ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय विवरणमा थप सूचकाङ्कको व्यवस्था : कार्यान्वयनका लागि जुटे बीमा कम्पनी

Jan 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । त्रैमासिक तथा वार्षिक रूपमा प्रस्तुत गरिने वित्तीय विवरणमा बीमा समितिले थप गरेको सूचकाङ्कलाई आधार मानेर जीवन र निर्जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासको विवरण व्यवस्थित गर्दै छन् । जोखीममा आधारित अनुगमनका लागि बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १९ र जीवनबीमा कम्पनीलाई २० ओटा सूचकाङ्क थप गरी लागू गर्न २ साताअघि पत्र पठाएपछि कम्पनीहरू कार्यान्वयनमा जुटेका हुन् । थप गरिएका सूचकाङ्कहरूमा कम्पनीको पूँजी पर्याप्तता, बीमाशुल्क अनुपात, पुनर्बीमा, बीमाङ्कीय खर्च विश्लेषण तथा लगानी, गुणस्तर र कर्जा नियन्त्रण, व्यवसायको परिदृश्य, प्रतिफललगायत छन् । यसैगरी खुद बीमाशुल्क वृद्धि, लगानीमा वृद्धि, पूँजी र खुद बीमाशुल्कको सम्बन्ध, खुद बीमाशुल्क र पूँजीको अनुपात, सम्पत्ति र कर्जाको नियन्त्रणमा सूचीकृत र सूचीकृत नभएका शेयरमा भएको लगानीको अनुपात, पुनर्बीमालाई भुक्तानी गर्नुपर्ने तथा यसबाट आएको अनुपातलगायत पनि अब वित्तीय विवरणमा खुलाउनु पर्नेछ । कम्पनीको पारदर्शिता तथा अवस्था पत्ता लगाउन बीमा समितिले ढिलै भए पनि बीमा कम्पनीहरूको वित्तीय विवरणसम्बन्धी निर्देशन २०६६ मा सूचकाङ्कहरूको थप व्यवस्था गरी लागू गर्नुलाई हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील वज्राचार्यले स्वागत गरे । उनका अनुसार हाल थप गरिएका सूचकाङ्क कम्पनीले पहिले पनि आन्तरिक प्रयोजनका लागि निकाल्ने र विश्लेषण गर्ने गरिएको थियो । ‘तर, अब समितिले अनिवार्य व्यवस्था गरेकाले उक्त तथ्याङ्कबाट कम्पनीको विश्लेषण गर्न र कम्पनीको वित्तीय जोखीमको अवस्थाबारे थाहा पाउन सजिलो हुनेछ,’ उनले भने । उनले समितिले तोकेअनुसारको प्रावधानमा रहेर तथ्याङ्क तयार पारी बुझाइने जानकारी पनि दिए । यो व्यवस्थाले बीमा कम्पनीको वित्तीय विवरणमा एकरूपता आउने उनको भनाइ छ । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ भरत बस्नेतले समितिले थप गरेका सूचकाङ्कअनुसार नै कम्पनीले काम गर्न लागेको जानकारी दिए । उनले भने, ‘अबको विवरणमा बीमालेख व्यतीतको अनुपात, बीमालेख नवीकरणकोे अनुपात, शेयरमा भएको लगानी, अभिकर्तालाई दिइएको कर्जा, खुद जोखीम धारण अनुपात, कमिशनको अनुपात, बीमालेख जारी खर्च अनुपातलगायत समेटेर वित्तीय विवरण तयार गरी समितिमा पेश गरिनेछ । यो व्यवस्थाले कम्पनीको व्यवस्थापनबारे समेत जानकारी दिने भएकाले यसबाट सकारात्मक प्रभाव पर्ने उनले विश्वास व्यक्त गरे । नेपालमा हालसम्म १८ जीवनबीमा, १७ निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी रहेका छन् । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार ती सबैको जोखीम वहन क्षमताको अध्ययनपछि प्राइस वाटरहाउस कुपर्स (पीडब्ल्यूसी)ले निर्धारण गरेको उक्त अनुपातलाई अनिवार्य रूपमा त्रैमासिक तथा वार्षिक वित्तीय विवरणमा समेट्न कम्पनीहरूलाई निर्देशन दिइएको थियो । जीवनबीमा कम्पनीको अनुसूची ३० र निर्जीवन बीमा कम्पनीको अनुसूची २७ मा थप गरिएका सूचकाङ्क राखिएका छन् । समितिले आगामी चैतको अन्त्यतिर तथा वैशाखको दोस्रो सातासम्म कार्यालयमा नै बसेर सफ्टवेयरको माध्यमबाट कम्पनीहरूको अनुगमन गर्ने पौडेलले जानकारी दिए । यो व्यवस्थाअनुसार कम्पनीहरूले पूँजी पर्याप्तता तथा सोलभेन्सीअन्तर्गत पूँजी र खुद जम्मा सम्पत्तिको अनुपात, पूँजी र टेक्निकल रिजर्भको अनुपात, सोल्भेन्सी अनुपात विवरण बुझाउनु पर्नेछ । साथै, कुल बीमाशुल्क, प्रथम बीमाशुल्क, लगानी र बीमाकोषमा वृद्धिको प्रतिशतबारे पनि समितिमा विवरण पेश गर्नुपर्ने छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)