ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बदलिँदो नेपाल

Jan 12, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
नेपाल विश्वासै नलाग्ने गरी बदलिइसकेछ । विगतमा अदालतका विषयमा चूँसम्म बोल्न नसक्नेहरु वा बोल्न नरुचाउनेहरु आज खुलेआम प्रधान श्रीमान्माथि औंला उठाउने भएछन् । यसका लागि ती तमाम योग्य न्यायमूर्तिहरुलाई जसले मानिसलाई शूरो बनाउन मद्दत गरे वा गरिरहेछन्, धन्यवाद भन्नैपर्छ । त्यसो त न्यायालयलाई उत्तरआधुनिक बनाउनमा कतिपय महान् नेपाली नेताहरु, रात चौगुना कमाउन सक्ने बनेका नवधनाढ्यहरु र जग्गा व्यवसायीहरुको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको तथ्य बिर्सन मिल्दैन । भलै न्यायालयमा समेत आएको यो बदलाहट न्यायालय र न्यायमूर्तिको एक्लो प्रयासले मात्रै भएको भने होइन । समाजका हरेक क्षेत्रमा आएको परिवर्तनको प्रभाव अदालतभित्र पनि परेको हो । परिवर्तन नआओस् पनि किन ? विश्वका महँगा महँगा कार नेपालमा चल्छन् । के सरकारी हाकिम, के व्यवसायी वा सर्वसाधारण लाखौं नेपालीका छोराछोरी अमेरिका नभए अष्ट्रेलिया वा बेलायतमा डलर तिरेर पढ्न जान सक्ने भएका छन् । नसक्नेहरु पनि कुनै न कुनै देश छिरिहाल्छन्, भिसा पाए पनि नपाए पनि । त्यसरी विदेश बस्ने नेपालीको संख्या नै ५५ लाख पुगिसकेको छ । काम गर्ने भनेर त गए गए, पढ्न भनेर गएकाहरुले समेत विदेशमा जसोतसो मिलाएर काम गरेर स्वदेशमा पैसा पठाएर गरीबका लागि भनेर लडिरहेका गरीब नेताहरुलाई पनि धनी बनाएका छन् । आफू काम गर्नेे देशलाई त यसै धनी बन्न सघाइरहेकै छन् । तालीम लिन मात्रका लागि हजारौं सरकारी कर्मचारी वर्षेनि अर्बौं रुपैयाँ खर्च गरेर विदेश जान सक्ने भएका छन् । उनीहरुले त्यसरी बेलाबेलामा तालीम नलिइदिने हो भने कसरी गर्न सक्थे उनीहरुले अफिसको कार्य सम्पादन ? अनि कसरी आउँथ्यो देशमा अहिले आइरहेको समृृद्धि ? अनि कसरी बन्थ्यो नेपालीको यत्रो हैसियत विश्व मञ्चमा ? नेपालमा कुनै कुनाकानी ठाउँको समेत जग्गाको यति भाउ यसरी बढेर गएको छ कि एक कठ्ठा जमीन हुनेले पनि विक्री गर्न सके जीवनभरि काम नगरी खान सक्ने भएको छ । जग्गा बेचेरै मोटर र मोटरसाइकल चढ्नेको सङ्ख्या त देशमा लाखौं पुगिसक्यो । जन्मदिनमा ‘बर्थ डे’ मनाउन केक काट्ने र विदेशबाट झिकाइएको करीब १० अर्बबराबरको ह्विस्की, वाइन र स्याम्पेनको खोलो बगाउने त अब सामान्य नेपाली संस्कृति बनिसक्यो । मासुदेखि मसला, फलफूलदेखि पफ्र्यूम नै अर्बौंको आयात गरेर उपभोग गर्ने हैसियत नेपालीले बनाइसकेका छन् । औषधि र उपचार गर्न विदेशी अस्पताल धाउने र छुट्टी मनाउन थाइल्याण्ड, यूरोप, अमेरिकासम्म पुग्न भ्याउने पनि धेरै नेपाली भइसकेका छन् । यसरी हजारौं नेपालीका लागि विदेश पानी पँधेरोसरह भइसकेको छ । अझ जुवा खेल्नकै लागि मकाउ, मालदिभ्स वा हङकङ जानेहरु पनि हजारौं भइसकेका छन् । स्वदेशमै भएका दर्जनौं क्यासिनोहरु विदेशीलाई भनिए पनि त्यसभित्र जुवा खेल्ने धेरै नेपालीहरु नै हुने गरेको तथ्यको बारेमा त भनिरहनै परेन । विदेशबाट झिकाइएका महँगा मोबाइलदेखि घरका कार्पेट, टायल, हीरा, रत्न आभूषणले अहिले हजारौं नेपाली गृहिणीहरुलाई सुख प्रदान गरिरहेकै छ । सुन मात्रै दिनमै झण्डै १ सय केजी देशमा भित्रिइरहेको अनौपचारिक तथ्याङ्क छ । विदेश घुम्न जाने मात्र होइन, विदेशमा उद्योग व्यापार गर्न सक्ने पनि थुप्रै नेपालीले हैसियत बनाइसकेका छन् । हुँदाहुँदा विदेशमा उद्योग, व्यापारै नगरेर पनि त्यसै डलर कमाएर नेपाल ल्याउने पनि केही भाग्यमानी नेपाली बनिसकेछन् । डलर खाता खोल्ने नेपालीको सङ्ख्या नै हजारौं पुगिसकेछ देशमा । स्वदेशी मात्र होइन, विदेशी बैंकमा समेत अर्बौं रकम ‘फिक्स्ड डिपोजिट’ गर्न सक्ने नेपाली पनि थुप्रै भइसकेकाले त यत्तिका बैङ्क चल्न सकेका छन् त देशमा । एडीबी, विश्व बैङ्कजस्ता संस्थाहरुले नेपाललाई गरीब भने पनि नेपालमा उद्योग, व्यवसाय चलाएर अर्बौं खर्बौं कमाएर आफ्नो आम्दानी कानूनी रुपमै विदेशीहरुले विदेश लगिरहेकै छन् । अस्ति भर्खर सम्मानित सर्वोच्च अदालतले नै एउटा कम्पनीको अड्किएको अर्बौं रुपैयाँ एकैचोटि लाने स्वीकृति दिइसकेको उदाहरण हाम्रो अगाडि छँदै छ । गैरकानूनी रुपमा लगेको हिसाब त कसले पो राख्या छ र ? हो नेपाल बदलिइसकेको छ । समयअनुसार तपाईं पनि बदलिनुहुन्छ वा डाइनोसर हुन चाहनुहुन्छ, त्यो तपाईंको मर्जी ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)