रुकुमेली विद्यार्थीले आविष्कार गरे ‘सेक्युरिटी सिष्टम’ प्रविधि
Feb 5, 2018
 
प्रविधि
रुकुम । रुकुमका एक विद्यार्थीले चोर पत्ता लगाउने ‘सेक्युरिटी सिष्टम’ यन्त्रको आविष्कार गरेका छन् । रुकुम (पश्चिम)का मुसीकोट–११ भलाक्चा स्यावाङ घर भई हाल पद्योदय नमूना मावि दाङमा इलेक्ट्रिकल इञ्जिनीयरिङ तेस्रो वर्षमा अध्ययनरत वसन्त ओलीले यस्तो यन्त्रको आविष्कार गरेका हुन् । माइक्रो कण्ट्रोलर, पीआईआर सेन्सर, आईएलएवाईलगायत उपकरण जडान गरेर उनले आविष्कार गरेको यन्त्रले चोर घरमा पसेको जानकारी सम्बन्धित घरधनीलाई दिने बताइएको छ । उनले हालसम्म ३० ओटाभन्दा बढी यन्त्रको आविष्कार गरिसकेका छन् ।
आफूले आविष्कार गरेका केही उपकरण विक्रीका लागि बजारमा समेत आएको ओलीले बताए । ‘सबैभन्दा प्रभावकारी उपकरण सेक्युरिटी सिष्टम नै हो,’ उनले भने । उनका अनुसार चोर घर तथा पसलमा पसेमा उक्त उपकरणमार्फत मालिकको मोबाइलमा फोन जान्छ । ‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, घरकोठामा अज्ञात व्यक्ति प्रवेश ग¥यो भने मोशन र हिटका आधारमा त्यसले जुन व्यक्तिको फोन नम्बर लिङ्क दिइएको हुन्छ, उसलाई फोन गर्छ ।’ सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले जानकारी दिए ।
सेक्युरिटी सिष्टम उपकरणको करीब रू. १५ हजार लागत रहेको ओलीले बताए । विशेषगरी राति हुने चोरीको सूचना दिन यो उपकरण आविष्कार गरेको उनको भनाइ छ । उनका केही आविष्कारहरू यस प्रकार छन् :
वाटर सेन्सर
ओलीले घरको छतमा राखिएको पानीको ट्याङ्कीमा आवश्यक पर्ने वाटर सेन्सर पनि बनाएका छन् । यसले ट्याङ्कीमा पानी सकिएपछि स्वतः विद्युत्को मोटर अन गर्ने र पानी भरिएपछि स्वतः मोटर बन्द गर्ने उनको भनाइ छ । आफूले तयार पारेका १ सय ओटा वाटर सेन्सर विक्रीका लागि बजारमा गएको र माग बढेको उनले बताए । यसको मूल्य ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म राखिएको छ ।
अटो बत्ती
यसअघि ओलीले दिउँसो आफै निभ्ने र राति आफै बल्ने अटोमेटिक बत्तीको आविष्कार गरेका छन् । उनले बनाएको अटो बत्तीले २ सय ४० भोल्टेज खपत गर्दछ । जिल्लामा यो बत्तीको माग आएपछि बजारमा पठाइएको उनले बताए ।
रिमोटदेखि पङ्खासम्म
एकपछि अर्को नयाँ यन्त्रको आविष्कारमा लागेका ओलीले रिमोटदेखि कोठाको चुकुल, पङ्खा, बत्ती खोल्न सकिने उपकरण पनि बनाएका छन् । त्यस्तै, करेण्ट प्रवाह भए÷नभएको थाहा पाउने फेज भोल्टेज सेन्सर, ब्याट्रीको चार्ज पत्ता लगाउने उपकरण, विद्युतीय लुडो, बढी भोल्टेज भए व्यवस्थापन गर्ने डिभाइस, एलईडी डान्सर, एलईडी चेञ्जर, मान्छे कोठाभित्र पस्दा आफै विद्युत् स्विच अन हुने मोशन सेन्सर, टाइमर स्विचलगायत ३० ओटाभन्दा बढी उपकरण बनाएका छन् उनले ।
आलुबाट बत्ती
रुकुमको बालकल्याण मावि झुल्खेतबाट माध्यमिक शिक्षा उत्तीर्ण गरेका ओलीले विद्यालय स्तरमा कक्षा पढ्दा घरेलु प्रविधिबाट विद्युत् उपकरण बनाउनेतर्फ चासो बढेको देखाएका थिए । सानोमा आलु र गोबरबाट बत्ती बालिसकेको अनुभव उनीसँग छ ।
पढाइ खर्चबाट आविष्कार
अहिले आफूले पढाइ खर्चका लागि घरबाट आउने रकमबाट आधा खर्च बचाएर विद्युतीय उपकरण निर्माण बनाउने गरेको ओलीले बताए । ‘घरबाट आएको खर्च जोगाएर विद्युतीय उपकरण बनाउने गरेको छु,’ उनले भने, ‘कतिपय सामग्री महँगो भएकोले नयाँ उपकरण निर्माणमा समस्या छ ।’ ड्राइभरविना नै गुड्ने गाडी, मान्छेविना खाना पकाउने प्रविधि, धान काट्ने मेशिनलगायत आविष्कार गर्ने योजनासमेत उनले अघि सारेका छन् ।