ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न सम्झौता

Jan 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले सुरुङ मार्ग (टनेल) निर्माणका लागि छनोट गरेका नयाँ पाँच स्थानको सम्भाव्यता अध्ययन गर्न तीन नेपाली कन्सल्टेन्सीसँग सम्झौता गरेको छ । जोइण्ट भेञ्चरमा सम्भाव्यता अध्ययन गर्ने गरी सडक विभागले ती कन्सल्टेण्ट कम्पनीसँग सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको हो । विभागका एक अधिकारीका अनुसार छनोट भएका पाँचओटा स्थान तथा सडकमा पर्ने सुरुङ मार्ग अध्ययनका लागि केही दिनअघि सम्झौता भएको हो । उनका अनुसार सम्झौता भइसके पनि कन्सल्टेन्ससँग छलफल हुन भने सकेको छैन । उनले भने, ‘अब छिटै ती कन्सल्टेन्सीसँग छलफल गरी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।’ विभिन्न राजमार्ग तथा सहायक राजमार्गमा हुँदै आएको मानवीय क्षति कम गर्न र यातायात सेवालाई भरपर्दाे बनाउँदै कम दूरीमै गन्तव्यमा पुग्न सघाउने उद्देश्यले विभागले सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको हो । विभागका अनुसार सम्भाव्यता अध्ययन गरिने सडकहरूमा मकवानपुरको कुलेखानी–भीमफेदी (४ किलोमिटर), बनेपा–सिन्धुली सडक खण्डको खुर्काेट–सिन्धुली (९ किमी), पोखरा–बागलुङ सडक खण्डको पोखरा हेम्जा–नयाँ पुल (५ किमी), दोलखाको चरिकोट–लामाबगरको लाप्चा गाउँ (१ किमी) र नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने (५ किमी) रहेका छन् । विभागले सुरुङ मार्ग सम्भाव्यता अध्ययनका भ्याटबाहेक रू. ९० लाख लागत लाग्ने जानकारी दिएको छ । सरकारले १४औं योजना (आव २०७४–७६)मार्फत पनि सुरुङ मार्गको निर्माणलाई प्राथमिकता दिएको छ । योजनाले त्रिभुवन राजपथको नागढुङ्गामा सुरुङ मार्ग निर्माण, टोखा–गुर्जे भञ्ज्याङ सडक, सिद्घार्थ राजमार्गको सिद्घबाबालगायत अन्य सम्भाव्य सडक खण्डहरूमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन प्रारम्भ गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये सरकारले जापान सरकार (जाइका)को सहयोगमा ‘नागढुङ्गा–नौबीसे सुरुङमार्ग’ निर्माण गर्न काम थालिसकेको छ । फेब्रुअरी २०१८ देखि उक्त सुरुङमार्ग निर्माणका लागि निर्माण व्यवसायी छनोट प्रक्रिया शुरू गर्ने तयारी विभागले गरिसकेको छ । सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङमार्ग निर्माणका लागि जाइकाले सहुलियत दरमा ऋण उपलब्ध गराउनेछ । नेपालको भौगोलिक बनोटका कारण अधिकांश राजमार्गबाट जाने सडकहरू पहिरो तथा दुर्घटनाका हिसाबले उच्च जोखीममा रहेका छन् भने कतिपय सडक दूरीका हिसाबले अनावश्यक लामा भएका छन् । त्यसलाई ध्यानमा राखी विभागले विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको छ । सम्भाव्यता अध्ययन गरिने सडक १. कुलेखानी–भीमफेदी २. खुर्काेट–सिन्धुली ३. पोखरा हेम्जा–नयाँ पुल ४. चरिकोट–लामाबगरको लाप्चा गाउँ ५. नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)