ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालाका कुरा

Jan 19, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
हिजोआज मान्छेको उमेर खुट्याउनै गाह्रो । कुन आमा, कुन छोरी चिन्न मुश्किल । अथवा कुन बाउ वा दाइ, कुन भाइ वा छोरा चिन्नै गाह्रो । अझ को पाको को कच्चा, को झूटो को सच्चा, छुट्याउनै मुश्किल । शुरूशुरूमा त मानव विकास सूचकाङ्कमा आएको सुधारका कारण मानिसको स्वास्थ्यमा पनि सुधार आएर यो सबै भएको भन्ठान्थे । तर, जब आफ्नै शिरमा बेला कुबेलामा हिउँ परेजस्तो देखिन शुरू गर्‍यो, त्यसपछि मात्र यो कालोको कर्तुत पत्ता लाग्यो । किनकि कालोको खोजीमा आफै निस्कन परेपछि मान्छेको उमेर घट्ने गरेको रहस्योद्घाटन भयो । नत्र त आमाछोरी वा बाबुछोराको उचाइ बराबर, गोलाइ बराबर, लवाइ, खुवाइ, हँसाइ उस्तै, बोलाइ दुरुस्तै भएपछि अनुहारले त धोका दिने नै भयो । गाडीको पो चलेको किलोमिटर वा नम्बरबाट फरक छुट्याउन सकिन्छ । मान्छेको कसरी छुट्याउने ? त्यसमाथि हिजोआजका हाइब्रिड सन्तान, त्यसमा पनि उमेरै नपुगी कपाल कपासजस्तो बनाउने युवाका अगाडि त बाउआमा झन् कम उमेरका देखिने हुँदा बेलाबेलामा झुक्किनु स्वाभाविक हुने नै भयो । कुनै हप्ता कालो लगाउन छुटाएको स्थितिमा भने टाउका कुनाकानीतिर छ्वास्स ढुसी परेको देखिने कारणले नियालेर हेर्नेले भने पुरानो र नयाँ पुस्ता छुट्याउन सक्ने भो, नत्र गाह्रै पर्ने । हुन त यो कालो भन्ने चीज नै अलि धोका दिन सक्ने प्रकृतिको हुने रहेछ । कालो रङ मात्र होइन, मन पनि कालो हुँदो रै’छ, धन पनि कालो हुँदो रै’छ । तर, कालो सबै कुरा नराम्रै हुन्छ भन्ने हुँदैन । ‘कालो भनी नगर हेला’ भन्ने गीतजस्तै ‘काले’ कृष्ण त हिन्दूहरूले असाध्यै माया गर्नेमध्येमा पर्छन् । त्यसैले बाहिर कालो भए पनि भित्र सेतो भए हुने रहेछ । त्यसमा पनि कालो तिल, कालो कराईमा जिम्मु झानेको कालै दाल कति मीठो हुन्छ । अरूको कालो नजरबाट बचाउन कालो सुर्मा वा गाजल लगाउँदा मान्छे कति राम्रा देखिन्छन् । त्यसैले कालो चीज सबै नराम्रो हुन्छ भन्ने छैन । तर, मन कालो भएपछि भने काममा पनि कालोपन आउने रहेछ । मन कालो भएकाहरूले धन पनि कालो कमाउने रहेछन् । काम पनि कालै गर्ने रहेछन् । कालो भन्नेबित्तिकै हाम्रा सडकहरूको चित्र मनमा आइहाल्छ । भित्र जसरी पिच गरेको भए पनि माथिमाथि कालोपत्र गरिएको छ भने बिल सोझै पास । किनकि कालो मन हुनेहरूलाई छिट्टै कालो धन जम्मा जो गर्नु छ । नेपालमा हुने काला कामहरूको विषयमा त यहाँ फेहरिस्त प्रस्तुत गरेर साध्यै छैन । थाहा पाइहाल्नु भो, रानीपोखरीमा मात्रै गत २ वर्षमा रू. ५ करोड स्वाहा भएछ । काम कति भयो, जग जाहेर नै छ । बेलाबेलामा कालो कामको विषयमा ‘घिउ बेच्ने र तरबार बेच्ने’बीचको कथा पत्रपत्रिकामा आई नै रहन्छन् । सरकारी कार्यालयहरूमा हुने काला काम, निजीक्षेत्रले गर्ने काला, खैरा, सेता तामझाम पनि बाहिर आई नै रहेकै विषयहरू हुन् । समाचारमा नआएका त कति होलान् कति । कालो अन्धकार हो । भन्न त शेक्सपियरले अज्ञानलाई अन्धकार भनेका थिए । तर यहाँ त ठूला, विद्वान् र ज्ञानी मानिएकाहरूले नै दिउँसै मानिसका जीवनमा अन्धकार वा कालो छर्ने काम गरिरहेका छन् । पञ्चायतको रजाइँदेखि लोकतन्त्र र सङ्घीय गणतन्त्रको भजाइ हुँदासम्म हामीले अँध्यारो नै भोगिरहेका छौं । न कुनै रुखले छहारी दियो, न कुनै हँसिया हथौडाले काम दियो, न कुनै घामले माम दियो । दियो त केवल विदेशको लाम र खाडीको चर्को घाम दियो । मुम्बईका बाईहरूसँग लगेर थुप्रै नेपाली चेलीलाई बद्नाम मात्र होइन, गुमनाम गरायो । किनकि कालो मन भएकाहरूले जनतालाई चामल भनेर कुहिएको ढुटो दिए । श्रीखण्ड भनेर सिमलको ठुटो दिए । सिद्धान्त र वाद पिलाए । अन्त्यमा आप्mनै लागि नयाँ कालो कोट सिलाए । तर, द्वन्द्वका नाममा पीडारूपी पाप्रा र भूकम्प र बाढीपीडितका छाप्राभित्र कालो अँधेरोबाहेक केही दिएनन् । यहाँ प्रत्येक पल सीमा मिचिन्छ, तर विरोधमा बोल्नेको घाँटी थिचिन्छ । ढुङ्गा, गिट्टी, बालुवासम्म त ल ठीकै थियो, दिनदहाडै इमान र जवान अनि जवानी बेचिन्छ । धन नभएर देश गरीब भएको होइन रहेछ । किनकि हरेक वर्ष बजेट ‘फ्रिज’ भइरहेछ । विकाससँगै भावी पुस्ताका सुन्दर भविष्य ‘सिज’ भइरहेको छ । त्यसैले त जताततै अन्धकारको राज्यसत्ता चलिरहेको छ । किनकि अन्धकार कालो छ । शायद कालोको यही रहस्य थाहा पाएर नै कविशिरोमणि लेखनाथ पौड्यालले उहिल्यै लेख्नुभएको थियो, ‘यो सारा सृष्टि कालो मनबीच छ भने दम्भ दुर्भाव कालो ।’ के अब आउने नयाँ सङ्घीय बिहानीले यो कालो अन्धकारबाट मुक्ति दिन सक्ला त ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)