ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको पर्यटनमा नयाँ ‘प्रडक्ट’ : ‘मुन्धुम पदमार्ग’ पहिचान

Jan 29, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । विश्वमै राम्रा पदमार्ग भएको मुलुकका रूपमा परिचित नेपालमा अर्को महत्त्वपूर्ण पर्यटकीय प्रडक्टका रूपमा ‘मुन्धुम पदमार्ग’को अवधारणा अघि सारिएको छ । पूर्वी नेपालका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न नयाँ यो पदमार्गको अवधारणा अघि सारिएको हो । नेपाल पर्यटन बोर्डको सहयोग तथा स्थानीय मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको सक्रियतामा विज्ञसहितको टोलीले नयाँ पदमार्गको रेखाङ्कन गरेको हो । नेपालका अन्नपूर्ण, मनास्लु, धवलागिरिजस्ता पदमार्गमा गाडी पुगेपछि ती मार्गप्रति पदयात्रीको रुचि कम हुँदै गएकाले नयाँ पदमार्गको खोजी थालिएको हो । सोही क्रममा रेखाङ्कन गरिएको यो मार्ग नेपालको पर्यटन बजारमा ‘नयाँ उत्पादन’ भएको आइतवार यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताए । यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट शुरू भई धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटे, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । गएकै बाटो भई फर्किंदा ९ दिन लाग्ने यात्रामा सहभागीले जानकारी दिए । पदयात्राबाट फर्कने बेला मैयुङबाट सुन्तले हुँदै भोजपुर बजार पुगिन्छ । पदयात्रा शुरू गरेर अघि बढ्दा चखेवा भञ्ज्याङ, धोत्रे भञ्ज्याङ, सातदोबाटे, रावाधामप, साल्पा भञ्ज्याङमा वास बस्न सकिने उनीहरूले जानकारी दिए । त्यस्तै फर्कने बेला ह्याकुले, मैयुङ डाँडा र भोजपुर बजारमा वास बस्न सकिने मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए । पदमार्गका चखेवा भञ्ज्याङ, धोत्रे र साल्पा भञ्ज्याङमा मात्र सामान्य खान बस्ने सुविधा भएकाले हालका लागि यो क्षेत्रमा क्याम्पिङ टे«क गर्नुपर्ने राईले बताए । पदमार्गबाट किराँती जीवनशैली, दूधकुण्ड (नुम्बुर)देखि सगरमाथासहित ८ हजार मिटरभन्दा माथिका मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायत सातओटा हिमाल देख्न सकिन्छ । पदमार्गको सिलिचुङ (४,१५३ मिटर) बाट यी हिमालको नजीकैबाट दृश्यावलोकन गर्न सकिन्छ । साल्पा भञ्ज्याङबाट ४ घण्टा उकालो चढे सिलिचुङ पुगिन्छ । पदमार्गमा दिनको सामान्यतः ६ देखि ८ घण्टा हिँड्नुपर्ने अभियन्ताहरूले जानकारी दिए । यो क्षेत्रमा किराँत बस्ती रहेको तथा किराँतीको वेद मुन्धुममा किराँती जीवनशैली र संस्कारको वर्णन पाइने भएकाले यो पदमार्गको नाम ‘मुन्धुम पदमार्ग’ राखिएको र यसलाई मुन्धुम पदमार्गका रूपमा ब्राण्डिङ गर्ने अध्यक्ष राईले बताए । यो पदमार्गलाई थोरै व्यवस्थित गर्न सके नेपालको मात्रै नभएर विश्वकै एक उत्कृष्ट पदमार्गका रूपमा परिचित हुनसक्ने सम्भावना रहेको संस्थाका सल्लाहकार पासाङ दोर्जे शेर्पाले बताए । पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले यातायातका दृष्टिले भोजपुरसँग सडक सञ्जाल र हवाई मैदान दुवै भएको तथा नयाँ र छोटो गन्तव्य भएकाले यसले नेपालको पर्यटन बजारमा नयाँ आयाम थपिने बताए । यसकोे प्रारम्भिक अध्ययनका लागि बोर्डले १ लाख रुपैयाँ सहयोग गरेको बताउँदै यसको ब्राण्डिङ र बजारीकरणमा बोर्डले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । केन्द्रका उपाध्यक्ष तथा पर्यटन पथप्रदर्शक इन्सु राईले यो क्षेत्रमा धेरै हिउँ नपर्ने र धेरै जाडो पनि नहुने हुँदा सबै मौसममा पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने बताए । पहुँचको हिसाबले भोजपुरको कालेपत्र भइसकेको विमानस्थल तथा दिक्तेल नजीकको मनमाया विमानस्थल तथा काठमाडौं–दिक्तेल भोजपुरतर्फको मध्यपहाडी लोकमार्गमा सार्वजनिक यातयातसमेत सञ्चालनमा आइसकेकाले र आगामी ४ वर्षभित्र यो राजमार्ग कालोपत्र भइसक्ने भएको हुँदा पहुँचको दृष्टिकोणले पनि सहज हुँदै जाने सरोकारवालाको धारणा छ । यस्तै यो पदमार्ग भोजपुर, खोटाङ र सोलुखुम्बु तथा सङ्खुवासभा चारओटै जिल्लामा बसोवास गर्ने किराँत राई भाषी समुदायको प्राचीन बसोवास भएको क्षेत्र हुँदै अगाडि बढ्ने भएकाले सांस्कृतिक पक्षबाट पनि उत्कृष्ट पदमार्ग हुने सम्भावना रहेको उनीहरू बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)