ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पष्ट व्यवस्था नहुँदा हकप्रद सूचीकरणमा ढिलाइ

Jan 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । हकप्रद शेयर बाँडफाँटपछि नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुन ढिलाइ भएको लगानीकर्ताले गुनासो गरेका छन् । सूचीकरणमा ढिलाइ हुँदा समयमै कारोबार गर्न नपाएकोप्रति उनीहरूको भनाइ छ । हकप्रद निष्कासनको क्रममा एकैपटक सबै शेयर विक्री नहुँदा लीलामीमा विक्री गर्नुपरेकाले सूचीकरणमा ढिलाइ हुने गरेको कम्पनीहरू बताउँछन् । लामो समयदेखि शेयरबजारमा प्रवेश गरेका शिवप्रसाद पौडेलले कम्पनीहरूले हकप्रद शेयर सूचीकरणमा ढिलाइ गरेकाले लगानीकर्ता मर्कामा परेको टिप्पणी गरे । यसबाट साना लगानीकर्ताभन्दा ठूला लगानीकर्ता मारमा परेको उनले बताए । उनले भने, ‘यो समस्या समाधानका लागि नियामक निकायदेखि सम्बन्धित कम्पनीहरू सबैको ध्यान जान आवश्यक रहेको छ ।’ अर्का लगानीकर्ता दिवाकर खड्काले हकप्रद शेयर सूचीकरणका लागि नियामक निकायले निश्चित समय तोकी दिनुपर्नेमा जोड दिए । उनले कतिपय कम्पनीले कम समयमै हकप्रद सूचीकरण गरेको बताउँदै भने, ‘यसबारे स्पष्ट नीति नहुँदा पनि समस्या आएको हो ।’ हकप्रदलाई लगानीकर्ताले महत्त्वपूर्ण लाभका रूपमा लिएकाले बाँडफाँटपछि समयमै खरीदविक्री गर्न पाउनुपर्ने उनको माग छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले सूचीकरणको सम्बन्धमा स्पष्ट व्यवस्था नभएको स्वीकारे । उनले भने, ‘त्यसैले यति नै समयमा सूचीकरण गर्नुपर्छ भन्ने स्थिति छैन ।’ पछिल्लो समयको स्थिति हेर्दा कम्पनीहरूले पहिलो चरणको हकप्रद बाँडफाँटपछि सूचीकरणका लागि करीब ३ महीनासम्म समय लगाएको देखिएको छ । हिमालयन जनरल इन्स्योरेन्सले असार २८ देखि भदौ ९ गतेसम्म निष्कासन गरेको १ बराबर ६६ दशमलव ६७ प्रतिशत हकप्रदमध्ये ६४ लाख २० हजार कित्ता शेयर असोज २ गते पहिलो चरणमा बाँडफाँट गरेको थियो । सम्पूर्ण कित्ता विक्री नभएपछि लीलामी प्रक्रिया अपनाएको उक्त कम्पनीले मङ्सिर १२ गते लीलामीअन्तर्गतको शेयरको बाँडफाँट गरेको थियो । उक्त शेयर मङ्सिर २४ गते नेप्सेमा कारोबारका लागि सूचीकरण गराएको थियो । हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद विक्री गर्ने जिम्मा लिएको एनएमबी क्यापिटलका प्रमुख व्यवसायी तथा सञ्चालन अधिकृत कमलप्रसाद नेपालले हकप्रद निष्कासनको क्रममा सबै कित्ता विक्री भएको स्थितिमा सूचीकरणमा ढिलाइ नभएको जानकारी दिए । त्यस्तै मेगा बैङ्कले भदौ २७ देखि कात्तिक २४ गतेसम्म विक्री खुला गरेको ६५ प्रतिशत हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरे पनि पुस १९ गतेमात्र सूचीकरण गराएको हो । मेगाको हकप्रद विक्रीको जिम्मा लिएको नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडका विश्वनाथ उप्रेतीले मेगाको कारोबार बन्द रहेकाले लीलामीको मूल्य कायम गर्न पहिले कारोबार खुलाउन आवश्यक देखिएकाले पहिलो चरणको बाँडफाँटपछि सूचीकृत गरेको जानकारी दिए । विक्री हुन बाँकी शेयरलाई लीलाम प्रक्रियामा विक्री गर्ने तयारी मेगाले गरेको छ । नेप्सेमा पुस महीनामा सूचीकृत कम्पनीहरूको अवस्था हेर्दा मेगाबाहेक एक्सेल डेभलपमेण्ट, किसान माइक्रो फाइनान्स, कञ्चन डेभलपमेण्ट, समीट माइक्रो फाइनान्स र सानिमामाई हाइड्रोको हकप्रद शेयर सूचीकृत भएको छ । एक्सेलले लीलामी शेयर पुस १७ गते बाँडफाँट गरी २५ गते नेप्सेमा सूचीकृत गराएको छ । केही कम्पनीले थोरै समयमै सूचीकरण गराउन सफल भएका छन् । कम्पनीहरूले पूर्णरूपमा हकप्रद वितरणपछि मात्र सूचीकरण गर्ने गरेकाले ढिलाइ भएको बताउँदै केही लगानीकर्ताले पहिलो चरणमा वितरण भएको शेयरलाई सोही समयमा सूचीकरण गराउन माग गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)