ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कमाइहालौं दाम र नाम

Dec 22, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
नेपालमा अहिले नाम कमाउन कि वाम हुनुपर्छ कि दाम । नपत्याए चुनाव जितेका नेतासँग लाजिम्पाट र लोकन्थली धाएरै फोटो खिचाउनेहरुको लाम र तिनका नाम हेर्नुहोस् । हिजो धारे हात लाउनेहरु आज चुनावको नतीजा आउनासाथ नेतासँग सेल्फी खिचाउन हानाथाप प्रतियोगितामा छन् । त्यसो त नेपालमा इज्जत कि त डीबी मनाङेको छ कि डीभी परेर पाताल लोक अर्थात् अमेरिका पुगेकाहरुको छ । भलै ट्रम्पले डीभी चिठ्ठाको भविष्यबारे अलि भिलेन टाइपको रोल खेलेर डीभी नै बन्द गर्लान् जस्तो छ र पो । पहिले पढेलेखेकाहरु बरु दारी पालेर, कविता कोरेरै भए पनि नेपालमै बस्थे, नपढेकाहरु दाम कमाउन लाहुर जाने गर्थे । अहिले त पढेकाहरु समेत बाउआमा जिउँदै भए पनि दारी र जुँगासमेत सफाचट पारेर यूरोप, अमेरिका भाग्छन् । नपढेकाहरु खाडीमा गाडी चलाउने वा मलेशियामा भाँडा माझ्नेदेखि संसारैभरि सबैभन्दा तल्लोस्तरको रोजगारीमै आफ्नो जवानी सिध्याउँछन् । तर, दाम भने अलिअलि कमाउँछन् । विदेश गएसी विदेशी पैसा मात्र होइन, बच्चैदेखिको आनीबानी छुटाएर विदेशी संस्कृति र विदेशी नानी पनि सँगै स्वदेश भिœयाउँछन् । त्यसैले अचेल बिहेभन्दा पहिले बच्चा, अनि सँगै बसाइ । सबै तारतम्य मिलेमा त्यसपछि मात्र बिहे । यो सबै परिवर्तन जीवनमा पैसाकै पछि लाग्दा आउने रहेछ । स्वदेशमा कमाइ गर्ने माहौल नदेखेपछि देशभक्ति हुँदाहुँदै पनि मान्छे मुग्लान पस्ने रहेछ । नपत्याए विदेशमा बस्ने नेपालीका फेसबुक स्टेटस् हेर्नुस् । कति खतरा देशभक्तिका कुरा हुन्छन् त्यहाँ । मुख्य कुरा, देशमा त सबैलाई कुर्सी प्यारो । काङ्गलाई कुर्सी छोड्न गाह्रो । वामलाई ‘बिहेको जग्गेमै सुहागरात मनाउने व्यवस्था हुनुप¥यो’ भनेजसरी चुनाव जितेको प्रमाणपत्र पाउनासाथ कुर्सीमा बस्नै हतारो । त्यसले सबैलाई पा¥यो गाह्रो । चुनाव जितेर ठूलो बनेर आएको दलको नेताका छाती पनि देखियो, सत्तामा बस्नेको काम गर्ने भाँती पनि देखियो । अनि कसरी मिल्छ कुर्सीको कुरो ? हुन पनि किन नहोस् कुर्सी मोह ? किनकि कुर्सीमा पुग्नासाथ सर्वगुण सम्पन्नताको प्रमाणपत्र स्वतः पाइने हुँदो रहेछ । त्यसमाथि देशको ढुकुटीबाटै सधैं ह्वीस्की र सुकुटी साथै फुर्तिसँग सुर्ती माड्दै सबैलाई अर्डर लाउन पाउने भएसी को बस्न चाहँदैन कुर्सीमा छिट्टै ? त्यसपछि त के र । यता बियरको बिर्को खुल्दै जान्छ, उता विवेकको बिर्को बन्द हुँदै जान्छ । अनि कालोपत्र सम्पन्न गरेको ३ हप्तामा सडक भ्वाङ परे नि पैसा पाइने भएसी को बन्दैन ठेकेदार ? को बन्दैन मन्त्रीका मतियार ? छ्याकन पाउने भएपछि कुन सचिवले गर्दैन ठेकेदारको कदर र फाइल सधैं सदर ? अर्थात् बाटोको पैसा टाठाबाठाका खल्ती गरम । फाइलमा देशको विकासै विकास । छैन त झकास ? सचेत हुनुपर्ने पत्रकार, निजामती कर्मचारी यूनियनका हर्ताकर्ताहरु पार्टीका पुच्छर भएपछि सरकार उनका लागि सधैं दाइना हुने नै भयो । तर, योग्यता अनुभव भएका तर चाप्लुसी नजान्नेहरु कुना पसी रुने नै भए । त्यसपछि जनताका हितमा काम कसले गर्ने ?
चुनाव जितेर ठूलो बनेर आएको दलको नेताका छाती पनि देखियो, सत्तामा बस्नेको काम गर्ने भाँती पनि देखियो । काङ्गलाई कुर्सी छोड्न गाह्रो । वामलाई कुर्सीमा बस्नै हतारो । त्यसले सबैलाई पार्‍यो गाह्रो ।
यता लूट, चोरी, डकैती, हत्या गरेको प्रमाणपत्र भएसी सीधै हाकिम, सांसद, मन्त्री भएर आउन पाइने । यो सबै आफ्नै आाँखा अगाडि भएसी कर्मचारीले पनि कुर्सीकै फाइदा किन नउठाउने ? हुन पनि दलले सरकारमा पुग्नेबित्तिकै नयाँ आईएनजीओ खोल्न दिने । आईएनजीओले सरकारलाई भिक्षा दिने र दीक्षा पनि दिने । त्यसको बदलामा सरकारले पनि नून खाको गुन लाउनै पर्‍यो । अनि टेण्डरदेखि हरेक कुरामा उनकै आफ्नालाई फाइदा हुनेगरी नीतिहरु निर्माण गरिदिनै पर्‍यो । सरकारलाई पनि अरु कुराको के सुर्ता ? भत्ता बाँड्न सके आफ्नो सत्ता बलियो भइहाल्छ । अझ छिमेकीका भरमा विकासको सपना बाँडे पुगिहाल्छ । भाषणमा जस्तो शासन त संसारमा कसले पो गर्‍या छ र ? यसै पनि सबैथोक आयात गरेर पुगेकै छ । नूनदेखि सुन, सियोदेखि जहाजसम्म । नाममा कृषिप्रधान देश छँदै छ । तन ढाक्ने कपडादेखि पेट पूजाका सामग्री धान, चामल, तेल, घिउदेखि बीउ विदेशी, गाई, कुखुराको जीउसम्म विदेशी । ह्वीस्कीदेखि विस्किटसम्म सबैसबै विदेशबाट झिकाएर पनि चलेकै छ त । अनि किन चाहियो स्वदेशी कुरा ? चाहिने कुरा हो हातमा दाम । दम हुनेले दाम पनि कमाइहाल्छन् । त्यसैले पाठकलाई यो पङ्क्तिकारको सुझाव छ कि तपाईं पनि छोटो समयमा दाम कमाउने हो भने अहिले चुनाव जितेका कुनै पनि नेताका नयाँ दौराका फेर समाएर कमाऊ धन्दामा लागिहाल्नोस् । मेडिकल कलेज खोल्नोस्, ढुङ्गा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्नोस्, ऋण तथा बचत सहकारी शुरु गर्नोस्, सडक बनाउने ठेक्का पड्काउनोस्, नेताका सालासाली छड्काउनोस्, सत्ताको नजिक बसेर काम मिलाइदिएर कमिशन खानोस्, क्यासिनो जानोस् । नभए यसो विदेश भ्रमणको तारतम्य मिलाउनोस् । जेजे सकिन्छ आफ्ना नेताका सान्निध्यमा यै २ वर्षभित्र गरी सिध्याउनोस् र पकेटमा ‘मनी’ साइडमा ‘हनी’ जुगाड गर्नुहोस् । यत्ति गर्न सके त्यसपछि समाजमा तपाईंको चुरीफुरीको गा्रफ ह्वात्तै माथि पुगिहाल्छ । अनि त कसले सक्छ छुन तपाईंलाई ? यत्तिकै लागि तपाईंले पनि चुनावमा भोट हालेको होइन र ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)