ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस :नेपालको आवश्यकता पूर्वाधार विकास

Dec 7, 2018  
प्रोडक्ट गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
‘नो कण्ट्री लेफ्ट विहाइण्ड’ अर्थात् कुनै पनि देश पछाडि नपरून् भन्ने नारासहित शुक्रवार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउँदै छ । आइकाओको आह्वानअनुरूप ७ डिसेम्बरलाई विश्वभर अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको रूपमा मनाउने गरिन्छ । संसारभरका नागरिक उड्डयन विभागहरू नागरिक उड्डयनमा सुरक्षा चासो र व्यवस्थापन तथा जनचेतनाका लागि यो दिवस मनाउने गर्छन् । सन् १९९४ देखि नै आइकाओले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको रूपमा घोषणा गरेपछि यसले राष्ट्रसंघीय मान्यता पाएको हो । हरेक देशले आफ्नो उड्डयन क्षेत्र सुरक्षित, विश्वसनीय र स्तरीय बनाउन यो दिवसको भूमिका रहने सम्बन्धित क्षेत्रका विज्ञहरूको राय छ । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको संख्या दोब्बर बढ्ने गरेको पाइन्छ । यो सन्दर्भमा नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा आकर्षित गर्न र उड्डयन क्षेत्रबारे आममानिसमा चेतना फैलाउन यो दिवस फलदायी हुने उड््डयन अधिकारीको धारणा छ । यो दिन आइकाओले विश्वभर रहेका नागरिक उड्डयन विभागमा विभिन्न छलपफल, अन्तरक्रिया, प्रदर्शनी, सूचना सामग्रीको प्रस्तुतिलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । फ्लाइट राडार २४ डटकमका अनुसार अहिले विश्वव्यापी रूपमा दैनिक १ लाख ७५ हजारदेखि २ लाख ओटासम्म उडान हुने गर्छ । आइकाओको प्रक्षेपणअनुसार अबको १५ वर्षमा हवाई यात्रुको आवागमन दोब्बर हुनेछ । यसले पनि यो दिवसको सान्दर्भिकता बढ्दै गएको र उड्डयन क्षेत्र थप सुरक्षित बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ । साताको अन्तरराष्ट्रिय उडान संख्या संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभरका पर्यटकमध्ये ५६ प्रतिशतभन्दा बढीले हवाइयात्रा (विमानबाट) गर्ने गर्छन् । संस्थाको तथ्यांकअनुसार ३७ प्रतिशतले सडकबाट, ४ प्रतिशतले जलमार्गबाट र २ प्रतिशतले रेलबाट यात्रा गर्छन् । यसबाट पनि विश्वप्यापी रूपमा बढ्दै गएको हवाई यात्रा र यसको सुरक्षा संवेदनशीलतालाई महत्त्व दिनुपर्ने अवस्था छ । अहिले विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोडभन्दा बढी मानिसले यात्रा गर्ने गरेको र यो क्रम संख्या वार्षिक ७ प्रतिशत बढेको संगठनको तथ्यांकमा उल्लेख छ ।

नेपालको अवस्था सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवा, नियमनलगायत व्यवस्थित अन्तरराष्ट्रिय मापदण्डको हवाईक्षेत्र तथा विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । नेपालमा उड्डयन क्षेत्रको विकासमा क्रमिक सुधार हँुदै गए पनि थप भौतिक पूर्वाधार विकासको आवश्यकता रहेको प्राधिकरणले बताएको छ । बढ्दो एयर ट्राफिकका कारण नेपालले भौतिक पूर्वाधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याउँदै आएका छन् । नेपालमा अहिले हवाई मार्गबाट करीब १० लाख पर्यटक नेपाल आउने गरेका छन् । यसको वार्षिक वृद्धिदर २५ प्रतिशत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । नेपालमा क्रमिक रूपमा उड्डयन क्षेत्रको विकास भइरहेकाले यसको सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । नेपालको भौगोलिक अवस्थाले हवाई दुर्घटनाको सम्भावना रहेको छ । त्यसैले, नेपाली आकाश थप सुरक्षित बनाउन उड्डयन क्षेत्रका पछिल्ला प्रविधि आत्मसात् गर्दै अघि बढ्न आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ छ । नेपालमा त्रिभुवन विमानस्थलको स्तरोन्नतिका साथै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल निर्माणले नेपालको उड्डयन क्षेत्र थप विकसित हुने मन्त्री अधिकारीले दाबी गरे । यस्तै, प्रस्तावित निजगढ विमानस्थल निर्माणले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको बुझाइ छ । उड्डयन क्षेत्रमा नयाँ प्रविधिको विकास र विस्तार अत्यन्त दु्रत गतिमा भइरहेकाले यसको सुधार र स्तरोन्नति सधै आवश्यक हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । प्राधिकरणले आइकाओको मापदण्डअनुरूप सबै खालका सुधारका काम अघि बढाएको उनको भनाइ छ । नेपालको उड्डयन क्षेत्रको सुधारमा आइकाओले औंल्याएका चासो सम्बोधन गरेपछि आइकाओबाट नेपालले प्रमाणपत्र समेत प्राप्त गरेको उनले जानकारी दिए । सुधार एकपटक गरेर सधैंका लागि नहुने भएकाले यसको निरन्तरता आवश्यक भएको र त्यसका लागि प्राधिकरणले काम गरिरहेको गौतमले बताए । ईयूले नेपाली विमानलाई कालोसूचीबाट नहटाउनु आफैमा आश्चर्य भएको उनले टिप्पणी गरे । ईयूसमेत आइकाओको सदस्य भएको र छाता संस्थाले प्रमाणपत्र प्रदान गर्दा उसले कालोसूचीमा राखिरहनु गलत भएको उनको जिकीर छ । नेपालको भौगोलिक अवस्थाले उड्डयन क्षेत्रको सुरक्षामा विशेष ध्यान दिनुपर्ने नेपालमा पहिलो हेलिकोप्टर तथा विमान पाइलट रवीन्द्रप्रसाद प्रधान सुझाए । यद्यपि, नेपालको उड्डयन क्षेत्र विदेशीहरूले भने जस्तो ‘जोखीमपूर्ण’ भने नरहेको उनको भनाइ छ । नेपालकै पहिलो हेलिकोप्टर र विमान उडाएका उनले ६० वर्षको इतिहासमा नेपाल वायुसेवा निगमले उडाएका कुनै पनि विमान दुर्घटनामा नपरेको बरु विदेशी एयरलाइन्सकै विमान दुर्घटनामा परेको उदाहरण दिए । आन्तरिक उडान दुर्घटनालाई आधार बनाएर अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन नहुने र यस विषयमा कूटनीतिक दबाब आवश्यक भएको उनले औंल्याए । अहिले नेपालमा हेलिकोप्टर सहित राष्ट्रिय अन्तरराष्ट्रिय गरी दैनिक साढे ४ सयदेखि ५ सयसम्म हवाई उडान तथा अवतरण (मुभमेण्ट) हुने गरेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अहिले नेपालमा ३ दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनीका जहाज उडान अवतरण हुने गरेका छन् । नेपालको लुक्ला विमानस्थल संसारकै धेरै खतरनाक विमानस्थलको सूचीमा छ । जटिल भौगोलिक बनोट तथा प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै नेपालले थप उड्डयन सुरक्षा र आधुनिक प्रविधि अवलम्बन गर्नु आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)