ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी बबई डाइभर्सन आयोजनाः १ हजार ३ सय ३५ मिटर सुरुङ खनियो

Jan 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
पुस २७, वीरेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ्ग खन्ने कामले तिव्रता पाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले हाल करीब १ हजार ३ सय ३५ मिटर सुरुङ खनिसकेको जानकारी दिए । कुल १२ किलोमिटर लामो सुरुङ खन्नका लागि २ वर्षको समयअवधि राखिएको छ ।  ‘अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने छ’ उनले भने, ‘प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउँछौँ ।’ नेपालमै पहिलोपटक टिबिएम पहाड फोर्न प्रयोग हुने चालकरहितको अत्याधुनिक प्रविधिको मेसिनबाट सुरुङ्ग खन्ने काम भइरहेको उनले बताए । भेरी र बबई नदीबीचको चुरे पर्वतमा १२ किमी लामो खन्न खनेर टनेल बोरिङ्ग मेशीनबाट भेरी नदीको पानी बबईमा खसालिने छ । सिंचाई विभाग र कोभेकबीच २०७१ माघमा निर्माण शुरु गरी २०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार आधाभन्दा धेरै समय बितिसकेको छ । सुर्खेतको भेरी–गंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्डको चिप्ले भन्ने स्थानमा १५ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रति सेकेण्ड ४० घनमिटर पानीलाई बबईमा लगिने छ । बबईमा फर्काइएको पानीबाट ४८ मेगावाट विद्युत तथा बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । बाह्रै महिना सिंचाई उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ । आयोजनाको कुल लागत रू. १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै रू. १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने यो आयोजना अन्तर–जलाधार जलस्थानान्तरण परियोजनामध्ये नेपालकै पहिलो आयोजना हो । हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)