ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन् २०१६ को तुलनामा २०१७ मा २ लाख बढी पर्यटक : भारत र चीनबाट बढी

Jan 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूर्णरूपमा सफल नभए पनि सन् २०१७ करीब साढे ९ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २ लाख ११ हजार ६ सय ६८ ले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका थिए । यो सङ्ख्या सरकारी लक्ष्यभन्दा ८४ हजार कम हो । सन् २०१६ मा हवाईमार्ग र स्थलमार्गबाट ७ लाख २८ हजार ५ सय ५० ले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । यो लक्ष्य ६ वर्षपछि पूरा हुन सकेको छैन । यद्यपि अहिलेको अवस्थामा वार्षिक १० लाखको हाराहारीमा पर्यटक आगमन हुनु सकारात्मक रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको धारणा छ । जोशीले नेपालको पछिल्लो राजनीतिक अवस्था, भूकम्प र नाकाबन्दीले नकारात्मक प्रभाव पारेको अवस्थामा यस्तो पर्यटक आगमनलाई राम्रो सङ्केतका रूपमा लिनुपर्ने बताए ।

पूर्वाधारको अभाव र राजनीतिक अस्थिरताजस्ता विभिन्न समस्या भए पनि पर्यटकको आगमन बढ्नु सकारात्मक हो तर पूर्वाधारको अभावले यो सङ्ख्या बढाउन नसकिएको होटल सङ्घ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले बताए । उनले भने, ‘१ हजार ३ सय क्षमताको अन्तरराष्ट्रिय एअरपोर्टले अहिले २ हजार ५ सय जनाको भार थेग्नु परेको छ । बाटोघाटोको अवस्था उस्तै छ, यस्तो अवस्थामा पनि पर्यटक आइरहेका छन्, पूर्वाधारको विकास हुनासाथ यो सङ्ख्या बढाउन कुनै गाह्रो छैन ।’ सन् २०१७ लाई भिजिट नेपाल यूरोपका रूपमा मनाउँदासमेत पर्यटक आगमनमा वृद्धि भएको भिजिट नेपाल यूरोपका २०१७ का संयोजक रहेको दीपेश शाक्यले बताए । उनका अनुसार विभिन्न कारणले बिग्रेको नेपालको पर्यटन छवि सुधार्न २०१७ तुलनात्मक रूपमा सफल भएको छ । नेपाल पर्यटन बोर्डको ‘एक्सपिरियन्स नेपाल–२०१८’ का संयोजक शाक्यले यूरोपको कार्यक्रमले नेपाललाई नजीकबाट बुझ्ने र नेपाल आउने चाहना जागृत गराएको बताए । सन् २०१७ मा आएका साढे ९ लाख पर्यटकमध्ये छिमेकी मुलुक भारत र चीनबाट मात्रै २ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा नेपाल घुम्न आउने पर्यटकको पहिलो नम्बरमा भारतीय र दोस्रो नम्बरमा चिनीयाँ पर्यटक रहेका छन् । २०१७ मा भारतबाट यस अवधिमा १ लाख ५५ हजार ७ सय ८४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् भने चीनबाट १ लाख ९ हजार ८ सय ३९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारत र चीनपछि बढी पर्यटक आउने देशमा अमेरिकाबाट ७९ हजार २ सय ५५, बेलायतबाट ५२ हजार ६ सय ९० र श्रीलङ्काबाट ४५ हजार ३ सय १३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)