ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भट्टेडाँडाको ‘इनरुट राडार’ आजदेखि सञ्चालन

Feb 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । ललितपुरको भट्टेडाँडामा जडान गरिएको रेडियो डिटेक्शन एण्ड रेञ्जिङ (राडार) आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल नागरिक उड्डयन प्राधिकरणको १ अर्ब रुपैयाँको संयुक्त लगानीमा यो राडार निर्माण गरिएको हो । भट्टेडाँडामा जडान गरिएको ‘इनरुट राडार’ र विमानस्थलमा जडान गरिएको ‘टर्मिनल राडार’ले नेपालको कुल भूभागको करीब ७५ प्रतिशत क्षेत्र समेट्नुका साथै नेपाली हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणले जानकारी दिएको छ । राडारले रेडियो तरङ्गमार्फत विमानको अवस्थिति, उचाइ, गतिजस्ता जानकारी दिन मद्दत गर्छ । देशका धेरै भूभागलाई समेट्ने गरी नयाँ राडार जडान गरेपछि देशभरिको उडान थप सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । उनका अनुसार नयाँ राडारको सञ्चालनपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र विमानस्थलमा हुने सबै अवतरणको अवस्था थाहा पाउन सहज हुनेछ । इनरुट राडार रहेको भट्टेडाँडाको उचाइ ८ हजार २ सय फिट (२ हजार ३ सय मिटर) रहेको छ । केही महीना अघिदेखि नै अनौपचारिक रूपमा सञ्चालनमा आएका यी दुवै राडारको संयुक्त राज्य अमेरिकाको फेडरल एभिएशन एडमिनिष्ट्रेशनबाट आएको जहाजले गत नोभेम्बर १६ र १८ मा फ्लाइट क्यालिब्रेशन गरी जाँच गरेको थियो । ‘इनरुट राडार’बाट नेपालको पूर्वका सबै भूभाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइलगायत जानकारी पाउन सकिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘पुरानो राडारमार्फत करीब १ सय १० किलोमिटर (६० नटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडित नयाँ राडारबाट ४ सय ५० किलोमिटर (२ सय ५० नटिकल माइल)सम्मको जहाजको सम्पूर्ण अवस्था थाहा पाउन सकिन्छ ।’ नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजहरूबीचको दूरी घट्न जाने छ । अहिले यस्तो दूरी २० देखि २८ किलोमिटर रहँदै आएकोमा अब ५ देखि ९ किलोमिटरको अन्तरमा विमानहरूले उडान र अवतरण गर्न सक्नेछन् । हाल राडारमार्फत उडान अनुगमन सीमित भएकाले नेपाली आकाशभित्र उडिरहेका विमानको अवस्थिति थाहा पाउन कठिन हुने गरेको प्राधिकरणका अधिकारीको भनाइ छ । सन् १९९७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो हुँदै गएको र स्पेयरपार्टस् पनि नपाइएको अवस्था भएकाले नयाँ राडार जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ । राडार औपचारिक सञ्चालनमा आउनुपूर्व केही दिनअघि नेपालस्थित जापानी दूतावासका उच्च अधिकारी तथा प्राधिकरणका अधिकारीले भट्टेडाँडास्थित राडारको निरीक्षणसमेत गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)