ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेडिमेण्ट स्लसरप्रति जलविद्युत् आयोजनाको आकर्षण बढ्दो

Jan 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । गएको वर्षको वर्षात् इन्द्रावती तेस्रो जलविद्युत् आयोजना (७.५ मेवा)का लागि सबैभन्दा ढुक्कको वर्ष रह्यो । यसका कारण थियो, वर्षात्मा बाढीले बगाएर ल्याउने लेदो (सेडिमेण्ट)को सफाइमा आयोजना बन्द गर्नुपर्ने समस्याबाट मुक्ति पाउनु । हरेक हप्ताको २४ घण्टा जस्तो आयोजना बन्द गर, सफाइ गर अनि पुनःसञ्चालन गर, नियमितता नै बनिसकेको थियो । यसले एकातर्फ सफाइमा लाग्ने खर्च बढाएको थियो भने मुख्य कुराचाहिँ सो समयमा उत्पादन भई विक्री हुने विद्युत् गुम्ने गर्थ्यो । महीनाको १ सय घण्टाका दरले हरेक वर्ष वर्षायामका ४ महीना सफाइकै लागि आयोजना बन्द गर्नुपरेको अनुभव सुनाउँछन्, आयोजनाका अध्यक्ष कुमार पाण्डे । ‘तर, सेडिमेण्ट स्लसर राखिसकेपछि गएको वर्ष वर्षायामभरि केवल २ घण्टा मात्र आयोजना बन्द गर्दा पुग्यो,’ उनी भन्छन्, ‘यसले प्रत्यक्ष रूपमा विद्युत् उत्पादनमा निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।’ विश्वमै जलविद्युत् आयोजनाको सेडिमेण्ड व्यवस्थापनका लागि उपयोगमा आइरहेको यो प्रविधिविना इन्धन चल्छ । जलविद्युत् आयोजनाको पानी जम्मा हुने ठाउँ (डिसेण्डर)मा यो उपकरण जडान गरिन्छ । यसमा जोडिएको पाइपले डिसेण्डरको पीँधमा थुप्रिने सेडिमेण्टसम्म पुगी भ्याकुम क्लिनरले झैं सफाइ गर्छ । यसरी आयोजनाको प्रारम्भिक संरचनामै अधिकतम सेडिमेण्ट व्यवस्थापन हुने हुँदा बाँकी संरचनामा यसको प्रभाव पनि अत्यन्तै न्यून हुन्छ । नेपालमा खिम्ती जलविद्युत् आयोजनाले यो प्रविधि प्रयोग गरिरहेको भए पनि चर्चामा भने ल्याइएको थिएन । यसबारेमा जानकारी लिन खोज्दा पनि खासै जानकारी नदिइएको निर्माणाधीन अपर सोलु जलविद्युत् आयोजना (२३.५ मेवा)का प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले बताए । ‘त्यसपछि विश्व बजारमा यसको उपयोगका बारेमा बुझेर झिकायौं,’ उनले भने, ‘हामीले यस उपकरण झिकाउन कण्ट्र्याक्ट एग्रिमेण्ट गरेपछि अरू आयोजनाहरूले पनि शुरू गरे ।’ अपर सोलुले करीब रू. ५ करोडको लागतमा उक्त उपकरण खरीद गरेको हो । भिरालो जमीनमा डिसेण्डर बनाउनु पर्दा पर्याप्त ठाउँ नभइरहेकोमा स्लसरले सजिलो बनाएको राजभण्डारी बताउँछन् । ‘हामीकहाँ रहेको जमीन ठूलो खालको डिसेण्डर बनाउन सकिने अवस्थाको थिएन’, उनी भन्छन्, ‘भीर ताछ्दा पहिरोको जोखीम पनि बढ्ने हुन्थ्यो; स्लसरको प्रयोग हुने भएपछि डिसेण्डरको आकार सानै बनाउँदा पनि हुने भएको छ ।’ सञ्चालनमा रहेका र निर्माणाधीन मात्रै होइनन्, निर्माणमा जाने क्रममा रहेका जलविद्युत् आयोजनाहरू पनि स्लसर जडानको योजनामा रहेका छन् । यसले गर्दा सेडिमेण्टका कारण वर्षायामको विद्युत् उत्पादनको अवरोध करीबकरीब अन्त्य हुनेछ । विशेषगरी नेपाल विद्युत् प्राधिकरणले पनि यो प्रविधिको उपयोग गर्नु आवश्यक रहेको इन्द्रावती तेस्रोका अध्यक्ष एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का उपाध्यक्ष पाण्डे बताउँछन् । उनी भन्छन्, ‘विशेषगरी दिनभरि पानी जम्मा गरेर पीक आवरमा सञ्चालनमा ल्याइने आयोजना (पीआरओआर)का लागि यो प्रविधि झन् बढी प्रभावकारी हुन्छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)