ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रसारण लाइनमा ढिलाइ : सुपर सिक्स आयोजना प्रभावित

Jan 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले छनोट गरेका ६ आयोजना (सुपर सिक्स) प्रसारण लाइनका कारण प्रभावित भएका छन् । आयोजनाको विद्युत् प्रवाहका लागि आवश्यक प्रसारण लाइनको निर्माणमा ढिलाइ हुँदा आयोजनाहरूको विद्युत् खेर जाने भएको छ । प्रसारण लाइनकै बेटुङ्गोका कारण कतिपय आयोजनाले आफ्नो कामको गति पनि सुस्त गरिरहेका छन् । देशको ऊर्जासङ्कट हल गर्ने उद्देश्यले द्रुत गतिमा निर्माण गर्ने गरी उक्त आयोजनाहरू अघि बढाइएका हुन् । सोलु करिडोरअन्तर्गतको माथिल्लो सोलु जलविद्युत् आयोजनाको निर्माण ७० प्रतिशत र तल्लो सोलुको काम ४० प्रतिशत सकिएको छ । तर, सोही गतिमा सोलु करिडोरको १ सय ३२ केभी प्रसारण लाइनको काम भने अघि बढेको छैन । ३ सयओटा टावरसहितको सोलुको तिङ्ला–सिरहाको मिर्चैया (९० किमि)को उक्त प्रसारण लाइन चारओटा जिल्लामा पर्छ । यसमध्ये सिरहा र उदयपुरमा जग्गाको समस्या नरहे पनि सोलुखुम्बु र ओखलढुङ्गामा समस्या भएको स्रोतले बताएको छ । सुपर सिक्सका दुई आयोजना रहेको २ सय २० केभीको कोशी करिडोरमा पनि अपेक्षाकृत गतिमा प्रसारण लाइनको काम भएको छैन । सुनसरीको इनरुवा–सङ्खुवासभाको तुम्लिङटार (१०५ किमी) र तेह्रथुमको वसन्तपुर–ताप्लेजुङ (४५ किमी)मा पनि प्रसारण लाइनको काम सुस्त गतिमा भइरहेको छ । इनरुवा–तुम्लिङ्टार खण्डको जग्गा अधिग्रहणको काम सकेर टावर फाउण्डेशनको काम थालिएको प्रसारण आयोजनाले बताएको छ ।

आयोजनामा करीब ४ सय टावर र ४ सबस्टेशन रहने छन् । यसमध्ये सबस्टेशनको जग्गाको भने व्यवस्था भइसकेको छ । प्रसारण लाइन निर्माणका लागि आवश्यक वनको जग्गाको व्यवस्थाका लागि यसै साता फाइल वन मन्त्रालय पठाइने आयोजनाका लेखा अधिकृत हरि आचार्यले बताए । ‘सबै काम सेड्युअलमा भए ५ वर्षभित्र आयोजनाको काम सम्पन्न हुन्छ,’ उनले भने, ‘विभिन्न खालका अवरोध र समयमा नीतिगत निर्णय नहुनु सबैभन्दा ठूला चुनौती हो ।’ आयोजना छिटो बनाउन सुपर सिक्सलगायत निजीक्षेत्रका जलविद्युत् आयोजनाहरूले दबाब दिइरहेको आचार्य बताउँछन् । यसै वर्षभित्र बनिसक्नुपर्ने सिङ्गटी–लामोसाँघु (४० किमी) १ सय ३२ केभी प्रसारण लाइनको निर्माण पनि अधुरै छ । यही गतिमा काम अघि बढ्ने हो भने अबको १ वर्षमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजन ढुङ्गेल बताउँछन् । कुल १ सय २४ मध्ये ३३ ओटा टावरको मात्र फाउण्डेशन सकिएको छ । यस महीनाभित्र थप १० ओटाको फाउण्डेशन सकी फागुनबाट टावर जडान थालिने आयोजना प्रमुख ढुङ्गेलले बताए । ‘यस करिडोरमा निर्माण भइरहेका आयोजनामध्ये सबैभन्दा छिटो अबको डेढ वर्षमा सकिँदै छ,’ उनले भने, ‘यदि हामी यही गति अघि बढ्न सक्यौं भने उत्पादित विद्युत् खेर जाने छैन ।’ उक्त प्रसारण लाइन दोलखा र सिन्धुपाल्चोक जिल्लामा पर्छ । सिन्धुपाल्चोकमा जग्गासम्बन्धी समस्या भएकाले काममा केही ढिलाइ भएको थियो । त्यसैगरी ठेकेदारको ढिलासुस्तीले पनि काम सकिन समय लागेको हो । सुपर सिक्सका आयोजना निर्मातासँगको सम्झौतामा यदि आयोजना विद्युत् उत्पादनमा जाँदासम्म पनि प्रसारण लाइनको काम नसकिए प्राधिकरणले ४५ प्रतिशत जरीवाना तिर्नुपर्ने प्रावधान रहेको छ । निर्धारित समयभित्र आयोजना सम्पन्न नगरे कम्पनीले प्राधिकरणलाई २८ प्रतिशत जरीवाना तिर्नु पर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)