माघ १७, काठमाडौं । भर्खरै नेपालमा लिइएको विद्यालयस्तरीय परीक्षाका क्रममा प्राथमिक र निम्नमाध्यामिक विद्यायलका विद्यार्थीलाई सोधिएको प्रश्न स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई पनि उत्तर दिन मुश्किल पर्ने खालका थिए । यस्तै मुश्किल प्रश्नहरुको सामना चीनका विद्यार्थीले पनि गर्नु परेको छ ।
चीनको एक प्राथमिक विद्यालयमा लिइएको परिक्षामा सोधिएको प्रश्न समाधान गर्न नसकिएका कारण विद्यार्थी मात्र नभई सामाजिक सञ्जाल प्रयोगकर्ता पनि अलमल्लमा परेका छन् । चीनको सुनछिङ जिल्लामा रहेको प्राथमिक विद्यालयमा पाँचौं कक्षाका विद्यार्थीलाई ‘यदि एउटा पानी जहाजमा २६ ओटा भेडा र १० ओटा बाख्रा छन् भने त्यो पानी जहाजका क्याप्टेनको उमेर कति हो ?’ भन्ने प्रश्न सोधिएको थियो । यो प्रश्न करीब ११ वर्ष उमेरका बच्चाहरुप्रति लक्षित थियो (पाँच कक्षा पढ्ने बच्चाको औसत उमेर त्यति नै हो) । यो प्रश्नको चित्र र जवाफ दिने विद्यार्थीहरुको साहसी प्रयासले चिनियाँ सामाजिक सञ्जालमा राम्रै स्थान पाएको थियो ।
सामाजिक सञ्जालमा यो छलफलको विषय बनेको थियो र छिट्टै नै भाइरल बन्न पुग्यो । यस प्रश्नलाई सुनेर शिक्षा अधिकारीहरुले यो प्रश्न गलत नभएको बताएका थिए । तर, यसको उद्देश्य ‘गम्भिर चेतना’ माथि प्रकाश पार्नु थियो । ‘पानीजहाज चलाउनका लागि वयस्क हुन जरुरी भएका कारण क्याप्टेन कम्तिमा पनि १८ वर्षको हुनुपर्छ’ एक विद्यार्थीले जवाफमा लेखेका थिए । त्यस्तै जहाजमा रहेको भेडा र बाख्राको सङ्ख्या जोड्दा ३६ आउने भएकाले क्याप्टेनको उमेर ३६ रहेको अर्को विद्यार्थीको अनुमान थियो । एक जना विद्यार्थीले भने क्याप्टेनको उमेर आफूलाई थाहा नभएको र आफूले यस प्रश्नको उत्तर दिन नसक्ने बताएका थिए । उता अनलाइनमा भने यस प्रश्न सोध्नेमाथि कमेण्टरहरु खनिएका थिए । एकजनाले त यो प्रश्नको कुनै तर्क नभएको र यो प्रश्नको उत्तर शिक्षकलाई समेत थाहा नहुने बताउन भ्याए ।
अर्कोले उडाउँदै प्रश्न सोधे ‘यदि एउटा विद्यालयमा २६ जना शिक्षक छन् र ती मध्ये १० जनाले केही पनि सोचिरहेका छैनन् भने त्यस विद्यालयको प्रिन्सीपलको उमेर कति हो ?’ केहीले भने यो सबैको उद्देश्य विद्यार्थीहरुको सोचको विकास गर्नु रहेको बताएका छन् । त्यस्तै अर्का थरिले भने यो प्रश्नले विद्यार्थीहरुलाई सृजनात्मक हुन सहयोग गर्ने र यस्ता किसिमका प्रश्नहरु थप सोधिनु पर्ने तर्क राखेका छन् । यस्तो परीक्षाले विद्यार्थीको चेतना र व्यक्तिगत सोचको क्षमता जाँच गर्न सहयोग गरेको पनि केहीको भनाइ छ ।
चीनको प्राथमिक विद्यालयका विद्यार्थीहरुमा हिसाबलाई लिएर चेतना नभएको केही सर्वेक्षणले देखाएको बताइएको छ । चीनको पारम्परिक शिक्षा प्रणालीले नोट बनाउने र त्यसैलाई दोहो¥याउने कुरामा बढी महत्व दिने गरेको छ । यस्तो किसिमको पढाइले विद्यार्थीको सृजनाशील सोचलाई मार्न सक्ने आलोचकहरु बताउँछन् । तर, माथि सोधिएको जस्तो प्रश्नले भने विद्यार्थीलाई चुनौतीको सामना गर्न र आफ्नो सोचको दायरा फराकिलो बनाउन सहयोग गर्ने बताइएको छ ।
एक जनाले भने उक्त प्रश्नको उत्तर दिएका छन् । हरेक पशुको औसत तौलका हिसाबले २६ ओटा भेडा र १० अोटा बाख्राको कुल तौल ७ हजार ७ सय किलो हुन जान्छ । चीनमा ५ हजार किलो भन्दा बढी कार्गो बोक्ने पानीजहाज चलाउनका लागि पाँच वर्षे बोट लाइसेन्स हुन जरुरी छ । यो लाइसेन्स लिने न्यूनतम उमेर २३ हो त्यसैकारण क्याप्टेनको उमेर २८ वर्षको हुन सक्ने एक कमेण्टेटरले चिनियाँ सामाजिक सञ्जाल विवोमा लेखेका छन् । एजेन्सी