ध्रूम्रपानले स्वास्थ्यमा गर्ने बेफाइदा र त्यसबाट हुने आर्थिक क्षतिबारे त धेरै चर्चा भइसकेको छ । तर, हालै गरिएको एक अध्ययनमा भने धूम्रपान गर्नेहरुबाट कम्पनीहरुले उल्लेख्य आर्थिक नोक्सानी बेहोरिरहेको समेत देखिएको छ । बेलायतको नटिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनमा धूम्रपान गर्ने कर्मचारीहरु अन्यको तुलनामा काममा बढी नै अनुपस्थित हुने गरेको देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार गतवर्ष मात्रै धूम्रपान गर्नेहरु अन्य कर्मचारीभन्दा औसतमा दुई वा तीन दिन बढी काममा नआएको र यसबाट बेलायती कम्पनीहरुलाई १ अर्ब ४० करोड पाउण्ड नोक्सान भएको थियो ।
‘एडिक्शन’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनको शोध रिपोर्टअनुसार अनुसन्धानकर्ताहरुले कर्मचारीहरुलाई उनीहरुका अहिले वा पहिलेको धूम्रपान लतबारे प्रश्न सोधेका थिए । कर्मचारीहरुको स्वास्थ्य र अन्य रेकर्डलाई केलाउँदै अनुसन्धानकर्ताहरुले उनीहरु २ वर्षमा कति बिदामा बसे भनेर तथ्याङ्क सङ्कलन गरेका थिए । यसमा अहिले धूम्रपान गर्ने कर्मचारीहरुको काममा अनुपस्थितिको सम्भावना धूम्रपान नगर्नेहरुभन्दा ३३ प्रतिशतले बढी भएको अनुसन्धानकर्ताहरुले पाएका थिए । यसबाट धूम्रपान गर्नेहरुको कार्यालयमा अनुपस्थिति प्रतिवर्ष थप २ दशमलव ७ दिनले बढी हुने गरेको बताइएको छ । त्यसैगरी धूम्रपान छाडेकाहरुभन्दा उनीहरुको अनुपस्थिति दर १९ प्रतिशतले बढी हुने रिपोर्टमा उल्लेख छ । यसबाट नदेखिने गरी आर्थिक घाटा बढ्ने हुनाले धूम्रपानकर्ताहरुलाई यस्तो लत छाड्न पे्ररणा दिइनुपर्ने अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन् । ‘कर्मचारीहरुले धूम्रपानको लत छोड्दा रोजगारदाताहरुले उल्लेख्य रुपमा खर्च बचत गर्न सक्ने देखिन्छ,’ अनुसन्धानकर्ता टोलीलाई नेतृत्व गरेकी प्राध्यापक जो लिओनार्डी–बीले भनिन् ।
अनुसन्धानकर्ताहरुले सन् १९६० र २०११ का बीच यूरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र जापानमा गरिएका यसबारेका छुट्टाछुट्टै अध्ययनहरुलाई विश्लेषण गरेको उल्लेख छ । यस्तो अध्ययन निजी तथा सार्वजनिक क्षेत्रका कम्पनीहरुमा कार्यरत झण्डै ७१ हजार कर्मचारीमाझ गरिएका बताइएको छ ।