हामीले कुनै पनि कम्पनीमा काम गरेबापत तलबका रूपमा नगद नै लिने गरेका छौं । कुनैकुनै कम्पनीले समयसमयमा बोनसका रूपमा कम्पनीमा उत्पादित वस्तु वा सामग्री निश्चित परिमाणमा कर्मचारीहरूलाई दिने गरेको छ । खाद्य कम्पनीहरूले दशैं तिहारका बेलामा बोनसको साथमा कम्पनीमा उत्पादन हुने केही किलो चामल, पिठोलगायत वस्तु बाँड्लान् । जुत्ता कारखानामा काम गर्नेहरूलाई पनि वार्षिकोत्सवलगायत अवसरमा जुत्ता बाँडिएला । यस्तो नियम सबैतिर पाइँदैन । दक्षिण पूर्वी चीनको एउटा इँटाभट्टाले भने त्यहाँका कर्मचारीहरूलाई तिर्न बाँकी तलब इ“टामा भुक्तानी गरेको छ । चीनको सरकारी सञ्चार माध्यम सिन्हवामा छापिएको एक समाचारअनुसार चियाङ्सी प्रान्तको राजधानी नाञ्चाङमा रहेको एक इँटाभट्टाले त्यहाँका करीब ३० कर्मचारीलाई कुल ९० हजार युआन (१४ हजार ५० अमेरिकी डलर) तलब तिर्न बाँकी थियो । तर, ८० हजार युआन नगद तिर्नुको सट्टा उनीहरूलाई २ लाख ९० हजार ओटा इँटा दिइएको छ । ती सबै कामदारहरू दक्षिण पश्चिममा रहेको युनान प्रान्तको हिमाली क्षेत्रबाट त्यहाँ काम गर्न आएको चियाङ्सी डेलीलाई उद्धृत गर्दै सिन्हवाले बताएको छ । स्थानीय श्रम विभागले अदालतको मद्दत लिएर तलब दिन कम्पनीलाई दबाब दिएपछि बाँकी रहेको तलबको सट्टामा इँटा दिन कम्पनी सहमत भएको समाचारमा भनिएको छ । यद्यपि, समाचारमा कम्पनीको नाम भने उल्लेख छैन ।
बाँकी रहेको अर्को १० हजार युआन कसरी भुक्तानी गर्ने भन्नेबारे पनि सोचविचार गरिरहेको बताइएको छ । यस विषयलाई चीनको सामाजिक सञ्जाल सिना वेइपोमा निकै महत्त्व दिइएको थियो । आप्रवासी कामदार र तिनका रोजगारदाताबीच विशेषगरी जाडो महीनामा विवाद देखिने गरेको छ । त्यति बेला चिनियाँ नयाँ वर्ष पर्ने भएकाले पनि कामदारहरू घर फर्कने गर्दछन् । यस्तोमा कम्पनीहरूले बाँकी तलब दिन नचाहेपछि समस्या बढ्ने गरेको छ । विगत ५ वर्षमा चीनमा ५० लाखभन्दा धेरै आप्रवासी कामदारलाई कम्पनीले तिर्न बाँकी ३० अर्ब युआन (४ अर्ब ५० करोड अमेरिकी डलर) प्राप्त गर्न आफूले सघाएको अलचाइना फेडरेशन अफ ट्रेड युनियनले बताएको छ ।