ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनीका अनौठा बानी

Feb 5, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । केही दिनअघि मात्रै बहुराष्ट्रिय फर्निचर कम्पनी आइकियाका संस्थापक इङभार काम्प्राडको निधन भयो । काम्प्राड फर्चिनरका लागि मात्रै होइन मितव्ययी जीवनशैलीका लागि पनि प्रसिद्ध छन् । रेडी टु एसेम्बल फर्निचर, किचन एप्लायन्सेज र होम एसेसरिज बेच्ने उनको कम्पनी आइकिया सन् २००८ भन्दा अगाडि विश्वकै ठूलो फर्निचर रिटेलर थियो । ‘सेल्फ मेड’ अर्बपतिको सूचीमा काम्प्राडको नाम अग्रपङ्क्तिमा पर्दछ । मर्ने बेलासम्म उनी विश्वका आठौं धनी व्यक्ति थिए । उनको नेटवर्थ झण्डै ५९ अर्ब डलर थियो । यति धेरै सम्पत्ति भएर पनि काम्प्राड निकै मितव्ययी थिए । फजुल खर्च गर्दै नगर्ने उनी सकेसम्म पैसा बचाउनुपर्छ भन्नेमा जोड दिन्थे । उनले जिन्दगीमा कहिल्यै कसैसँग पैसा मागेर चलाएनन् । सन् १९७० को दशकमा स्वीडेनमा सरकारले उच्च कर लगाएपछि उनले आफ्नो वासस्थान नै स्वीट्जरल्याण्ड सारे । उनको जीवनयात्रा र जीवनशैली निकै रोचक छ । ५ वर्षकै उमेरमा व्यापारी नेपालीमा एउटा उखानै छ, ‘हुने बिरुवाको चिल्लो पात’ । सानो उमेरमै काम्प्राडमा व्यापारीको गुण देखा परिसकेको थियो । ५ वर्षको हुँदा नै काम्प्राडले सस्तोमा एकमुष्ट धेरै किनेर नाफा कमाउन छिमेकका ओल्लोपल्लो घरमा सलाई बेच्न शुरू गरेका थिए । १० वर्ष पुग्दा नपुग्दै उनले साइकल चढेर गाउँभरि क्रिसमसको साजसज्जाका लागि प्रयोग हुने सामग्री, माछा र पेन्सिललगायत वस्तु बेच्न थाले । १७ वर्षकै उमेरमा कम्पनी स्थापना : काम्प्राडलाई डिस्लेक्सिया (अक्षर पढ्न समस्या हुने रोग) थियो । यस्तो अवस्थामा पनि विद्यालयस्तरीय परीक्षामा उनी राम्रो अङ्क ल्याएर उतीर्ण भए । यसबापत काम्प्राडका बाबुले उनलाई नगद पुरस्कार दिएका थिए । बाबुले दिएको सोही नगद पुरस्कारले सन् १९४३ मा काम्प्राडले आइकिया स्थापना गरेका हुन् । पेन्सिल, सलाईलगायत सामग्री बेचेर कम्पनी शुरू गरेका हुन् । त्यसको ५ वर्षपछि फोटो राख्ने फ्रेमजस्ता सामग्रीबाट फर्निचर व्यवसाय शुरू गरिएको थियो । काम्प्राडले व्यवसायको शुरूमा साइकल चलाएर आफैं सामान बेचे । सन् १९५६ मा काम्प्राडले एसेम्बल्ड (ग्राहक आफैंले फर्निचरका टुक्रा जोड्न मिल्ने) फर्निचर बेच्न शुरू गरे । अन्य फर्निचरको तुलनामा यो निकै सस्तो थियो । ग्राहकहरूले यस्ता फर्निचर मन पराउन थालेपछि कम्पनीले अन्य प्रडक्ट छोडेर यस्तै फर्निचरमात्र बेच्न थाल्यो । आइकिया नाम : कम्पनीको नाम आइकिया कसरी रह्यो भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसको अनुमान लगाउन कठिन पनि छ । आफू जन्मेको ठाउँ र गाउँको नाम सम्झन काम्प्राडलाई निकै कठिन थियो । त्यसैले उनले आफ्नो नाम अनि जन्मेको ठाउँ र गाउँको नामका शुरुआती अक्षरहरू मिलाएर कम्पनीको नाम राखेका हुन् । इङभारको आई, काम्प्राडको के, उनी जन्मिएको फार्म एल्मटारिडको ई र नजीकैको गाउँ अगुनारिडको ए मिलाएर आइकिया नाम राखिएको हो । सस्तो कार चलाउँथे झण्डै २ दशकसम्म काम्प्राडले भोल्भो २४० जीएल कार चलाए । त्यति बेला यो कारको मूल्य २२ हजार डलरमात्र थियो । धेरै पुरानो गाडी चलाउनु ज्यानकै लागि खतरनाक हुन्छ भनेर कसैले सम्झाएपछि मात्र उनले सो गाडी चलाउन छोडेका थिए । सन् २०१३ मा स्वीडेनको कर कार्यालयमा दर्ता गरिएको सम्पत्ति विवरणअनुसार काम्प्राड दम्पतीको नाममा २ ओटा मात्रै कार छन् –सन् १९९३ मा किनेको भोल्भो २४० र सन् २००८ मा किनेको स्कोडा कार । सस्तो बजारबाट लुगा किन्थे धेरैजसो धनाढ्यमा आफ्नो सम्पत्ति ‘शो अफ’ गर्ने बानी हुन्छ । तर, धनी भइकन पनि काम्प्राड निकै मितव्ययी/कञ्जुस थिए । आफूले लगाउने कपडा उनी सधैं फुटपाथ, हाट बजार र सेकेण्ड ह्याण्ड बजारमा मात्रै किन्थे । तरकारी र अन्य खानेकुरा पनि हाटबाटै किन्थे । बेलुका पसल बन्द गर्ने बेलामा ‘स्टक क्लियरेन्स’का लागि भनेर पसलेहरूले पनि निकै सस्तो मूल्यमा सामान बेच्छन् । पैसा बचाउन काम्प्राड त्यस्तै समय मिलाएर तरकारी र अन्य खानेकुराहरू किन्थे । कपाल काट्न विदेश, किनकि सस्तो हुन्थ्यो आफ्ना लागि काम्प्राडले निकै कम खर्च छुट्ट्याउँथे । कपाल काट्ने, दाह्रीजुँगा मिलाउने काममा पनि सकेसम्म थोरै पैसा खर्च गर्दथे । नेदरल्याण्ड गएको बेला सन् २००८ मा उनले कपाल काट्न २२ डलर खर्च गरेका थिए । त्यो खर्च आफ्नो सामान्य बजेटभन्दा निकै धेरै भएको उनले स्वीडिश समाचार पत्रिकालाई भनेको भन्दै गार्डियनले एक समाचार नै छापेको थियो । आफूले प्रायः कपाल भियतनामलगायत विकासशील देशमा गएको बेलामा काट्ने गरेको काम्प्राडले बताएका थिए, किनकि त्यहाँ सस्तो पथ्र्यो । ‘इकोनोमी क्लास’मा यात्रा गर्थे धेरैजसो अर्बपतिहरू पहिलो श्रेणीका टिकटमा सुविधासम्पन्न विमानमा यात्रा गर्छन् । कसैकसैको त आफ्नै जेट विमान पनि छ । तर, हरेकपटक काम्प्राड इकोनोमी क्लासबाटै यात्रा गर्दथे । कुनै ठाउँमा गएर बस्नुपर्दा पनि उनी सस्तो होटलमा बस्दथे । यी सबै बानीले उपभोक्तावादप्रति उनको व्यक्तिगत धारणा झल्काउँछ । आफूले मात्रै होइन आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरूले पनि यस्तै मितव्ययी व्यवहार गरून् भन्ने उनी चाहन्थे । त्यसैले सन् १९७६ मा काम्प्राडले ‘द टेष्टामेण्ट अफ अ फर्निचर डिलर’ भनेर एउटा पाम्प्लेट लेखेर आफ्ना कर्मचारीहरूलाई बाँडेका थिए । सो पाम्प्लेटमा उनले मितव्ययी हुने तरीकाबारे लेखेका थिए । आज पनि आइकियाका कर्मचारीहरूले त्यो पाम्प्लेटमा दिइएको निर्देशिका पछ्याउने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)