गल्ती गर्ने मानिसको स्वभाव नै हो । कसैले थाहा नपाइकन गल्ती गर्छन् । अनि कसैले भने जानीजानी हेपेर नै गल्ती गर्छन् । यो मानवीय स्वभावलाई बुझेर फ्रान्सले आफ्ना नागरिकहरूलाई गल्ती गर्ने अधिकार दिएको छ । त्यहाँका कानून निर्माताहरूले नयाँ कानूनको विशेष धारा परिवर्तन गर्ने पक्षमा मत दिएका छन् । सो धाराले जनताहरूलाई सरकारी अधिकारी वा कर्मचारीहरूसँग व्यवहार गर्दा ‘गल्ती गर्ने अधिकार’ दिएको छ । यस्तो गल्ती गरेमा उनीहरूले कुनै दण्ड वा सजाय पाउने छैनन् । त्यहाँको राष्ट्रिय सभामा मङ्गलवार यस विषयमा हात उठाएर मतदान गरिएको थियो । सो धारा सरकारप्रति समाजमा विश्वास जगाउन महत्त्वपूर्ण हुने बताइएको छ ।
उदाहरणका लागि, कुनै व्यक्ति वा व्यवसायीले आफ्नो कर विवरण दिँदा गल्ती गरेको भेटिएमा जति रकमबारे गलत सूचना दिइएको छ सोको ३० प्रतिशत जरीवाना तिराइनेछ । तर, करदाताले आफूले गरेको गल्ती स्वीकार गरेमा जरीवाना आधा घटाइनेछ । आफूले कानून पालना गरिरहेको छु छैन भन्ने सुनिश्चत गर्न अधिकारीहरूलाई आफ्नो खाता र आर्थिक विवरण चेक गर्न दिने अधिकार अब फ्रान्सेली कम्पनीहरूको हुनेछ । तर, विवरण चेक गर्न दिन नसक्नेहरूलाई पनि सजाय भने दिइने छैन, चेतावनीमात्र दिइनेछ ।
यो राष्ट्रपति इम्यानुएल म्याक्रोँले आफ्नो चुनावी अभियानमा पेश गरेको सुधार प्रस्तावकै अंश हो । यसले सरकार वा सरकारी कर्मचारी र जनताबीचको सम्बन्धमा क्रान्ति ल्याउने पब्लिक एक्शन एण्ड एकाउण्ट मन्त्री गेराल्ड दार्मनिनले ट्विटरमा भनेका छन् । गल्ती गर्ने मानिसको स्वभाव हो । तर, कानूनको धारामा गरिरएको परिवर्तनसँगै जनताले नजानीनजानी गरेको पहिलो गल्तीलाई सरकारले माफी गर्नुपर्नेछ । गल्ती जानीजानी गरेको हो कि होइन भनेर खुट्याउने काम भने अधिकारीहरू स्वयम् नै गर्नेछन् ।
राष्ट्रिय सभामा शुरूमा जनतालाई गल्ती गर्ने अधिकार दिनुहुन्छ कि हुँदैन भन्ने विषयमा बहस भएको थियो । यो अधिकार सार्वजनिक स्वास्थ्य, वातावरण र सुरक्षा, धोकाधडीमा संलग्न सन्दिग्धलगायत मानिसलाई भने लागू हुने छैन । गल्ती गर्ने अधिकारलाई कुन हदसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा अन्य १ दर्जन धाराबारे पनि छलफल भइरहेको बताइएको छ । यी धाराहरूले जियोथर्मिक ऊर्जाको उत्खनन र दुरुपयोग गर्ने, चर्चलाई दान दिने, पासपोर्टका लागि दिइने आवेदनमा घरको ठेगाना हटाउनेलगायत विभिन्न विषयलाई समेट्नेछ । रासस/एएफपी