मानिसहरुले कुनै कार्यविशेषका लागि कर्जा लिनु अनौठो नभए पनि सम्भवतः उनले बोकिरहेको जस्तो ऋणको विशाल भारी भने सम्भवतः कसैले पनि बोक्न नचाहलान् । उनी एक यस्ता कुख्यात व्यापारी हुन्, जसले फ्रान्सको सोसिटे जेनेराले बैङ्कलाई झण्डै डुबाएका थिए । यूरोन्यूजले बताएअनुसार फ्रान्सका पूर्वआरबिट्रेज ट्रेडर जेरोम केर्भिएल अहिले संसारमा सबैभन्दा बढी ऋण बोकिरहेका व्यक्ति बनेका छन् । उनले सोसिटे जेनेराले बैङ्कलाई ६ अर्ब ३० करोड डलरको ऋण तिर्न बाँकी रहेको यूरोन्यूजले जानकारी दिएको छ ।
बैङ्कले उनलाई आरबिट्रेज ट्रेडरका रुपमा नियुक्त गरेको थियो । तर, आफ्नो दक्षताको दुरुपयोग गर्दै उनले सन् २००७ र ०८ का बीच बैङ्कले स्वीकृति नदिएका ७३ अर्ब डलरका डेरिभेटिभ ट्रेडिङहरु गर्न पुगेका थिए । केर्भिएल जटिल कम्प्युटर प्रणाली चलाउँदै ह्याकिङ र झुक्याउने ट्रेडिङ गर्न पनि खप्पीस थिए । कम्प्युटर प्रविधिको आफ्नो ज्ञानलाई प्रयोग गर्दै उनले सोसिटे जेनेराले बैङ्कलाई झुक्याउँदै १ वर्षसम्म यी ट्रेडिङहरु गरे । यसले गर्दा बैङ्कका ती सम्पत्तिहरुको मूल्य ह्वात्तै घट्न पुगेका थिए ।
सन् २००८ को शुरुतिर केर्भिएलका धोकाधडीको खुलासा भएपछि भने उनी कानूनी फन्दामा परेका थिए । सोसिटे जेनेराले बैङ्कले उनलाई ३१ वर्ष लामो कैदसजाय माग गरे पनि फ्रेञ्च अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो । यसअनुसार उनी सन् २०१५ मा रिहा हुनेछन् । यूरोन्यूजले अनुमान गरेअनुसार यदि बैङ्कलाई तिर्न बाँकी उक्त ऋण सम्पत्ति भएको भए केर्भिएल अहिले विश्वका धनाढ्यहरुको सूचीमा हुन सक्थे । उनले तिर्नुपर्ने ऋणबारे भने अहिलेसम्म कुनै पनि छिनोफानो हुन सकेको छैन । विश्लेषकहरु सामान्य आय भएको एक जना व्यक्तिले ६ अर्ब ३० करोड डलरका ऋण तिर्नै नसक्ने बताउँछन् । ‘उनले यो ऋण त तिर्न सक्दैनन्, तर केर्किएल र बैङ्कबीच उनले आफ्नो बाँकी जीवनमा गर्ने आम्दानीका सबै हिस्सा एक कोषमा जम्मा गर्ने सम्झौता हुन सक्छ, यो कसैलाई दिइने आजीवन र थप १ सय वर्षको कैदको बराबरी हुने वित्तीय सजाय हो,’ सान डिएगो विश्वविद्यालयका कानून प्राध्यापक फ्रान्क पाट्रोनिले भने ।