ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वविद्यालयको पाठ्यक्रममा बीमा : अध्ययनका लागि उपसमिति

Feb 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बीमा समितिले ९ कक्षादेखि स्नातकोत्तरसम्मको पाठ्यक्रममा बीमा विषयलाई समेट्न गृहकार्य थालेको छ । बीमाको उपयोगितासम्बन्धी प्रचारप्रसार र जनचेतना अभिवृद्धिका लागि विभिन्न तहको पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्न गृहकार्य थालिएको हो । त्यसका लागि आवश्यक अध्ययन गर्न प्राथमिक चरणमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ । समितिका चार सदस्यमा त्रिभुवन विश्वविद्यालय (त्रिवि), व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्मा, त्रिवि केन्द्रीय नेपाली विभागका प्राडा रमेशप्रसाद भट्टराई, पाठ्यक्रम विकास केन्द्रकी उपनिर्देशक रेणुका पाण्डे र बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की रहेका छन् । उपसमितिले बीमा समितिमा भएका विज्ञसमूहको नामावलीमा रहेका १७ जनाबाट रायसुझाव लिएर प्रतिवेदन तयार पार्ने समितिका निमित्त कार्यकारी निर्देशक कार्कीले बताए । उपसमितिले बीमा विषयले समेट्ने क्षेत्रहरूका बारेमा अध्ययन गर्ने बताइएको छ । बीमा विषय उच्चमाध्यमिक तहको पाठ्यक्रममा नसमेटिए पनि व्यवस्थापन सङ्कायअन्तर्गतको स्नातक र स्नातकोत्तर तहमा भने सामान्य रूपमा पढाइ हुने गरेको छ । अधिकांश विश्वविद्यालयका व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहमा बैङ्किङ तथा बीमालाई विशेषीकृत गरी ‘बीबीए–बीआई’ नामक कार्यक्रम सञ्चालनमा छ । उपसमितिले प्रारम्भिक चरणमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायमा बीमासम्बन्धी विषयलाई समयसापेक्ष र नेपालको परिवेशअनुरूप बनाउन सुझाव दिने छ । त्यसका लागि समितिले सरोकारवालासँग छलफल गरेर आवश्यक परिमार्जनसहित कार्यान्वयनका लागि विश्वविद्यालयलाई अनुरोध गर्ने छ । प्रारम्भिक चरणमा व्यवस्थापन सङ्कायको स्नातक तहका बीबीएस, बीबीए र बीबीएम तथा स्नातकोत्तर तहका एमबीए, एमबीएम र एमबीएसको पाठ्यक्रमलाई परिमार्जन गरिने बुझिएको छ । हाललाई काठमाडौं, पूर्वाञ्चल र पोखरालगायत विश्वविद्यालयका व्यवस्थापन सङ्कायमा सो पाठ्यक्रम समावेश गर्ने/नगर्ने भन्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग छलफल भने भएको छैन । तर, ती विश्वविद्यालयले चाहेमा भने उक्त पाठ्यक्रम लागू गर्न सकिनेछ । कार्कीले भने, ‘हाल त्रिविको व्यवस्थापन सङ्कायका स्नातक तथा स्नातकोत्तरमा विदेशी अवधारणाअनुसार बीमा विषय समेटिएको छ । अब भने नेपालकै सन्दर्भअनुसार राख्न उक्त सङ्कायको डीन कार्यालयले विशेष चासो देखाएको छ ।’ उक्त विषयको अध्ययनपछि बीमाक्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन हुन सकोस् भनेर पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि उनको भनाइ छ । उनका अनुसार कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा भने बीमासम्बद्ध कथाका माध्यमबाट यस विषयलाई समेट्ने छलफल भइरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)