मानिसहरू अनलाइन सपिङ गर्न किन हिच्किचाउँछन् भन्ने कारण पत्ता लागेको एक अध्ययनले देखाएको छ । स्मार्टफोन र ट्याब्लेटको प्रयोग गरेर अनलाइन शपिङ गर्दा एप्लिकेशनमा सामानहरूको पूरा चित्र नदेखिने वा केही स्पेशल अफरहरू छुट्न सक्ने र त्यसको मूल्य पनि राम्ररी नदेखिने हुँदा उपभोक्ताहरू स्मार्टफोनबाट शपिङ गर्न त्यति राम्रो नमान्ने गरेको बेलायतस्थित युनिभर्सिटी अफ इष्ट एङ्गिल्या (यूईए) का अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको हो । अनलाइन शपिङ गर्दा सुरक्षित हुने र गोप्य पनि रहने हुँदा उपभोक्ताहरूले सामान लिने सोच बनाए पनि पछि पैसा नतिरीकनै उनीहरूले शपिङको योजना रद्द गर्ने गरेको पाइएको छ ।
हाल अनलाइन शपिङ गर्दा मोबाइल एप्लिकेशनको प्रयोग लोकप्रिय बन्दै गएको भए पनि डेस्कटपमा आधारित अनलाइन शपिङको तुलनामा मोबाइल शपिङमा हुने खारेजीका घटना धेरै नै रहेको अनुसन्धाकर्ताहरू बताउँछन् । बजार अनुसन्धान संस्था क्रिटियोले बताएअनुसार सन् २०१६ मा विश्वमा मोबाइलबाट भएको इ–कमर्श ट्राफिकको हिस्सा बढेर ४६ प्रतिशतमा पुगेको अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, यसबाट भएका २७ प्रतिशत खरीदारीले मात्र मूर्त रूप पाउने गरेको उनीहरूको भनाइ छ । यसले अनलाइन रिटेलरहरूले मोबाइल शपिङमा धेरै नै खर्च गरिरहेको तर यसको सफल विक्रीको स्वाद भने चाख्न नपाएका कारण उनीहरूले ठूलो चुनौतीको सामना गर्नुपरिरहेको सङ्केत दिएको छ ।
अनुसन्धानकर्ताहरूले ताइवान र अमेरिकी उपभोक्ताहरूले सन् २०१६–१७ को अनलाइन शपिङ तथ्याङ्कको अध्ययन गरेर यस्तो बताएका हुन् । स्मार्टफोनबाट शपिङ गर्दा हुने हिच्किचाहटको प्रकृति र कारण दुवै देशमा समान रहेको अध्ययनमा पाइयो । यसै क्रममा, उपभोक्ताहरूले मोबाइल एप्लिकेशनलाई सामान खरीद गर्ने माध्यमभन्दा पनि बढी सामानबारे अध्ययन र अनुसन्धान गर्न प्रयोग गर्ने गरेको पाइएको छ । रासस/पीटीआई