वित्तीय पहुँच बढ्दै गर्दा वित्तीय साक्षरतामा भने चुनौती
Feb 2, 2018
 
प्रडक्ट.समाचार.
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामार्फत कुल जनसङ्ख्याको करीब ४० प्रतिशतमा वित्तीय पहुँच पुगेको दाबी गरेको छ । केन्द्रीय बैङ्कले सोही पहुँचको दरलाई वित्तीय साक्षरताको सूचक मानेको छ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको घरपरिवारको सङ्ख्यालाई आधार मानेर गरेको एक अध्ययनले पनि यस तथ्यलाई पुष्टि गरेको छ ।
राष्ट्र बैङ्कको गभर्नर कार्यालय, वित्तीय साक्षरता अभियानमा संलग्न एक अधिकृतका अनुसार बैङ्क तथा वित्तीय संस्थाको पहुँच ४० प्रतिशतमा भए पनि सहकारीहरूले थप २० प्रतिशतमा पहुँच पुर्याएका छन् । तर, उनीहरूको यो तथ्याङ्कलाई भने वित्तीय साक्षरतामा जोड्न नमिल्ने राष्ट्र बैङ्कको भनाई छ । यसरी पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएको छ । तर, अझै बढी जनतालाई वित्तीय रुपमा पूर्ण साक्षर बनाउन चुनौती भएको उनको भनाइ छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता बढाउनुपर्ने खाँचो उनले औंल्याए ।
वित्तीय कारोबार गर्ने विशेषगरी बैङ्क तथा वित्तीय संस्थामा आबद्ध भएका ग्राहकको सङ्ख्यालाई आधार मान्ने हो भने गतवर्षको तुलनामा यस वर्ष बढेको छ । गतवर्षको असोज मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता करीब १७ प्रतिशत बढेको छ । गतवर्ष उक्त खाताको सङ्ख्या रू. १ करोड ७५ लाख १९ हजार २ सय ८७ थियो भने चालू आवमा बढेर रू. २ करोड ५० लाख ७ हजार ६ सय १२ पुगेको छ ।
यसैगरी, बैङ्कबाट कर्जा लिनेको सङ्ख्या १० दशमलव ५३ प्रतिशत बढेको छ । यसबाहेक मोबाइल बैङ्किङ ग्राहक, इण्टरनेट बैङ्किङ ग्राहक र डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरको सङ्ख्या पनि बढ्न थालेको छ । मोबाइल बैङ्किङमा ५५ दशमलव १६ प्रतिशत ग्राहक, इण्टरनेट बैङ्किङमा २५ प्रतिशत ग्राहक र डेबिट कार्ड होल्डरमा १९ दशमलव ५४ प्रतिशत, क्रेडिट कार्ड होल्डरमा ३५ दशमलव ८६ प्रतिशत र प्रिपेड कार्ड होल्डरमा १३ दशमलव ५२ प्रतिशत बढेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय राष्ट्र बैङ्कले बैङ्किङ साक्षरता बढाउन दिएको निर्देशन र बैङ्क तथा वित्तीय संस्थाले विभिन्न माध्यमबाट बेला बेलामा सञ्चालन गरेको विभिन्न अभियानको प्रभावले बैङ्किङ पहुँच बढेको आकलन गरिएको छ । यसैले वित्तीय प्रणालीमा बढेको ग्राहक सङ्ख्यालाई आधार मान्दा वित्तीय साक्षरताको प्रभाव पर्न थालेको तर्क पनि गरिएको छ । यो गति हेर्दा सरकारले लिएको ‘एक व्यक्ति, एक खाता’ अभियान सार्थक र सबैमा बैङ्किङ पहुँच सम्भव हुने देखिएको छ । तर, डेभलपमेण्ट बैङ्कर्स सङ्घका अध्यक्ष तथा मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल भने बैङ्कहरूमा खाता सङ्ख्या बढाएर मात्र वित्तीय साक्षरता नहुने तर्क गर्छन् । बैङ्कले गर्ने कारोबार तथा सबै वित्तीय विषयबारे ज्ञान भएर बैङ्कसँग जोडिनु र परिचित हुनु वित्तीय साक्षरता भएको उनको भनाइ छ । यसैले वित्तीय ज्ञानमा अझै चुनौती भएको उनले बताए ।
नेपालमा वित्तीय साक्षरताका लागि नियामक निकायबाहेक वित्तसँग सरोकार राख्ने सबै सङ्घसंस्थाले यसलाई प्राथमिकतामा राखेका छन् । वित्तीय कारोबार गर्ने सङ्घसंस्थाले वित्तीय साक्षरताका अभियान चलाउँदै आए पनि अझै नेपालका अधिकांश ग्रामीण भेगका सर्वसाधारण यसको पहुँचसम्म पुग्न सकेका छैनन् । यद्यपि, मुलुक सङ्घीय संरचनामा गएसँगै स्थानीय तहमा बैङ्कको शाखा विस्तारमा जोड दिइएको छ । यसले पनि सर्वसाधारणको बैङ्किङबारे भने पहुँच पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
‘एक व्यक्ति, एक खाता’लाई प्राथमिकता दिएर बैङ्किङ बजार अघि बढेको छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी हाल १ सय ४९ ओटा बैङ्क तथा वित्तीय संस्थाको ५ हजार २ सय ६७ शाखा विस्तार भएकाले देशव्यापी वित्तीय पहुँच पुग्न थालेको दाबी गर्छन् । हाल भएको बैङ्क र कुल जनसङ्ख्याकोे अनुपातमा एउटा बैङ्कले ५ हजार ४ सय ७२ जना व्यक्तिलाई सेवा दिन सफल भएको जानकारी उनले दिए । उनका अनुसार सबै बैङ्क तथा वित्तीय संस्थाबाट २१ सय अर्बभन्दा बढी निक्षेप सङ्कलन र १९ सय अर्बभन्दा बढी कर्जा लगानी भएको छ । यो स्थितिले मुलुकको अर्थतन्त्र गतिमान भएको डेपुटी गभर्नर शिवाकोटीको तर्क छ ।
बैङ्कबाहेक पछिल्लो समय नयाँ बीमा कम्पनी थपिने क्रम बढेको छ भने अर्कोतिर बीमा कम्पनीको शाखा विस्तारका साथै बीमासम्बन्धी जनचेतनामा पनि जोड दिइएको छ । हाल कुल जनसङ्ख्याको करीब १२ प्रतिशत मात्र बीमाको पहुँच पुगेको बीमा समितिको तथ्याङ्क छ । समितिले यसलाई बढाएर २५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ ।
यसैगरी, नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई देशव्यापी बनाउन र पहुँच विस्तार गर्न धितोपत्र दलाल (ब्रोकर)को शाखा विस्तार गरेको छ, जसमा ५१ ओटा ब्रोकर र ११ ओटा आरडब्ल्यूएस गरेर ६२ ओटा पुगेका छन् । यसैगरी पूँजी बजारलाई छिटोछरितो र प्रविधियुक्त बनाउन आस्बा प्रणाली अनिवार्य रूपमा लागू भएको छ । यसैगरी, सीडीएस एण्ड क्लीयरिङ हाउसले पूँजी बजारलाई थप सहज बनाउन अर्थात् घरैमा बसेर अनलाइनमार्फत शेयर खरीदविक्री गर्न सेण्ट्रलाइज आस्बा (सी–आस्बा) सफ्टवेयर ल्याएको छ । यसलाई अब १ महीनापछि अनिवार्य रूपमा लागू गर्न धितोपत्र बोर्डले सबै बैङ्कलाई निर्देशन दिएको छ ।
अहिले पनि वित्तीय साक्षरताको अभावमा सामाजमा भइरहेको आर्थिक गतिविधिबारे अधिकांश अनभिज्ञ छन् । उनीहरूलाई वित्तीय पद्धतिको पहुँच पु¥याई तिनको आर्थिक जीवनस्तर उकास्न वित्तीय साक्षरता र आर्थिक पहुँचको कार्यक्रम सञ्चालन गर्न जरुरी भएको औंल्याइएको छ । आम नागरिकले आफ्ना खर्च नियन्त्रण गरी बचत गर्ने, घरमा पैसा नराख्ने, बैङ्क वा वित्तीय संस्थामा बचत सुरक्षित रहनुका साथै ब्याज पनि आउने भएकोले खाता खोलेकाहरूलाई कर्जा दिन केही सजिलो हुने हुँदा यो साक्षरताले वित्तीय पहुँचसँग सम्बन्ध राख्छ । वित्तीय पहुँच बढाउन ग्रामीण र कृषिमुखी कार्यक्रमअन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास जरुरी भएको बताइएको छ ।