ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ वर्षको उपहार

Jan 12, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
इस्वी संवत्को नयाँ वर्ष २०१८ को थुप्रै शुभकामना आदानप्रदान भए । सामाजिक सञ्जाल र मोबाइलमा नयाँ वर्षका राम्राराम्रा अक्षरले लेखेका शुभकामना, फोटा, गीत र अझ भिडियोसमेतले भरिए । यस्ता थुप्रै शुभकामनाको झटारो तपाईंले पनि सित्तैंमा पाउनु नै भयो होला । तपाईंले पनि कत्तिलाई शुभकामनाले जवाफ फर्काउनु नै भयो होला । तर, नयाँ वर्षमा नयाँ चैं के हुने भए त भनेर नयाँ वर्षको शुरुआतसँगै दिमाग पनि घुमेको घुम्यै पो छ त । के नयाँ वर्षमा कुकुरहरु भुक्न बन्द गर्लान् ? बुढाबुढीहरु खोक्न छोड्लान् ? नेताहरु भाषण ठोक्न छाड्लान् ? के सरकारी कार्यालयमा घूसको सिलसिला बन्द होला ? सरकारी कर्मचारी हाजिर मात्र गरेर जागिर खाने गर्न छाड्लान् ? नयाँ बन्ने सांसद, मन्त्रीले सुतेर खाने, लुटेर खाने काम बन्द गर्लान् नयाँ वर्षदेखि ? के कालाबजारियाले उपभोक्तामाथि दया जागेर महँगीको छुरी चलाउन बन्द गर्लान् ? के नयाँ वर्षमा महँगी बढ्ने क्रम रोकिएला ? के वैदेशिक रोजगारीमा जाने नेपाली युवाको लाइन छोटो हुँदै जाला ? त्यसो भयो भने रेमिट्यान्स घटेर हुने विदेशी मुद्राको सङ्कटचाहिँ कसरी समाधान होला ? के नयाँ वर्षमा मानिसहरु अनुशासित बन्दै जालान् ? आफ्नो घरको फोहोर घरबाहिर सडकमा फ्याँक्ने बानी सुधार्लान् ? के सामाजिक सञ्जालमा पक्ष विपक्षमा लेखिने घृणा, इष्र्या, द्वेष, उद्वेग, गालीगलौजको भाषा अलि सभ्य र सुसंस्कृत बन्दै जाला ? के नयाँ वर्षमा अपराधको शृङ्खला कम हुँदै जाला ? नयाँ वर्षमा भ्रष्टाचारको ग्राफ छोटो बन्दै जाला ? कहालीलाग्दो रुपमा एक मुलुकसँग रहेको परिनिर्भरता नयाँ वर्षबाट घट्दै जाला ? आयात घटेर निर्यात बढ्दै जाला ? नयाँ वर्षबाट पैसाको प्रलोभन दिएर धर्म परिवर्तन गराउने क्रियाकलाप कम हुँदै जाला ? नयाँ वर्षले कृषिमा औद्योगिकीकरण गर्नुपर्छ भन्ने सुद्धि, बुद्धि फर्केला नीति निर्माता र यसका लागूकर्ताहरुमा ? नयाँ वर्षबाट नेपाली बैङ्कहरुले एसएमएसबाट ब्याज बढेको सूचना दिएर आफ्नो नाफा मात्र सुरक्षित गर्ने बैङ्किङको साटो नेपाली अर्थतन्त्र उकास्ने खालको साँच्चिकैको बैङ्किङ सेवा शुरु गर्लान् ? नयाँ वर्षबाट नेपाली उपभोक्ता मिसावट र अभावको शिकार हुनु नपर्ला त ? नयाँ वर्षबाट पतिपत्नीहरु झगडा गर्न बन्द गर्लान् ? यी यस्ता थुप्रै प्रश्नको बाढी तपाईंको मनमा पनि पक्कै आएको होला कि नयाँ वर्षले कुन चैं नयाँ फूल फुलाउन शुरु गर्छ भनेर । अरु कुनै नयाँ फूल फुलाएनछ भने पनि एउटा नयाँ काम यो नयाँ वर्षले पक्कै गर्न शुरु गरेको छ । नेपालीहरु अब विश्व नागरिक बन्दै गइरहेका छन् । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा मनाउने क्रममा नेपाली स्वतः नेपाली नागरिकबाट विश्व नागरिक बन्ने सौभाग्य पाउँदै गएका हुन् । यो कम उपलब्धिको कुरा होइन । अब हामीलाई पूर्ण विश्व नागरिक हुनबाट कसैले रोक्न सक्तैन । तर, यहाँनेर बिर्सनै नहुने तथ्य के छ भने नेपालीलाई विश्व नागरिक योग्य बनाउने सुकाम भने अरु कसैले गरेको नभै हाम्रै महान् नेपाली नेताहरुले नै हो । नेताले जनतालाई केही पनि गरेन भनेर आम मानिस गुनासो गरिरहन्छन् । तर, नेपालीलाई विश्व नागरिक बनाउने यो देन त आखिर नेपाली नेताहरुकै हो नि । यो योगदानलाई भुल्न पाइँदैन । नयाँ वर्षमा नेपाली नेताले जनतालाई दिने यो भन्दा ठूलो उपहार अरु के नै हुन सक्ला र ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)