ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चेम्बर आन्दोलन चर्काऔं

Jan 26, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
यति धेरै प्राकृतिक स्रोत हुँदाहुँदै पनि नेपालको आर्थिक विकास हुन सकेन । विकास गर्न के गर्नुपर्ला भनेर धेरैले प्रश्न गर्छन् । उत्तर कतैबाट आउन सकेको छैन । तर, त्यसकोे उत्तर भने सजिलो छ । त्यो हो, आर्थिक विकास गर्न चेम्बर आन्दोलन गर्नुपर्छ । पहिले त आर्थिक विकासको पालो आएकै थिएन नि । बल्ल त राजनीतिक क्रान्ति सिद्धियो । अब पालो आर्थिक क्रान्तिको हो । चेम्बर आन्दोलन चरम भएपछि आर्थिक क्रान्ति पनि सम्पन्न हुन्छ । अनि आर्थिक विकास पनि स्वतः भइहाल्छ । तर, चेम्बर आन्दोलन शुरू गर्न आर्थिक क्षेत्रमा काम गर्ने सङ्गठन, यसका नेता तथा कार्यकर्ताहरु पनि पर्याप्त चाहिन्छन् क्या । त्यसपछि व्यावसायिक आन्दोलन, विद्रोह आफै शुरू हुन्छ । चेम्बरहरुबीच घम्साघम्सी प्रतियोगिता हुनुपर्छ, मान्छे तानातान र हानाहान हुनुपर्छ । अनि हुन्छ आर्थिक क्रान्ति । नत्र त्यसै हुन्छ ? भलै त्यसको शुरूवात भने धेरै पहिले नै भइसकेको छ । उहिले वणिक मण्डलबाट शुरु भएको यो आन्दोलन विसं २०२२ सालदेखि नेउवा सङ्घमा पुग्यो । त्यो पछि नेउवा महासङ्घ पनि भयो । २०५२ सालमा चुनाव हारेको झोकमा विनोद चौधरीले २०५९ मा नेपाल उद्योग परिसङ्घ खोलेर चेम्बर आन्दोलनमा इँटा थपे । यो कदमले चौधरीले व्यावसायिक एकतामा विष घोले भन्नेहरु पनि छन् । चौधरीका भनाइमा त्यो समयको माग थियो । कतिले परिसङ्घ खुल्नुलाई केवल जुँगाको लडाइँ ठाने । तर, दुवैले जुँगा नै पाल्ने गरेका छैनन् । त्यसैले यसलाई जुँगाको लडाइँ मान्नै मिलेन । यो प्रतिष्ठाकोे लडाइँ पनि थिएन होला । किनकि दुवै प्रतिष्ठित उद्योगपति जो परे । जेहोस् अरूले जेजे भने पनि नेपालको इतिहासमा यो एक चेम्बर आन्दोलनको अग्रगामी कदम नै थियो भन्ने मान्नुपर्छ । यहाँसम्म आइपुग्दा चेम्बर आन्दोलन गर्न पुग्ने गरी देशमा पर्याप्त आर्थिक सङ्घसंस्था पनि खुलिसकेका छन् । जस्तै, विसं २००९ सालदेखि नेपाल चेम्बर छँदै थियो । उसैको पहलमा पछि सङ्घ खुल्यो । त्यसपछि महासङ्घ र परिसङ्घ पनि खुल्यो । महासङ्घले देशभरि १०५ हाँगाबिगा फैलाइसकेको छ । परिसङ्घ पनि सातै प्रदेशमा सञ्जाल बिछ्याउने चरणमा छ । त्यस्तै, ज्योतिले पनि पछि २०६३ मा चेम्बर र महासङ्घका पूर्वअध्यक्षहरुलाई साथमा लिएर नेपाल व्यावसायिक पहल (एनबीआई) भन्ने संस्था खोले । भलै यो व्यावसायिक सङ्गठन नभए पनि व्यवसायीहरुबीच चेम्बर आन्दोलन गर्न सघाउने एउटा संस्था बनिसकेको छ । यता, उद्योग व्यापार भए पनि नभए पनि विभिन्न देशका नाममा दर्जनौं द्विराष्ट्रिय चेम्बरहरु खुलिसकेकै छन् । प्रत्येक महीनाजसो कुनै न कुनै देशका नाममा एउटा न एउटा चेम्बर खुल्ने क्रम अझै जारी छ । अब नेपाल चेम्बरको पनि पखेटा पलाएको छ । उसले पनि प्रादेशिक हिसाबले सङ्गठन विस्तार गर्दै छ । यी सबैखाले व्यावसायिक चेम्बरहरुमा व्यावसायिक आन्दोलनलाई मलजल गर्न राजनीतिक दलका सङ्गठनहरुले छाया सरकार भनेजस्तै भूमिगत रूपमा काम गरिरहेकै छन् । त्यतिमात्र कहाँ हो र ? एकताका नेउवा महासङ्घका केही पूर्वअध्यक्षको अगुवाइमा पूर्वअध्यक्षहरुको सङ्गठन खुलेको थियो । त्यसमा उद्योग वाणिज्य क्षेत्रमात्र नभै सबै क्षेत्रका पूर्वअध्यक्षहरुको सदस्यता रहेको थियो । अहिले त्यसले शायद भूमिगत भएर काम गरिरहेको होला । अस्ति भर्खर नेउवा महासङ्घका पूर्व अध्यक्षहरुको एकाएक सक्रियता देखियो – सरकारलाई के के हो सल्लाह दिने भनेर । त्यो भेलाले सङ्गठनको आकार ग्रहण गर्‍यो कि त्यो अझै गर्भमै छ भन्ने यो पङ्क्तिकारलाई थाहा भएन । तर, यस्ता गतिविधिहरुले चेम्बर आन्दोलनका लागि चाहिने ‘क्रिटिकल मास’ करीब करीब पुगिसकेको स्थिति छ । अब नवधनाढ्य नेताहरु जो पछिल्लो चुनावमा हारेपछि बेरोजगार बनेका छन्, उनीहरुको सक्रियतामा पनि नेउवा महासङ्घ, परिसङ्घजस्तै देउवा सङ्घ, पौडेल महासङ्घ, गौतम चेम्बर आदि खुल्दै जालान् भन्ने आशा गरौं । तिनले पनि आगोमा घ्यू थप्लान् नै । जे होस् चेम्बर आन्दोलनले गति छाडेको छैन । बरु अहिले यो विस्तारकै क्रममा छ । पहिले महासङ्घ र पछि परिसङ्घभित्रै विद्रोह गरेर खेतान र एक थरी अग्रवालहरु त्यहाँबाट बाहिरिएका थिए । अहिले फेरि केडिया र अर्को थरी अग्रवालहरुलाई पनि परिसङ्घ साँघुरो लागेर चेम्बरमा फराकिलो ठाउँ देखेर उतै लागेका छन् । त्यस्तै, अहिले महासङ्घका भिपीरूपी भूपू पिलरहरु प्रमोद र भाष्कर पनि चेम्बरमा रातो कार्पेटमा स्वागत पाउनेमा परेका छन् । अब चेम्बरको ढोका यी नवप्रवेशीहरुका लागि फराकिलो हुन्छ वा साँघुरो, त्यो समयले पछि बताउँदै जाला । त्यस्तै, दोस्रो पटक चेम्बरका अध्यक्ष बनेका अग्ला राजेशका अगाडि नवप्रवेशीहरु अग्लो देखिनेछन् वा होचो, त्यो पनि समयले नै बताउला । अहिलेलाई यत्ति भन्न सकिन्छ कि नेपालमा चेम्बर आन्दोलनले बल्ल स्वरूप ग्रहण गर्न थालेको छ । अब भने नेपालमा चेम्बर आन्दोलन सफल भएर आर्थिक क्रान्ति हुन्छ जस्तो छ । केही दिनयता समानान्तर साङ्गठनिक संरचना बनाएको खुशियालीमा नेउवा महासङ्घले चेम्बरलाई ‘लभ लेटर’ लेखेको विषयले व्यावसायिक बजार तातेको छ । कत्तिले यसलाई महासङ्घको ठालूपन र चेम्बरको चालूपन पनि ठानेका छन् । तर, वास्तवमा यो चालू र ठालू कुराभन्दा पनि यो एक चेम्बर आन्दोलन नै हो भन्ने यो पङ्क्तिकारको बुझाइ रहेको छ । यस्ता आन्दोलनहरुबाटै देशले गति लिन्छ, आर्थिक प्रगति दिन्छ । त्यसैले यस्ता व्यावसायिक आन्दोलनहरु भई नै रहनु पर्छ । यो खुशीको कुरा हो कि चेम्बर आन्दोलनको शुरूआत राम्रैसँग हुन लागेका लक्षण देखापर्न थालेका छन् । त्यसैले चेम्बरभित्र हुलका हुल छिर्नुहुने हेभीवेट उद्योगी, व्यवसायी मित्रहरुलाई शुभकामना । तपैंहरुको यो सक्रियताले चेम्बर आन्दोलनले थप गति लेओस्, यही नै छ मेरो कामना ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)