विश्वको सबैभन्दा ठूलो रिटेल चेन वालमार्टले आफ्ना भारतीय कर्मचारीलाई इमानदार र सदाचारी बनाउने एक अभियान शुरु गर्न लागेको छ । भारतीय खुद्रा बजारमा विदेशी लगानी खुला भएपछि त्यहाँ आफ्ना रिटेल चेन खोल्ने तयारी गरिरहेको अमेरिकी कम्पनी वालमार्टले भारतीय एकाइका कर्मचारीलाई इमानदारीको पाठ पढाउने एक पाठ्यक्रम नै तयार गरेको थाहा पाइएको छ । कर्मचारीलाई सदाचार, इमानदारी र ग्राहकसँग राम्रो व्यवहार गर्नका लागि पे्ररित गर्न कम्पनीले विज्ञहरुको एक टोली नै गठन गरेको छ । उक्त टोलीले कर्मचारीलाई कम्पनीका भ्रष्टाचारविरोधी नीतिहरुबारे तालीम दिने बताइएको छ ।
मेक्सिकोस्थित एकाइमा २ महीनाअघि व्यापक भ्रष्टाचार भएको खुलासा भएपछि वालमार्टले यस्तो कदम उठाएको हो । कम्पनीले मेक्सिको एकाइमा कार्यरत कर्मचारीको बदमासीबारे अध्ययन गर्न गठन गरेको एक समितिले भ्रष्टाचारविरोधी नीतिहरु ल्याउनुपर्ने सुझाव दिएको थियो । वालमार्ट इण्डियाका एक वरिष्ठ अधिकारीले दिएको जानकारीअनुसार कर्मचारीलाई इमानदार बनाउने पाठ पढाउने कार्यक्रमको जिम्मा विश्वव्यापी लेखापरीक्षण संस्था केपीएमजीलाई दिइएको छ ।
नाम नखुलाउने शर्तमा ती अधिकारीले केपीएमजीलाई यो कार्यक्रममा भ्रष्टाचारविरोधी अभियान चलाइरहेका भारतीय वकीलहरुको एक समूहले मद्दत गर्नेछ । वालमार्टको मुख्यालयबाट भारतीय एकाइलाई पठाइएको एक ई–मेलमा यो तालीम कार्यक्रम हेड अफिस एशोसिएट, स्टोर प्रबन्धक, जिल्ला प्रबन्धकहरुलाई दिइनेछ, जसको सरकारी अधिकारीहरुसँग कामको सिलसिलामा प्रत्यक्ष सम्बन्ध रहन्छ ।
जानकारहरुका अनुसार यो कार्यक्रम लागू गर्न वालमार्टलाई अमेरिकाको कर्पोरेट भ्रष्टाचारविरोधी कानूनले दबाब दिइरहेको छ । अमेरिकाको ‘फरेन करप्ट प्रेक्टिसेज एक्ट’ (एसीपीए) कानूनले देशमा अथवा अन्य विदेशमा लगानी गर्ने कम्पनीहरुलाई आफ्ना व्यापार बढाउन कसैलाई पनि घुस अथवा अनुचित आर्थिक लाभ दिन कडा प्रतिबन्ध लगाउने गर्दछ । यो कानूनमा कम्पनीहरुले गर्ने सबै प्रकारका लेनदेनको रेकर्ड अनिवार्य रुपले राख्नैपर्ने बाध्यात्मक प्रावधान छ ।