अरुलाई वित्तीय अनुशासनको खुबै पाठ पढाउने विकसित देशका सरकारहरु कहिलेकाहीँ कतिसम्म अनावश्यक खर्च गर्दा रहेछन् भनेर हालै बेलायती विदेश मन्त्रालयको एक कार्यले उदाङ्गो पारेको छ । आर्थिक मन्दीबीच सरकारी एवम् सार्वजनिक कार्यालयहरुलाई सकेसम्म मितव्ययी बन्न निर्देशन दिइएको भए पनि बेलायती विदेश मन्त्रालयले हालै एक मृत सर्पलाई १६ हजार पाउण्ड खर्च गरेर ‘स्टफिङ’ (मरेका जनावरलाई सजाउने वस्तु बनाउन त्यसभित्र कपासलगायतका वस्तुहरु राख्दै सुरक्षित तुल्याउने कार्य) गरेपछि व्यापक आलोचनाको सामना गरिरहेको छ । १ सय २० वर्ष अघिदेखि उक्त २० फूट लामो अजिङ्गर विदेश मन्त्रालयको पुस्तकालयमा सजाएर राखिएको र अझै धेरै वर्षसम्म जोगाउन यस्तो गरिएको तर्क अधिकारीहरुको छ । ‘अहिले दक्षिण अमेरिकी महादेशको एक राष्ट्र गुयानाका एकजना विशपले अल्बर्ट नामक उक्त अजिङ्गर १९औं शताब्दीमा तत्कालीन उपनिवेश सचिवलाई उपहार दिएकाले यसको ऐतिहासिक महत्व छ,’ यसबारे विवाद बढ्दै गएपछि मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । झण्डै ४ सय वर्षसम्म बेलायती उपनिवेश रहेको गुयाना सन् १९६६ मा स्वतन्त्र भएको थियो ।
सार्वजनिक खर्च कटौती भइरहेको वर्तमान समयमा विदेश मन्त्रालयको यस्तो चालाले बेलायतीहरुमाझ तीव्र रोष जन्माइदिएको छ । ‘हाम्रो देशमा भइरहेको खर्च कटौती र मितव्ययिताको यो कस्तो अनुपम उदाहरण ?’, यसबारे मन्त्रालयसँग जानकारी माग्ने एक राजनीतिक ब्लग साइटमा आक्रोशपूर्वक व्यङ्ग्य गरिएको छ । उक्त ब्लगमा यसबारे समाचार आएपछि थुप्रै बेलायतीले यस्तै प्रकारका प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् ।