प्राधिकरणको ६९ वर्ष : पूर्वाधार विकास र सुरक्षामा जोड
Dec 31, 2018
 
प्रडक्ट.समाचार.
प्रोडक्ट गृह पृष्ठ
काठमाडौं । ‘वर्किङ टुगेदर टु इन्स्योर, नो कन्ट्री लेफ्ट बिहाइन्ड’ अर्थात् ‘कुनै पनि देश पछाडि नपरून् भन्न सहकार्य’ नारासहित अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले ७ डिसेम्बरमा विश्वभर अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवार २०औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा २००६ सालदेखि हवाई सेवा शुरू भएको हो ।
संसारभरका नागरिक उड्डयन विभागहरू नागरिक उड्डयनमा सुरक्षा चासो र व्यवस्थापन तथा जनचेतनाका लागि उक्त दिवस मनाउँछन् । हरेक देशको उड्डयन क्षेत्र सुरक्षित, विश्वसनीय र स्तरीय बनाउन यो दिवसको महŒवपूर्ण भूमिका रहने सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत नेपालको उड्डयन क्षेत्रमा पूर्वाधार विकास र हवाई सुरक्षामा जोड दिँदै आएको छ ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस सन् १९९४ देखि नै आईकाओले मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको रूपमा घोषणा गरेपछि डिसेम्बरमा ७ मा यो दिवस मनाइँदै आएको छ । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको संख्या दोब्बर बढ्ने गरेको पाइन्छ । यो सन्दर्भमा नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा आकर्षित गर्न र उड्डयन क्षेत्रबारे आम मानिसमा चेतना फैलाउन यो दिवस फलदायी हुने उड््डयन अधिकारीको धारणा छ । फ्लाइट राडार २४ डटकमका अनुसार अहिले विश्वव्यापी रूपमा दैनिक १ लाख ७५ हजारदेखि २ लाख ओटासम्म उडान हुने गर्छ । आईकाओको प्रक्षेपण अनुसार अबको १५ वर्षमा हवाई यात्रुको आवागमन दोब्बर हुनेछ । यो अवस्थामा हरेक देशले आफ्नो देशको उड्डयन क्षेत्र थप सुरक्षित बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।
नेपालको अवस्था
सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवा, नियमन लगायत व्यवस्थित अन्तरराष्ट्रिय मापदण्डको हवाई क्षेत्र तथा विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । नेपालमा उड्डयन क्षेत्रको विकासमा क्रमिक सुधार हुँदै गए पनि थप भौतिक पूर्वाधार विकासको आवश्यकता रहेको प्राधिकरणले बताएको छ । बढ्दो एयर ट्राफिकका कारण नेपालले भौतिक पूर्वाधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याउँदै आएका छन् । नेपालमा अहिले हवाई मार्गबाट करीब १० लाख पर्यटक नेपाल आउने गरेका छन् । यसको वार्षिक वृद्धिदर २५ प्रतिशत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । नेपालमा क्रमिक रूपमा उड्डयन क्षेत्रको विकास भइरहेकाले यसको सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको धारणा छ ।
नेपालको भौगोलिक अवस्थाले हवाई दुर्घटनाको सम्भावना रहेको छ । त्यसैले नेपाली आकाश थप सुरक्षित बनाउन उड्डयन क्षेत्रका पछिल्ला प्रविधि आत्मसात् गर्दै अघि बढ्नुपर्ने मन्त्री अधिकारीले औंल्याए । नेपालमा त्रिभुवन विमानस्थलको स्तरोन्नतिका साथै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणले नेपालको उड्डयन क्षेत्र थप विकसित हुने उनको दाबी छ । यस्तै प्रस्तावित निजगढ विमानस्थल निर्माणले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा उनले गरे ।
उड्डयन क्षेत्रमा नयाँ प्रविधिको विकास र विस्तार अत्यन्त दु्रत गतिमा भइरहेकाले यसको सुधार र स्तरोन्नति सधैं आवश्यक हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । प्राधिकरणले आईकाओको मापदण्ड अनुरूप सबै खालका सुधारका काम अघि बढाएको उनको भनाइ छ । नेपालको उड्डयन क्षेत्रको सुधारमा आईकाओले औंल्याएका चासो सम्बोधन गरेपछि आईकाओबाट नेपालले प्रमाणपत्र समेत प्राप्त गरेको उनले जानकारी दिए । सुधार एकपटक गरेर सधैंका लागि नहुने भएकाले यसको निरन्तरता आवश्यक भएको र त्यसका लागि प्राधिकरणले काम गरिरहेको गौतमले बताए । ईयूले नेपाली विमानलाई कालोसूचीबाट नहटाउनु आफैमा आश्चर्य भएको उनले टिप्पणी गरे । ईयूसमेत आईकाओको सदस्य भएको र छाता संस्थाले प्रमाणपत्र प्रदान गर्दा उसले कालोसूचीमा राखिरहनु गलत भएको उनको जिकीर छ ।
नेपालको भौगोलिक अवस्थाले उड्डयन क्षेत्रको सुरक्षामा विशेष ध्यान दिनुपर्ने नेपालमा पहिलो हेलिकोप्टर तथा विमान पाइलट रवीन्द्रप्रसाद प्रधानको धारणा छ । यद्यपि, नेपालको उड्डयन क्षेत्र विदेशीहरूले भने जस्तो ‘जोखिमपूर्ण’ भने नरहेको उनको भनाइ छ । नेपालकै पहिलो हेलिकोप्टर र विमान उडाएका उनले ६० वर्षको इतिहासमा नेपाल वायुसेवा निगमले उडाएका कुनै पनि विमान दुर्घटनामा नपरेको, बरु विदेशी एयरलाइन्सकै विमान दुर्घटनामा परेको भन्दै नेपालको भौगोलिक अवस्थाका बारेमा नेपालले सम्बन्धित ठाउँ र व्यक्तिलाई स्थलगत रूपमा स्पष्ट पार्नुपर्ने बताए । आन्तरिक उडान दुर्घटनालाई आधार बनाएर अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन नहुने र यस विषयमा कूटनीतिक दबाब आवश्यक भएको उनले औंल्याए ।
अहिले नेपालमा हेलिकोप्टर सहित राष्ट्रिय अन्तरराष्ट्रिय गरी दैनिक साढे ४ सयदेखि ५ सयसम्म हवाई उडान तथा अवतरण (मुभमेन्ट) हुने गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अहिले नेपालमा ३ दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनीका जहाज उडान अवतरण हुने गरेका छन् । नेपालको लुक्ला विमानस्थल संसारकै धेरै खतरनाक विमानस्थलको सूचीमा छ । जटिल भौगोलिक बनोट तथा प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै नेपालले थप उड्डयन सुरक्षा र आधुनिक प्रविधि अवलम्बनमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । जटिल भू–बनोट भएका कारणले पनि नेपालमा सडक, रेल, जलमार्ग भन्दा हवाई मार्गको भूमिका महत्त्वपूर्ण देखिएको छ ।
उड्डयन क्षेत्रमा विश्व र नेपाल
विश्वमा सन् १९०३ देखि हवाई सेवा शुरू भएको हो । त्यस हिसाबले हवाई सेवा सञ्चालनमा आएको १ सय वर्ष नाघेको छ । तर नेपालमा हवाई सेवा सञ्चालन भएको भर्खर ६९ वर्ष पुगेको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वभरका पर्यटकमध्ये ५६ प्रतिशतभन्दा बढीले हवाई यात्रा गर्छन् । संस्थाको तथ्यांक अनुसार ३७ प्रतिशतले सडकबाट, ४ प्रतिशतले जलमार्गबाट र २ प्रतिशतले रेलबाट यात्रा गर्छन् । यसबाट पनि विश्वप्यापी रूपमा बढ्दै गएको हवाई यात्रा र यसको सुरक्षा संवेदनशीलतालाई महत्त्व दिनुपर्ने अवस्था छ । अहिले विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोडभन्दा बढी मानिसले यात्रा गर्ने गरेको र यो क्रम संख्या वार्षिक ७ प्रतिशत बढेको संगठनको तथ्यांकमा उल्लेख छ ।
नेपालमा २००६ सालमा बेलायतका एच वेडलर्नले पहिलोपटक चारसीटे विमान गौचरनमा सफलता पूर्वक अवतरण गरेपछि हवाई सेवाको यात्रा आरम्भ भएको हो । त्यसपछि गौचरनमा ड्याकोटाका तीन वायुयान अवतरण गरिएको थियो । २००७ सालमा भारतको पटनाबाट इन्डियन नेशनल एयरवेजले पहिलो वाणिज्य उडान (चार्टर्ड) गरेको थियो । त्यसयता शाही नेपाल वायुसेवा निगमको स्थापना र हवाई उडान ऐन २०१५ लागू गर्ने काम भएको हो ।
२०१४ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभाग गठन गर्ने, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्यता लिने कम भए । २०४९ सालमा पर्यटन मन्त्रालय स्थापना भएपछि भने यस अन्तर्गत हवाई विभाग र पछि नेपाल नागरिक उड्डयन प्राधिकरण समेतलाई शक्तिशाली नियामक निकायको रूपमा विस्तार गरियो ।