काशीराम बजगाईं
काठमाडौं । शनिवार हेमन्त उपाध्याय साथीसँग भेटघाट गरेर राति ९ बजे रत्नपार्क पुगे । उनलाई रातोपुल जानु थियो, तर गाडी नभेटेपछि उनी निराश भए । त्यत्तिकैमा उनको साथीले मोबाइल एपमार्फत मोटरसाइकल बोलाए र उनलाई सहजै त्यहाँ पुग्ने वातावरण बनाए । सार्वजनिक गाडी नभेट्दा पनि सहज यातायात सुविधा पाउँदा उनी खुशी थिए । उनले भने, ‘अब म पनि यो एप डाउनलोड गर्छु, यसको सेवा भरपर्दो रहेछ ।’
पछिल्लो समय काठमाडौं उपत्यकामा दुईपांग्रे सवारीचालक र सेवाग्राहीबीच मोबाइल एपमार्फत सम्पर्क भएर सेवा आदान प्रदान हुने क्रम बढ्दो छ । ‘टुटल’ र ‘पठाओ’ जस्ता राइड शेयरिङ कम्पनी सञ्चालनमा आएसँगै सार्वजनिक यातायातमा दुईपांग्रे सवारीको प्रयोग बढेको हो ।
अनामनगरका कुशल न्यौपाने बढ्दो ट्राफिक जाम, सार्वजनिक यातायातको कष्टकर यात्रा, चर्को ट्याक्सी भाडा लगायत समस्याबाट मुक्त हुन टुटल र पठाओ राम्रो विकल्प भएको बताउँछन् । यही कारण काठमाडौं उपत्यकामा छोटो समयमै यसको लोकप्रियता बढेको उनको बुझाइ छ ।
हाइपरलुप नेपाल प्रालिबाट सञ्चालित टुटल नेपालको पहिलो राइड शेयरिङ एप हो । इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनीयर शिक्षित भट्टले २०७३ पुसदेखि यो एप सञ्चालनमा ल्याएका हुन् । अहिले उनी यसका कार्यकारी निर्देशक समेत हुन् । शुरूमा साझा यातायातको बस ट्र्याकिङका लागि यस्तै प्रकारको एप बनाइएकोमा पछि यसले टुटलको रूप लिएको भट्टले बताए । ललितपुरको जावलाखेलमा कार्यालय रहेको यस कम्पनीको सेवा काठमाडौं उपत्यकामा मात्र छ ।
यस्तै पठाओ पनि मोबाइल एपको माध्यमबाट राइड शेयरिङ सेवा दिने स्टार्टअप कम्पनी हो । नेपालमा यसले २०७५ भदौदेखि औपचारिक रूपमा सेवा शुरू गरेको थियो । बंगलादेशको ढाकास्थित ‘ट्रान्सपोर्टेशन नेटवर्क कम्पनी’ले सन् २०१५ मा यो एप्स प्रयोगमा ल्याएको थियो । छोटो समयमै लोकप्रिय भएपछि यसले नेपालमा पनि सेवा विस्तार गरेको हो । कम्पनीका निर्देशक असिममानसिंह बस्नेतले अमेरिकामा बस्ने केही नेपालीको लगानीमा यसको शुरुआत गरेका हुन् । ‘पठाओ नेपाल प्रालि’बाट सञ्चालित यो सेवा पनि हाल काठमाडौं उपत्यकामा सीमित छ ।
काठमाडौं दरबारमार्ग कार्यालय रहेको पठाओले ‘पठाओ फुड’ वा ‘पठाओ कार’ पनि थप्ने योजना बनाएको छ । पठाओ फुड शुरू गरे ‘फुडमान्डु’ र ‘भोजडिल’ले जस्तै यसले ‘होम डेलिभरी’ सुविधा र पठाओ कार शुरू गरे ‘सारथी’ले जस्तै एपमार्फत ट्याक्सी सेवा दिने कम्पनीले बताएको छ । जनमतका आधारमा यी दुईमध्ये एक सेवा सञ्चालन गरिने शुरू गरिने कम्पनीका निर्देशक बस्नेतले जानकारी दिए ।
काठमाडौं उपत्यकामा यात्रा गर्नेहरूमध्ये दैनिक १५ प्रतिशतभन्दा बढीले यी एपमार्फत सेवा लिने गरेको सम्बन्धित कम्पनीहरूको दाबी छ । उनीहरूका अनुसार अशक्त व्यक्तिहरूले अन्य सार्वजनिक यातायातभन्दा यसको बढी प्रयोग गर्छन् । हाल राइड शेयरिङ पेशामा करीब ४० हजार जना आबद्ध रहेको कम्पनीहरूको तथ्यांक छ । उनीहरूका अनुसार दैनिक १० घण्टासम्म काम गर्ने चालकले मासिक ५० हजारसम्म कमाउँछन् । विद्यार्थी, इन्जिनियर, शिक्षक, वैदेशिक रोजगारबाट फर्किएका र देशमै केही गर्न चाहिरहेका युवा राइड शेयरिङ पेशाप्रति आकर्षित भएको टुटलका कार्यकारी निर्देशक भट्टले बताए ।
यी कम्पनीले लाइसेन्स र बिलबुक भएका इच्छुक व्यक्तिलाई कार्यालयमा अभिमुखीकरण तालीम दिएर चालकमा छनोट गर्ने गरेका छन् । यसरी कम्पनीले छनोट गरेका व्यक्तिसँग एक्लै यात्रा गर्नुपर्ने हुँदा यात्रुका लागि भने सुरक्षाको चुनौती रहेको छ । यद्यपि चालकको लाइसेन्सको प्रतिलिपि राख्ने गरिएको र प्रयोगकर्ताको गुनासोका आधारमा कारबाही गर्ने गरिएको सम्बद्ध कम्पनीहरूले बताएका छन् ।
रातो नम्बरप्लेटबाट भाडामा यात्रु बोक्नु गैरकानूनी भएको भन्दै विवादित भए पनि यी कम्पनीको लोकप्रियता भने बढ्दै गएको छ । कानूनी दायरामा ल्याउने भनिए पनि यो सेवा सञ्चालनका लागि हालसम्म कानून बन्न सकेको छैन । यसलाई व्यवस्थित गर्न कानून निर्माण गरिने सरकारले बताएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल यात्रु बोेक्ने मोटरसाइकल र स्कुटरलाई कालो नम्बरप्लेट दिनुपर्ने बताउँछन् । यद्यपि यसलाई कसरी नियमन गर्ने भन्ने मन्त्रिपरिषद्ले तय गर्ने उनले बताए । तर पठाओका निर्देशक बस्नेत राइड शेयरिङ एपलाई कालो नम्बरप्लेट दिनु गलत भएको धारणा राख्छन् । ‘एपबाट चल्ने दुईपांग्रे यातायातलाई कालो नम्बरप्लेट दिने हो भने ट्याक्सीको विकृति यसमा सर्छ,’ उनले भने, ‘यस्ता सवारीमा पनि बार्गेनिङ हुन थाल्छ ।’