ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भट्टेडाँडामा जडित राडार अर्को हप्तादेखि शुरू

Jan 19, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । जापान सरकारको अन्तरराष्ट्रिय नियोग जाइका र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा १ अर्ब रुपैयाँको लागतमा ललितपुरको भट्टेडाँडामा जडान गरिएका रेडियो डिटेक्शन एण्ड रेञ्जिङ (राडार) अर्को हप्तादेखि औपचारिक सञ्चालनमा आउने भएको छ । भट्टेडाँडामा जडित ‘इनरूट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणका अधिकारीको धारणा छ । राडारले रेडियो तरङ्गमार्फत विमानको अवस्थिति, उचाइ, गतिजस्ता जानकारी थाहा पाउन मद्दत गर्छ । देशका धेरै भूभागलाई समेट्ने गरी नयाँ राडार जडान गरेपछि देशभरिको उडान थप सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । नयाँ राडार उपकरणको सञ्चालनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको जानकारी पाउन सहज हुने उनले बताए । भट्टेडाँडाको ८ हजार २ सय फिट (२३०० मिटर) उचाइमा जडान गरेको इनरूट राडार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जडित टर्मिनल दुवै राडारको परीक्षण प्रभावकारी भएको प्राधिकरणका अधिकारीको धारणा छ । केही महीना अघिदेखि अनौपचारिक रूपमा सञ्चालनमा आएका यी दुवै राडारको गत नोभेम्बर १६ र १८ मा संयुक्त राज्य अमेरिकाको फेडरल एभिएशन एड्मिनिष्ट्रेशनबाट आएको जहाजले फ्लाइट क्यालिब्रेशन गरी नयाँ राडारको चेकजाँच गरेको थियो । सो राडारको औपचारिक शुरुआत फ्रेब्रुअरी १ (माघ १८) गतेदेखि हुने प्राधिकरणले जानकारी दिएको छ । भट्टेडाँडामा जडित ‘इनरूट राडार’ले नेपालको पूर्वका सबै भूभाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइलगायतको जानकारी दिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । राडार सञ्चालनमा आएपछि नेपालको कुल भूभागको करीब ७५ प्रतिशत क्षेत्र राडार कभरेजअन्तर्गत रहने श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पुरानो राडारमार्फत करीब १ सय १० किलोमिटरसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४ सय ५० किलोमिटरसम्मको जहाजको सम्पूर्ण जानकारी पाउन सकिन्छ ।’ नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजहरूबीचको दूरी घट्न जाने तथा ५ देखि ९ किलोमिटरको अन्तरमा राखेर विमानले उडान अवतरण गर्न सक्नेछन् । अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरको दूरी रहँदै आएको थियो । हाल राडारमार्फत उडानको अनुगमन सीमित भएकाले नेपाली आकाशभित्र उडिरहेका विमानको अवस्थिति थाहा पाउन कठिन हुने गरेको प्राधिकरणका अधिकारीको भनाइ छ । सन् १९९७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकार सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो हुँदै गएको र स्पेयर पार्टस् पनि बिग्रने अवस्थामा पुगिसकेकाले नयाँ राडार जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ । राडारको विषयमा औपचारिक जानकारी दिन माघ ९ र १० (जनवरी २३–२४) मा नेपालस्थित जापानीज दूतावासले औपचारिक कार्यक्रमको आयोजना गर्दै छ । यस लगत्तै माघ १८ गते (फ्रेब्रुअरी १)बाट राडारको औपचारिक सञ्चालन हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले पछि आफ्नै लगानीमा भैरहवामा पनि राडार जडान गर्ने योजना बनाएको छ । यसपछि देशैभरि हवाई उडानको गतिविधि कभरेज हुने प्राधिकरणका अधिकारीले बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)