चीनको एक प्राथमिक विद्यालयमा लिइएको परीक्षामा सोधिएको समाधान गर्नै नसकिने प्रश्नका कारण विद्यार्थी मात्र नभई सामाजिक सञ्चार माध्यम पनि अलमलमा परेका छन् । चीनको सुनचिङ जिल्लामा रहेको प्राथमिक विद्यालयमा पाँचौं कक्षाका विद्यार्थीलाई ‘यदि एउटा पानीजहाजमा २६ ओटा भेडा र १० ओटा बाख्रा छन् भने त्यो पानीजहाजका क्याप्टेनको उमेर कति हो ?’ भन्ने प्रश्न सोधिएको थियो । यो प्रश्न करीब ११ वर्ष उमेरका बच्चाहरूप्रति लक्षित थियो (पाँच कक्षा पढ्ने बालबालिकाको औसत उमेर ११ वर्ष हो) । यो प्रश्नको चित्र र जवाफ दिने विद्यार्थीहरूको साहसी प्रयासले चिनियाँ सामाजिक सञ्जालमा राम्रै स्थान पाएको थियो । सामाजिक सञ्जालमा यो छलफलको विषय बनेको थियो र छिट्टै भाइरल बन्न पुग्यो ।
यस प्रश्नलाई सुनेर शिक्षा अधिकारीहरूले यो प्रश्न गलत नभएको, तर यसको उद्देश्य ‘गम्भीर चेतना’माथि प्रकाश पार्नु रहेको बताएका थिए । ‘पानीजहाज चलाउन वयस्क हुनुपर्ने भएकाले क्याप्टेन कम्तीमा पनि १८ वर्षको हुनुपर्छ’ एक विद्यार्थीले जवाफमा लेखेका थिए । त्यस्तै, जहाजमा रहेको भेडा र बाख्राको सङ्ख्या जोड्दा ३६ आउने भएकाले क्याप्टेनको उमेर ३६ रहेको अर्को विद्यार्थीको अनुमान थियो । एक जना विद्यार्थीले भने क्याप्टेनको उमेर आफूलाई थाहा नभएको र आफूले यस प्रश्नको उत्तर दिन नसक्ने बताएका थिए । उता अनलाइनमा भने यस प्रश्न सोध्नेमाथि कमेण्टेटरहरू खनिएका थिए । एकजनाले त यो प्रश्नको कुनै तर्क नभएको र यो प्रश्नको उत्तर शिक्षकलाई समेत थाहा नहुने बताउन भ्याए ।
अर्काले उडाउँदै प्रश्न सोधे ‘यदि एउटा विद्यालयमा २६ जना शिक्षक छन् र तीमध्ये १० जनाले केही पनि सोचिरहेका छैनन् भने त्यस विद्यालयको प्रिन्सिपलको उमेर कति हो ?’ केहीले भने यो सबैको उद्देश्य विद्यार्थीहरूको सोचको विकास गर्नु रहेको बताएका छन् । त्यस्तै, अर्का थरिले भने यो प्रश्नले विद्यार्थीहरूलाई सृजनात्मक हुन सहयोग गर्ने र यस्ता किसिमका प्रश्नहरू थप सोधिनुपर्ने तर्क राखेका छन् । यस्तो परीक्षाले विद्यार्थीको चेतना र व्यक्तिगत सोचको क्षमता जाँच गर्न सहयोग गर्ने पनि केहीको भनाइ छ ।
चीनको प्राथमिक विद्यालयका विद्यार्थीहरूमा हिसाबलाई लिएर चेतना नभएको केही सर्वेक्षणले देखाएको बताइएको छ । चीनको पारम्परिक शिक्षा प्रणालीले नोट बनाउने र त्यसैलाई दोहोर्याउने कुरामा बढी महत्त्व दिने गरेको छ । यस्तो किसिमको पढाइले विद्यार्थीको सृजनशील सोचलाई मार्न सक्ने आलोचकहरू बताउँछन् । तर, माथि सोधिएको जस्तो प्रश्नले भने विद्यार्थीलाई चुनौतीको सामना गर्न र आफ्नो सोचको दायरा फराकिलो बनाउन सहयोग गर्ने बताइएको छ ।
तर, कसैकसैसँग भने हरेक प्रश्नको उत्तर हुन्छ । एकजना यस्तै व्यक्तिले यो प्रश्नको उत्तर सुझाएका छन् । हरेक पशुको औसत तौलका हिसाबले २६ ओटा भेडा र १० ओटा बाख्राको कुल तौल ७ हजार ७ सय किलो हुन जान्छ । चीनमा ५ हजार किलोभन्दा बढी कार्गो बोक्ने पानीजहाज चलाउन ५ वर्षे बोट लाइसेन्स हुन जरुरी छ । यो लाइसेन्स लिने न्यूनतम उमेर २३ हो त्यसैकारण क्याप्टेनको उमेर २८ वर्षको हुन सक्ने एक कमेण्टेटरले चिनियाँ सामाजिक सञ्जाल विवोमा लेखेका छन् । एजेन्सी