मण्ट्रियल महासन्धि लागू हुँदै : अन्तरराष्ट्रिय हवाई यात्रुको बीमा डेड लाख डलर
Dec 7, 2018
 
प्रोडक्ट गृह पृष्ठ
काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा नेपालीका लागि खुशीको खबर छ । मंसीर २९ गतेदेखि नेपालमा पनि ‘मण्ट्रियल महासन्धि–१९९९’ लागू हुने भएको हो । यो महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय विमान सेवामा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम ७ गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुग्ने भएको छ । हाल यो रकम २० हजार डलर छ ।
व्यवस्थापिका–संसद्ले करीब २ महीनाअघि सर्वसम्मत अनुमोदन गरेपछि नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको छ । महासन्धिमा अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने व्यवस्था छ । संसद्बाट अनुमोदन भएको विवरण अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) मा जानकारी गराइसकिएको र अबको केही दिनमै यो महासन्धि अनुरूप नेपाल पनि अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । उनले नेपाली यात्रुको सुरक्षा तथा बीमाका लागि राम्रो उपलब्धि भएको बताए ।
महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउने नेपालीका परिवारले पनि बीमाबापत १ लाख ५८ हजार ९ सय १० अमेरिकी डलर पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । अहिलेसम्म यसरी ज्यान गुमाउने नेपालीका परिवारले २० हजार डलर मात्र पाउने गरेका थिए । नेपाल अहिले ‘वार्सा महासन्धि–१९२९’ र ‘हेग प्रोटोक–१९५५’को सदस्य राष्ट्र हो । वार्सा महासन्धि अनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था छ ।
मण्ट्रियल महासन्धि कार्यान्वयन हुनासाथ नेपाली विमानसेवा कम्पनी र नेपालमा उडान गर्ने विमान कम्पनी सबैले नेपाली यात्रुको बीमा रकम बढाउनुपर्नेछ । साथै, अन्तरराष्ट्रिय हवाई दुर्घटनामा मृतक, घाइते तथा कार्गोको समेत क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।
हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आइकाओकै सक्रियतामा १९९९ मे २८ मा मण्ट्रियल सन्धि ल्याइएको थियो । सो महासन्धिको विश्वव्यापी कार्यान्वयन भने २००३ नोभेम्बर ४ देखि भएको थियो । मण्ट्रियल महासन्धि अनुमोदन गर्ने नेपाल १ सय ३१औं सदस्य राष्ट्र हो । आइकाओको सदस्य संख्या १ सय ९१ छ ।