फेसबूक प्रयोगकर्ताहरुका लागि यौटा खुशीको खबर । अब कुनै पनि रेष्टुराँ अथवा क्याफेमा जाँदा आफ्ना मोबाइल उपकरणमा फेसबूक चलाउन त्यहाँ वाइफाई पासवर्ड मागिरहनुपर्ने झण्झटबाट तपाईंले चाँडै नै मुक्ति पाउने हुनुभएको छ । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले आफ्ना प्रयोगकर्ता लक्षित गरी स्थानीय रेष्टुराँ, क्याफे र सपिङ मलहरुमा निःशुल्क इण्टरनेट चलाउन सकिने ‘वाइफाई हटस्पट’को परीक्षण गरिरहेको बुझिएको छ । यसका लागि एक विशेष वाइफाई राउटर बनाइएको छ, जसलाई राखेका रेष्टुराँ अथवा क्याफेले प्रयोगकर्ताले ‘चेक इन’ गरेपछि आफ्नो फेसबूकमार्फत सामाजिक सञ्जालको प्रयोग निःशुल्क गर्न दिनेछन् ।
‘हामीहरु अहिले केही स्थानमा यो राउटरको परीक्षण गरिरहेका छौं, यसबाट प्रयोगकर्ताहरुले तीव्र गतिमा फेसबूक चलाउन सक्नेछन्’, कम्पनीका एक अधिकारीले डिस्कभरी न्यूजसँग कुरा गर्दै भने । उनका अनुसार प्रयोगकर्ताले वेबसाइटमा चेक इन गरिसकेपछि उनीहरु ती वाइफाई राउटर राख्नेहरुको फेसबूकमा पस्नेछन् । यो प्रविधि पत्ता लगाउने श्रेय फेसबूक इन्कमा कार्यरत डेभलपर टम वाडिङटनलाई दिइएको छ । फेसबूक चलाइरहँदा उनले एक पेजमा रहेको ‘लाइक’ स्रोतभित्र ‘सामाजिक वाइफाई’ नामक यो नयाँ प्रविधि राख्नसकिने पत्ता लगाएका थिए । तर, यो राउटर प्रयोग गरेर फेसबूक चलाउनेहरुले आफ्नो पेजमा ‘लाइक’ गरेनगरेकोबारे भने यो प्रविधि राख्न अनुमति दिनेहरुले थाहा पाउन भने सक्ने बताइएको छ । यसका साथै निःशुल्क राउटरको प्रयोग नगरी पासवर्डमा आधारित प्रविधिबाट फेसबूक चलाउन चाहनेहरुले त्यसो गर्न पाउने पनि डिस्कभरी न्यूजले बताएको छ ।