जलविद्युत् आयोजना : बहुपक्षीय जोखीमको आकलन नहुँदा क्षति बेहोर्न बाध्य
Jan 25, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । बहुपक्षीय जोखीमको आकलन हुन नसकेकाले माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना (४५ मेवा)पटकपटक क्षति बेहोर्न बाध्य भएको विज्ञको भनाइ छ । उक्त आयोजना २०७२ वैशाखको भूकम्प र २०७३ असारको हिमताल फुटी आएको बाढीबाट प्रभावित भएको थियो ।
जलविद्युत् आयोजनाहरूको अध्ययन भूकम्प, भूक्षय तथा हिमताल विस्फोटमध्ये केवल एक भौतिक प्रक्रियामा मात्र केन्द्रित हुने गरेकाले यस्तो क्षति पुग्ने भौगर्भिक जोखीम व्यवस्थापनविज्ञ प्रोफेशर जोन एम रेनल्ड्सको भनाइ रहेको छ । प्रोफेशर रेनल्ड्स भौगर्भिक जोखीम व्यवस्थापनका क्षेत्रमा विश्वव्यापी अध्ययन तथा कार्य गर्ने रेनल्ड्स इण्टरनेशनलका प्रबन्ध निर्देशक हुन् । उनको संस्था, सन् १९९४ देखि नेपालमा भौगर्भिक जोखीम मूल्याङ्कन (जियोहाजार्ड एस्सेसमेण्ट)को कार्य गरिरहेको छ । यो संस्था माथिल्लो भोटेकोशीको क्षतिको अध्ययनमा समेत संलग्न रहेको छ ।
पछिल्लो ४ वर्षमा मात्रै हिमाली भेगका जलविद्युत् सेवामा प्राकृतिक प्रकोपका कारण ३ बिलियन अमेरिकी डलरभन्दा बढीको क्षति पुगेको आँकडा उनले प्रस्तुत गरेका छन् । यसो हुनुमा आयोजनाका लागि आवश्यक पानी आउने क्षेत्र (क्याचमेण्ट एरिया)भन्दा माथिको क्षेत्रको विश्लेषण गर्नबाट चुक्नु एक प्रमुख कारण रहेको उनको भनाइ छ ।
सम्भावित सम्पूर्ण प्राकृतिक प्रकोपले पार्न सक्ने क्षतिको अध्ययन गर्नैपर्ने उनी बताउँछन् । ‘परम्परागत रूपले काम चलाउ ढङ्गले मात्र अध्ययन गर्नु भनेको प्रवद्र्धकहरूले लगानीकर्ताहरूको लगानी जोखीममा पार्नु हो,’ उनी भन्छन्, ‘अबको समयमा जलविद्युत् आयोजना बनाउनेले जलवायु परिवर्तनको असरको समेत आकलन गरी जोखीममुक्त हुनेगरी बनाउनुपर्छ ।’
तर, लगानीको सीमितताका कारण प्रत्येक आयोजनाले ठूलो परिमाणको अध्ययन गर्न सम्भव नहुने स्वतन्त्र ऊर्जा उत्पादक खड्ग विष्ट बताउँछन् । ‘आयोजनाको निश्चित क्षेत्रभित्रको सामान्य हाइड्रोलोजिकल र जियोलोजिक अध्ययन गरिन्छ,’ उनले भने, ‘तर, बजेट कम हुने हुँदा धेरै गहिराइमा गएर सबै पक्षको अध्ययन भने गर्न सम्भव हुँदैन ।’
आयोजनाहरूको जोखीम न्यूनीकरण तथा भूकम्पीय जोखीम मूल्याङ्कन, जियोटेक्निकल बेसलाइन रिपोर्टहरू, हाइड्रोलोजिकल रिस्क एस्सेसमेण्ट तथा ग्लासियल हाजार्ड एस्सेसमेण्टको एकीकृत भौगर्भिक जोखीम मूल्याङ्कन गर्न प्रोफेशर रेनल्ड्सको सुझाव छ ।
एउटै नदी बेसिनमा वर्षेनि जलविद्युत् आयोजनाहरू थपिने क्रम बढ्दो छ । यसले गर्दा भविष्यमा आउने एउटै प्राकृतिक प्रकोपले पनि एकभन्दा बढी आयोजनालाई प्रभाव पार्ने सम्भावना छ । यस विषयलाई ध्यानमा राखी आयोजनाहरूबीच सहकार्यको वातावरण बन्नु आवश्यक छ । उक्त सहकार्यले एकीकृत भौगर्भिक जोखीम मूल्याङ्कनको वित्तीय भार सबै आयोजनामा बाँडिन जान्छ । साथै सम्भावित क्षतिबाट आयोजनाहरू जोगिन गई दीर्घकालमा समेत लाभ पुग्छ ।