्कालका लागि न्यानो कपडा खरीद गर्न र घर मर्मतका लागि उक्त रकम उपलब्ध गराउने गत कात्तिक २६ गते निर्णय गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)