ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक हवाई सेवामा प्रतिस्पर्धा

Dec 31, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौं (अस) । विमान कम्पनी तथा विमानको संख्या बढ्दै जाँदा नेपालमा आन्तरिक हवाई उडान सेवामा प्रतिस्पर्धा बढ्दै गएको छ । सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमसहित निजी विमान कम्पनीले विमान थप्दै विभिन्न रूटमा उडान बढाउँदै लगेपछि आन्तरिक उडानमा प्रतिस्पर्धा बढेको हो । विमान कम्पनीले नयाँ र धेरै संख्यामा यात्रु बोक्न सक्ने विमान थप्ने प्रतिस्पर्धामा देखिएका छन् । बुद्ध र यती एयरले नयाँ एटीआर विमानमार्फत देशका विभिन्न गन्तव्यमा उडान गरिरहेका छन् भने नयाँ विमान कम्पनीका रूपमा आएको श्री एयर तथा सौर्य एयरले जेट विमानमार्फत आफ्नो बजार हिस्सा बढाउँदै लगेका छन् । आन्तरिक हवाई सेवामा प्रतिस्पर्धा र यात्रु संख्या वृद्धिसँगै निजी विमान कम्पनी नयाँ विमान थप्ने योजनामा छन् । बुद्ध एयरले एटीआर ७२ सिट क्षमताका जहाज ल्याउने तयारी गरेको छ । बुद्ध एयरसँग विमान मर्मतका लागि दक्षिण एशियाकै उत्कृष्ट दाबी गरिएको ह्यांगरसमेत छ । सरकारी र निजीक्षेत्रबाट सेवा थप गर्दै जाँदा प्रतिस्पर्धा बढ्दै गएको र सोहीअनुरूप विमान थप्ने रणनीति अघि सार्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । बुद्धले तीनओटा नयाँ विमान थपेर व्यवसाय विस्तारलाई तीव्रता दिन लागेको हो । बुद्ध एयरसँग एटीआर (७२–५००) ६ ओटा, एटीआर (४२–३२०) तीनओटा र बिचक्राफ्ट (१९००डी) दुईओटा गरी ११ ओटा विमान छन् । यस्तै, यती एयरलायन्सले सन् २०१८ भित्रमै चारओटा विमान थप्ने योजना रहेको प्रवक्ता भीमराज राईले जानकारी दिए । नयाँ थपिने जहाजमा एटीआर ७२ दुईओटा र एटीआर ४२ दुईओटा रहने उनले बताए । पछिल्लो समय हवाई यात्रुको संख्या वृद्धि हुँदै गइरहेको सन्दर्भमा नयाँ जहाज थप्ने योजना अघि सारिएको उनले बताए । यती एयरलाइन्ससँग एटीआर तीनओटा र जेटस्ट्रिम ६ ओटा गरी नौओटा जहाज छन् । यस्तै, उसको सहायक कम्पनी तारा एयरसँग ड्रोनियर दुईओटा र ३०० सिरिजका ट्विनअटर दुईओटा र ४०० सिरिजका ट्विनअटर २ गरी ६ ओटा जहाज छन् । यस्तै, निगमले वाई १२ चारओटा, एम ६० दुईओटा र ट्विनअटर तीनओटा गरी नौ विमानबाट आन्तरिक उडानतर्फ सेवा दिइरहेको छ । निगमले आन्तरिक उडानको लागि नयाँ विमान आवश्यक भएको भन्दै विमान किन्ने प्रस्ताव गरेको छ । यस्तै, श्री एयरले बमबार्डियर–२०० दुईओटा र सीआरजे—७०० सिरिजका दुईओटा गरी चारओटा विमानमार्फत सेवा दिइरहेको कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिए । हेलिकोप्टरको संख्या पनि बढ्दै विमानका साथै नेपालमा पछिल्लो समय विभिन्न हेलिकोप्टर कम्पनीहरुले हेलिकोप्टरको सेवालाई बढाउँदै लगेका छन् । सरकारले समेत सबै ठाउँमा विमानको पहुँच नपुगने भएकोले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने योजना अघि सारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र्र अधिकारीको धारणा छ । नेपालको भौगोलिक बनोटको कारण पनि नेपालमा हेलिकोप्टर सेवाको आवश्यकता बढिरहेको हेलिकोप्टर सोसाइटीका अध्यक्ष रामेश्वर थापाको भनाइ छ । अहिले नेपालमा विभिन्न १० ओटा कम्पनीले हेलिकोप्टर सेवा दिइरहेको सोसाइटीका महासचिव योगराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रभु हेलिकोप्टरसँग पाँच, एअर डाइनेस्ट्रिसँग पाँच, समीट एयरसँग तीन, सिम्रिकसँग तीन, हेलि एभरेष्टसँग तीन, श्री एयरसँग तीन, कैलाशसँग दुई, अल्टिच्यूटसँग दुई, माउण्टेनसँग दुई र मनाङ एयरसँग दुई गरी २८ ओटा हेलिकोप्टरले सेवा दिइरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)