ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दी महोत्सवः नदीमा जलयात्रा, पहाडमा घोडा सफारी

Jan 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
पुस ३०, म्याग्दी । म्याग्दी महोत्सवको अवलोकनमा आउने दर्शकले यसपटक पहिलोपटक घोडा सफारीको मजा लिइरहेका छन् । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा महोत्सवस्थलबाट करीब आधा घण्टाको दुरीमा रहेको पर्यटकीयस्थल लभ्लीहिलसम्म घोडा सफारीको व्यवस्था गरिएको छ । पछिल्लो समय पूर्वाधार निर्माणसँगै चहलपहल हुने लभ्लीहिलमा पुग्न आवश्यकता अनुसार घोडाको व्यवस्था मिलाइएको घोडा सफारीका संयोजक कृष्ण न्यौपानेले बताए । ‘घोडचढी पर्यटकलाई आर्कषित गर्न सेवा हो, मैले यहाँको भविष्य राम्रो देखेको छु’, न्यौपानेले भने । घोडा सफारीका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लिइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सव अवधिभर सञ्चालन गरिने घोडा सफारीलाई त्यसपछि पनि निरन्तरता दिइने न्यौपानेले बताए । घोडाबाटै बेनीबजारको दृष्य समेत अवलोकन गर्न सकिने भएकाले पनि महोत्सवको अवलोकनकर्तालाई सहज हुने उनको भनाइ छ । महोत्सवको पहिलो र दोस्रो दिन घोडा दिनभरी सञ्चालन गरिएको थियो । बेनीबाट लभ्लीहिलसम्म पुगेर करीब १५ मिनेट लभ्लीहिलमा घुम्ने र फर्किने बेलामा लभ्लीहिल हुदै मङ्गलाघाटबाट फर्कने व्यवस्था गरिएको छ । पछिल्लो समय घोडा सफारीले पर्यटकको ध्यान तान्न सफल भएकाले पनि महोत्सवको आर्कषणको रुपमा हेरिएको छ । महोत्सवमा घोडा पहाडमा उक्लिदै गर्दा सिउसिउ जाडोमा कालिगण्डकी नदीमा जलयात्राको मज्जा लिने सुविधा पनि छ । जलयात्राका लागि प्रख्यात कालिगण्डकीमा हरेक महोत्सवमा जलयात्रा गर्न साना बालबालिकादेखि वृद्धवृद्धासम्मको आर्कषण हुन्छ । प्रतिव्यक्ति ५ रुपैयाँ तय गरिएको जलयात्रा धार्मिकस्थल जलेश्वरबाट थकाली सेवा समाजको घरमा रोकिने वरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले बताए । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीको पर्वत, बागलुङ खण्डमा व्यावसायिक रुपमा सञ्चालन गरिने गरेको भएपनि म्याग्दी र बेनी आसपासबाट बग्ने कालिगण्डकीमा फाटफुट विदेशी पर्यटकले र्‍याफ्टिङ्ग गर्ने गरेका थिए । लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका साथै म्याग्दी नदीमा समेत जलयात्राको सम्भावना रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)