ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१९ वाणिज्य बैङ्कले पुर्‍याए चुक्तापूँजी

Jan 31, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले अप्रत्यक्ष रुपमा थपेको ६ महीने अवधि सकिँदा १९ वाणिज्य बैङ्कले मात्र तोकेअनुसार चुक्तापूँजी पुर्‍याएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २८ वाणिज्य बैङ्कमध्ये उल्लिखित सङ्ख्याका बैङ्कको मात्र चुक्तापूँजी पुगेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई गत असार मसान्तसम्म रू. ८ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको थियो । सो समयमा ग्लोबल आईएमई, नेपाल बैङ्क, कृषि विकास बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्कले मात्र तोकेअनुसार चुक्तापूँजी पुर्‍याएका थिए । चालू आवको पहिलो त्रैमाससम्म थप ९ बैङ्कले चुक्तापूँजी पुर्‍याएका थिए । दोस्रो त्रैमाससम्म आइपुग्दा तोकिएको चुक्तापूँजी पुर्‍याउने सूचीमा ६ ओटा बैङ्क थपिएका छन् । योसँगै ८ अर्ब चुक्तापूँजी पुर्‍याउने वाणिज्य बैङ्कको सङ्ख्या १९ पुगेको हो । पूँजी बढाउन बैङ्कहरूले बोनस शेयर, हकप्रद शेयर र मर्जरको बाटो रोजेका छन् । यीबाहेक अन्य नौ बैङ्कको पूँजी अझै पुगेको छैन । ती बैङ्कले पनि हकप्रद र बोनस शेयरका माध्यमबाट पूँजी वृद्धिको बाटो रोजेका छन् । पूँजी वृद्धिका लागि कुमारी बैङ्कले १० बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि सेबोनमा पुस २६ गते निवेदन दिएको छ । बोर्डको स्वीकृति पाएसँगै बैङ्कले १ करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । सो हकप्रद शेयर निष्कासनपछि उक्त बैङ्कको चुक्तापूँजी रू. ७ अर्ब १६ करोड ३३ लाख पुग्नेछ ।

एनसीसी बैङ्कले पनि पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर निष्कासनका लागि सेबोनमा मङ्सिर २० गते निवेदन दिएको छ । सो हकप्रद शेयर निष्कासनपछि बैङ्कको पूँजी रू. ७ अर्ब १ करोड ८५ लाख पुग्ने छ । प्रभु बैङ्कले १० बराबर ४ अनुपातमा हकप्रद शेयर माघ ७ गते नै निष्कासन गरिसकेको छ । सो हकप्रद बाँडफाँटपछि बैङ्कको पूँजी रू. ७ अर्ब २१ करोड ६० लाख पुग्नेछ । सिद्धार्थ बैङ्कले पनि पूँजी वृद्धिका लागि १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनसपछि सिद्धार्थको चुक्तापूँजी रू. ८ अर्ब ४ करोड पुग्नेछ । मेगा बैङ्कले पनि पूँजी वृद्धिका लागि ९ दशमलव ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनस शेयर वितरणपछि बैङ्कको पूँजी रू. ८ अर्ब ७ करोड पुग्नेछ । पूँजी नपुर्‍याएका एनएमबी, बैङ्क अफ काठमाण्डू, सिभिल बैङ्क र सेञ्चुरी कमर्शियलले भने हालसम्म कुनै योजना सार्वजनिक गरेका छैनन् । हाल एनएमबीको रू. ६ अर्ब ४६ करोड, बैङ्क अफ काठमाण्डूको रू. ६ अर्ब २४ करोड, सिभिल बैङ्कको रू. ५ अर्ब १८ करोड र सेञ्चुरी कमर्शियल बैङ्कको रू. ७ अर्ब ६७ करोड चुक्तापूँजी रहेको छ । राष्ट्र बैङ्कले तोकेको समयावधिमा वाणिज्य बैङ्कहरूलाई चुक्तापूँजी पुर्‍याउन गाह्रो भएपछि मौद्रिक नीतिमार्फत ६ महीना समय थप गरिएको थियो । राष्ट्र बैङ्कले गत आवको बाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्म चुक्तापूँजी पुगेको बेहोरा वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा उल्लेख हुनुपर्ने व्यवस्था गरेको थियो । थप अवधिमा पनि तोकिएको चुक्तापूँजी नपुगेमा विद्यमान व्यवस्थाअनुरूप नगद लाभांश र बोनस शेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजानेलगायत कारबाहीको व्यवस्थालाई समेत राष्ट्र बैङ्कले मौद्रिक नीतिमा समेटेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)