अस्ताउन आँटेको सरकारले कमसेकम एक/दुई राम्रा काम त पक्कै गरेको छ । त्यसमध्ये प्रमुख काम हो ६५ वर्षका युवावृद्धहरूलाई पनि भत्ता दिने निर्णय । काम गर्ने थप समय पाएमा सरकारले अब नाबालिग भत्ता, विवाह भत्ता, बेरोजगार भत्ता पनि पक्कै शुरू गर्ला ।
सरकारले गरेको अर्को राम्रो काम भूकम्पपीडितलाई थप १ लाख रुपैयाँ दिने निर्णय पनि हो । त्यसबाहेक करोडौं रुपैयाँ आसचपु त बाँडिएकै छ । यो किस्ताकिस्तामा बाँड्नुभन्दा बाँकी भएजति विकास बजेट सबै जनतालाई दामासाहीले बाँडिदिएको भए टण्टै साफ हुन्थ्यो नि !
हुन पनि सरकार छाड्ने बेलामा ढुकुटीमा पैसा छाडेर जान पनि मिलेन । एक त पछि आउने मन्त्रीहरू कस्ता पर्छन् कस्ता । सद्दे पर्छन् कि छट्टु पर्छन्, के थाहा ? त्यसमाथि ढुकुटी रित्तै पार्दिएपछि नयाँ आउने सरकारले कसरी बाँड्छ भूकम्पपीडित, बाढीपीडित वा श्रीमान्/श्रीमतीपीडित आदि विभिन्न पीडितका नाममा खर्चपानी, भत्ता आदि ? यसको जोहो आफै गर्नुपर्यो नि ! कम्ता बाठा छन् काङ्ग्रेसी नेता परधानमन्त्री देउवा ?
तर सरकारले गरेका राम्रा काम केही सरकारइतर मान्छेलाई चित्त बुझेन क्यारे । उनीहरूले काङ् सरकारले राइफाँडो गर्यो, अरू केही गर्न सकेन, झेल गर्यो, अब मान्छेको उमेरलाई लिएर राजनीति गर्न खोज्यो भनेर खासगरी देउवाको खेदो खन्न थालेका छन् । अरू त अरू प्रम बन्न खुट्टो उचालेर बसेका ओलीले समेत देउवाको दोहोलो काढिरहेका छन् । हुन पनि आफ्नो दलको घोषणापत्रको कार्यक्रम काङ्ग्रेसले चोरेर लागू गरेको कुरा कसरी पच्थ्यो एमालेलाई ? एमालेले गत चुनावको घोषणापत्रमा वृद्धभत्ता अहिलेको रू. २ हजारलाई बढाएर प्रतिव्यक्ति प्रतिमहीना रू. ५ हजार दिने उल्लेख छ । यसरी आफू सरकारमा पुगेर लागू गरौंला भनेको कुरा देउवाले फ्याट्ट घोषणा गरिदिएपछि दुख्दैन त चित्त ? भलै काङ्ग्रेसको भन्दा एक कदम अगाडि हुन ओलीले क्यै न क्यै उपाय त कसो ननिकाल्लान् । पपुलिष्ट काम गर्ने कुरामा काङ्ग्रेसले एमालेलाई यो जुगमा त के भेट्ला र ? सरकार त बनोस् एमालेको नेतृत्वमा, अनि काङ्ग्रेसले पनि देख्नेछ कि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुगेजस्तै कसरी नेपाल अब समाजवाद हुँदै साम्यवादमा र क्रोनी क्यापिटलिजम हुँदै क्यापिटलिजममा पुग्नेछ । आखिर सबै दल मिलेर बनाएको संविधानको लक्ष्य नै साम्यवाद त छँदै छ, त्यसभन्दा अझ अघि नै पुग्ने नि ।
ओलीले आफू ड्राई क्लिनरको भूमिकामा देखिन सक्ने सगौरव घोषणा गरेका छन् । कालो लागेको धनलाई लौण्ड्रीमा राखेर सर्फ र पानीले धोएर सेतो पार्ने जनाउ दिइसकेका छन् । अर्थात् सर्फरूपी कर तिर्नुस्, कालोलाई सेतो पारेर टलक्क टल्काउनुस् ।
शायद काङ्ग्रेसका यस्तै कुरालाई काउण्टर गर्न ओली महोदयले भोलि आफ्नो सरकार आएपछि केके गर्छ भन्ने सङ्केत गरिसकेका छन् । ओलीले आफू ड्राई क्लिनरको भूमिकामा देखिन सक्ने सगौरव घोषणा गरेका छन् । कालो लागेको धनलाई लौण्ड्रीमा राखेर सर्फ र पानीले धोएर सेतो पार्ने जनाउ दिइसकेका छन् । अर्थात् सर्फरूपी कर तिर्नुस्, कालोलाई सेतो पारेर टलक्क टल्काउनुस् । ओलीको विगतलाई हेर्दा उनले यस्ता काम गर्न सक्ने उनको नियत र क्षमतामा प्रश्न गर्ने ठाउँ छैन । हुन पनि बाहिर गएर अशुद्ध भएर आएको भए पनि सुनपानी छर्केर चोख्याउने त हाम्रो नेपाली परम्परा नै हो नि । त्यो त जोगाइराख्नु पर्यो नि ।
ओलीको यो बोलीलाई कतिपयले काला बजारियाहरूको गीतको तालमा छमछम नाच्न लागेको पनि भनेका छन् । तर, खासमा नाच्न पर्यो भने बरु आँगन नै टेढो रहेछ भन्ने ओलीलाई अरू कसैले चाहिँ टेढ्याएको वा मोहनी लाएर एकोहोर्याएको पनि हुन सक्छ है ।
अरूले जेसुकै भनून्, भावी प्रम ओलीले सम्पत्तिलाई शुद्धीकरण गर्ने कुरा अहिल्यै राखेर आफू राजनेता हुने छनक प्रदर्शन गरिसकेका छन् । हुन पनि उनले अन्तरराष्ट्रिय समुदायमा अपराध मानिएको र नेपालले पनि कानून बनाएर प्रतिबद्धता जनाएको सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रावधानअन्तर्गत सम्पत्तिलाई शुद्ध गर्ने कुरा न गरेका हुन् । ओली महोदयले भनेअनुसार गर्न सकियो भने त देशमा विदेशी लगानी त कति हो कति आउँछ ह्वार ह्वार । अन्तरराष्ट्रिय समुदायमा नेपालको छवि सगरमाथाझैं उच्च रहिरहने छ । हुन पनि देशमा छाया अर्थतन्त्रको हिस्सा नै झण्डै दुई तिहाइ पुगिसकेको कुरा विभिन्न अध्ययनले देखाइसकेका छन् । यसको मतलब यति धेरै बहुमतमा छाया अर्थतन्त्र बनिसकेको अवस्थामा अब यो तथाकथित औपचारिक अर्थतन्त्रलाई भन्दा अनौपचारिक अर्थात् छाया अर्थतन्त्रलाई नै अँगाल्नु बुद्धिमानी हुन्छ । त्यै देखेर नै बहुमतको सरकार बनाउने तरखरमा रहेका ओली कमरेडले त्यस्तो दूरदर्शी महान् वाणी व्यक्त गरेको हुनुपर्छ ।
यसै पनि नेपालका राजनीतिक दलहरूमा हावी अहिलेका कतिपय नेता छाया अर्थतन्त्रका छायाँ खेलाडी भएर गरिरहेको योगदानलाई पनि बिर्सन मिल्दैन नि त ।
बरु पछि यो ‘सम्पत्ति शुद्धीकरण’को अर्थको अलमलमा परेका कारण भनेर ओलीले आफ्नो बोली फेरे भने चैं बित्याँस पर्छ है !