अमेरिकाको एक सङ्घीय अदालतले बिरालोलाई ७ लाख १० हजार १ डलर भुक्तानी गर्न एउटा कफी कम्पनीलाई आदेश दिएको छ । सेलिब्रिटी बिरालोको प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी मुद्दाको सुनवाइ गर्ने क्रममा यस्तो फैसला गरिएको हो । लाखौं डलरबराबरको रकम पाउने सो बिरालोको नाम टार्डर सस हो । ६ वर्षीय सो बिरालोको नाममा ‘ग्रम्पी क्याट लिमिटेड’ नामक कम्पनी छ । यसबाहेक कपडा, क्यालेण्डर, सफ्ट टोएजलगायत सामग्री पनि उसको नाममा दर्ता छ ।
सन् २०१३ मा ग्रिनेड बेभरेज र ग्रम्पी क्याट लिमिटेडबीच आइष्ड कफीको प्याकेजिङमा बिरालोको रिसाएको एक्सप्रेशनसहितको फोटो प्रयोग गर्न १ लाख ५० हजार डलरको सम्झौता भएको थियो । कम्पनीसँग ‘ग्रम्पी क्याट ग्रम्पुचिनो’ नामक आइष्ड कफीको मार्केटिङमा मात्रै बिरालोको तस्वीर प्रयोग गर्ने अधिकार थियो । तर, ग्रम्पुचिनो रोष्टेड कफी र ग्रम्पुचिनो टी–शर्टसमेत बेचेर कम्पनीले सहमति तोड्नुका साथै प्रतिलिपि अधिकार र ट्रेडमार्क दुरुपयोग गरेको भन्दै सन् २०१५ मा ग्रम्पी क्याट लिमिटेडले कफी कम्पनीमाथि मुद्दा हालेको थियो ।
क्यालिफोर्नियाको सङ्घीय अदालतका न्यायाधीशले प्रतिलिपि अधिकार र ट्रेडमार्क दुरुपयोग गरेकोमा ग्रिनेड बेभरेजलाई ७ लाख १० हजार डलर जरीवाना तिर्न आदेश दिएका छन् । सम्झौता उल्लङ्घन गरेको भन्दै अतिरिक्त १ डलर क्षतिपूर्ति पनि तिराइएको छ । सो रकम बिरालोकी मालिक ट्याबथा बुण्ड्सेनले पाउनेछिन् । मुख अमिलो बनाएको एक्सप्रेशनसहितको तस्वीर सन् २०१२ मा सामाजिक सञ्जाल रेडिटमा भाइरल बनेपछि बिरालो एकाएक सेलिब्रिटी बनेको थियो । बिरालो चर्चित हुनुको कारण यसको आँखा हो । बिरालोमा भएको डीएनए डिफेक्टका कारण यसको आँखा सधैं उदास र रिसाएजस्तो देखिन्छ । यो विश्वकै धनी बिरालो भएको बताइन्छ । रासस/एएफपी