ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डीपीआर आफै बनाउने सेनाको घोषणा

Jan 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेश फाष्ट ट्र्याक (द्रुतमार्ग) निर्माणको जिम्मा पाएको नेपाली सेनाले ९ महीनापछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आफै बनाउने घोषणा गरेको छ । द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार गरेको डीपीआर खरीद गर्ने भनिए पनि सेनाले कन्सल्ट्याण्टबाट आवश्यक थप अध्ययन गराई आफै डीपीआर तयार गर्ने भएको हो । मन्त्रिपरिषद्को गत वैशाख २१ गतेको बैठकले नेपाली सेनालाई द्रुतमार्ग निर्माण ४ वर्षमा सम्पन्न गर्ने गरी जिम्मा दिएको थियो । सोहीअनुसार सेनाले भारतीय कम्पनीको डीपीआर खरीद गर्ने र निर्माण कार्यलाई अघि बढाउने तयारी गरेको थियो । सेनाका प्रवक्ता गोकुल भण्डारीले डीपीआर खरीदमा कुरा मिल्न नसकेको बताए । उनले भने, ‘हामीले सोचेका मूल्यभन्दा पनि निकै फरक मूल्य कम्पनीबाट आएकाले डीपीआर खरीद नगर्ने निष्कर्षमा पुगेका हौं ।’ खरीद मूल्य र कम्पनीले तोकेको मूल्य भने सेनाले भन्न चाहेन । सरकारले द्रुतमार्ग निर्माणका लागि औपचारिक रूपमा साउन २७ गते आयोजना हस्तान्तरण गरेको थियो । भारतीय कम्पनीले तयार गरेको डीपीआर खरीद गर्ने भनेपछि हालसम्म सोही डीपीआरको अध्ययन नेपाली पक्षले गर्दै आएको थियो । सेनाले आयोजनाको डिटेल इञ्जिनीयरिङ गर्न आह्वान गरेका कन्सल्ट्याण्टहरूबाट थप अध्ययन गराएर डीपीआर तयार गर्ने आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिए । सेनाले मङ्गलवार गरेको पत्रकार सम्मेलनमा आयोजनाको महत्वपूर्ण भाग सुरुङ मार्ग निर्माणका विषयमा प्राविधिक प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने बताइयो । सेनाले मङ्गलवारदेखि नै बाराको निजगढबाट द्रुतमार्ग निर्माणका लागि कार्य थालेको छ । सेनाले ५४ किलोमिटरमा जमीन कटानलगायत काम आगामी ९ महीनाभित्र सम्पन्न गर्ने बताएको छ । त्यसका लागि टेण्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै द्रुतमार्गको राइट अफ वे (मार्गाधिकार)मा पर्ने निजी तथा ऐलानी जग्गाको मुआब्जा र घरटहराको क्षतिपूर्ति आगामी ६ महीनाभित्र प्रभावितलाई उपलब्ध गराउने लक्ष्य राखिएको पनि बताइएको छ ।
डीपीआर खरीद दर अधिक महँगो : सेना निजगढबाट सडक निर्माणको कार्य शुरू कान्तिपथसँग विवाद नहुने गरी फेरबदल
माघको तेस्रो हप्तादेखि मकवानपुरको बुदुने र लेनडाँडा क्षेत्रमा रूख कटान गरिने भएको छ । सेनाले आगामी वैशाखसम्ममा आवश्यक सबै निर्माण सुरक्षा बेश क्याम्पहरू निर्माण गरिसक्ने बताएको छ । उपनिर्देशक खनालले सुरुङमार्ग संयोजनको भौगोलिक अध्ययनका साथै निर्माणाधीन कान्तिपथ राजमार्गसँग विवाद नहुने गरी फेरबदल गर्नुपर्ने आवश्यकता देखिएको बताए । भूकम्पीय जोखीमयुक्त भूसंरचना भएको भूभागमा निर्माण हुन लागेको एशियाली मापदण्डको चार लेनको द्रुतमार्ग निर्माण भरपर्दाे र विश्वसनीय बनाउन चुनौतीपूर्ण देखिएको सेनाले औंल्याएको छ । यस्तै द्रुतमार्गका लागि आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न थप जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको पनि सेनाले सम्मेलनमा बताएको छ । ललितपुरको खोकाना इलाकामा लामो समयदेखि विवादमा रहेको जग्गा अधिग्रहणको विषयलाई तत्काल समाधान गर्न आवश्यक देखिएको सेनाको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)