ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्ट्रियल महासन्धि : नेपालका लागि नयाँ उपलब्धि

Dec 31, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाल ‘मन्ट्रियल महासन्धि १९९९’ लागू गर्ने कान्छो मुलुक बनेको छ । नेपालमा यही डिसेम्बर १५ अर्थात् मङ्सिर २९ गतेदेखि यो महासन्धि लागू भएको हो । अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)का सदस्य १ सय ९२ मुलुकमध्ये यो महासन्धि अनुमोदन गर्ने देश १ सय ३५ पुगेका छन् । नेपालमा मन्ट्रियल महासन्धि लागू हुन महत्त्वपूर्ण उपलब्धि मानिएको छ । किनभने यो महासन्धिले अन्तरराष्ट्रिय विमानमा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम ७ गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुगेको छ । मन्ट्रियल महासन्धि खासगरी हवाई यात्रुको पक्षधर महासन्धिको रूपमा तयार भएको र यसबाट नेपाली यात्रु लाभान्वित हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । ‘यसलाई हामीले एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छौं,’ उनले भने, ‘यसबाट नेपाली यात्रुको बीमा रकम अब अन्य विदेशी यात्रुको सरह भएको छ ।’ नेपालको सन्दर्भमा यो महासन्धि डिसेम्बर १५, २०१८ देखि नेपालमा दर्ता भएका अन्तरराष्ट्रिय वायुसेवाको हकमा लागू हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘यो महासन्धिका व्यवस्थाले हवाई यात्राको क्रममा हवाई सेवा वाहकले यात्रुप्रति वहन गर्नुपर्ने दायित्वको बारेमा स्पष्ट पारेको छ,’ उनले भने, ‘साथै अन्तरराष्ट्रिय मान्यता तथा आवश्यकतालाई सम्बोधन गरेको छ ।’ यो महासन्धिको पक्ष राष्ट्र हुनुले अन्तरराष्ट्रिय उड्डयन जगत्मा नेपालको प्रतिष्ठा थप उँचो भएको धारणा उनले राखे । व्यवस्थापिका–संसद्ले करीब ३ महीनाअघि सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको थियो । यो महासन्धि लागू भएसँगै नेपाली हवाई यात्रुले अधिकतम लाभ पाउन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । नेपाली यात्रुको बीमा रकम ७ गुणा बढ्यो महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउने नेपालीका परिवारले पनि बीमा बापत १ लाख ५८ हजार ९ सय १० अमेरिकी डलर पाउनेछन् । अहिलेसम्म यसरी ज्यान गुमाउने नेपालीका परिवारले २० हजार डलरमात्र पाउँदै आएका छन् । नेपाल अहिले ‘वार्सा महासन्धि १९२९’ र ‘हेग प्रोटोकल १९५५’को सदस्य राष्ट्र हो । वार्सा महासन्धि अनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलरमात्र पाउने व्यवस्था छ । मन्ट्रियल महासन्धि कार्यान्वयन हुनासाथ नेपाली विमानसेवा कम्पनी र नेपालमा उडान गर्ने विमान कम्पनी सबैले नेपाली यात्रुको बीमा रकम बढाउनुपर्नेछ । साथै अन्तरराष्ट्रिय हवाई दुर्घटनामा मृतक, घाइते तथा कार्गोको समेत क्षतिपूर्ति दाबी गर्न सकिनेछ । हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आईकाओकै सक्रियतामा १९९९ मे २८ मा मन्ट्रियल सन्धि ल्याइएको थियो । सो महासन्धिको विश्वव्यापी कार्यान्वयन भने २००३ नोभेम्बर ४ देखि भएको थियो । मन्ट्रियल महासन्धि अनुमोदन गर्ने नेपाल १ सय ३१औं सदस्य राष्ट्र हो । आईकाओको सदस्य संख्या १ सय ९२ रहेको छ । आन्तरिक उडानका लागि नयाँ व्यवस्थाको तयारी मन्ट्रियल महासन्धि अन्तरराष्ट्रिय उडानमा मात्र लागू हुने भएकाले नेपालको आन्तरिक उडानका लागि नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता बढेको मन्त्रालयका सहसचिव लामिछानेले बताए । यस विषयमा सरोकारवालासँग छलफल गरी आवश्यक व्यवस्था मिलाइने उनले बताए । मन्ट्रियल अनुसार नै जान सके राम्रो हुने भए तापनि यस विषयमा सरोकारवालासँग छलफल गरी टुंगोमा पुगिने उनको भनाइ छ । आन्तरिक उडानको हकमा अहिले वार्सा महासन्धि अनुसार नै हुनेछ । मन्ट्रियल महासन्धि १९९९ का मुख्य विशेषता
  • यात्रु अधिकतम लाभान्वित हुने
  • यात्रुप्रति वहन गर्नुपर्ने दायित्व र
  • अन्तरराष्ट्रिय मान्यता तथा आवश्यकतालाई सम्बोधन
  • दुई तहको दायित्व निर्धारण गर्ने व्यवस्था स्थापित
  • हवाई सेवा वाहकको असीमित दायित्व
  • ब्यागेज वा कार्गोको हकमा समेत कठोर दायित्वको सिद्धान्त
  • सम्बन्धित यात्रु वा निजको हकवालालाई राहत स्वरूप अग्रिम भुक्तानीको रूपमा केही रकम दिनुपर्ने व्यवस्था
  • महासन्धि संयुक्त राष्ट्रसंघका आधिकारिक ६ भाषामा तयार
  • यात्रु तथा कार्गोको हकमा ई–टिकेटिङलाई आधिकारिक मान्यता
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)