ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एप्पलले सामसङको बजार खोस्दा साओमी बन्यो नेपालमा सर्वाधिक बजार हिस्सा ओगट्ने मोबाइल ब्राण्ड

२०८० साउन, २५  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मध्यम मूल्य रेञ्जका मोबाइल विक्री गर्दै आएको चिनियाँ ब्राण्डको साओमी फोन नेपालमा सबैभन्दा धेरै बजार हिस्सा ओगट्ने फोनमा उक्लिएको छ । 

लामो समयदेखि नेपालको ठूलो बजार हिस्सा ओगट्दै आएको सामसङ फोनलाई साओमीले गत जुनदेखि पछि पारेको विश्वव्यापी मोबाइल मार्केट शेयरको तथ्यांक राख्ने स्टार्ट काउन्टरको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार साओमीको बजार हिस्सा उल्लेख्यरूपमा बढेको नभइ सामसङले बजार हिस्सा गुमाउँदा साओमी पहिलो बनेको हो । 

गत वर्ष सन् २०२२ को जुलाईमा नेपालको बजारको ३०.६१ प्रतिशत बजार हिस्सा ओगटेको सामसङले जुलाई २०२३ सम्ममा झन्डै ४ प्रतिशतले बजार गुमाउँदै २६ प्रतिशतमा खुम्चिएको छ । सोही अवधिमा साओमीले भने आफ्नो बजार हिस्सालाई यथास्थितिमा राखेको छ । हाल साओमीको बजार हिस्सा २६.६७ प्रतिशत छ । 

एप्पलले खोस्यो सामसङको बजार 

उक्त तथ्यांकअनुसार सामसङको बजार हिस्सा भने एप्पलले खोसेको छ । सामसङको बजार निरन्तर ओरालो लाग्दा एप्पलले भने नेपाली बजारमा आफ्नो हिस्सा दोब्बरले बढाएको छ । सन् २०२२ को अगष्टमा ७.२ प्रतिशत बजार पाएको एप्पलका मोबाइलले २०२३ को मेसम्म दोब्बरले बजार हिस्सा बढाएर १४.८ प्रतिशत पुर्‍याएको छ ।

कुनको बजार हिस्सा कति ? 

दुई ब्राण्ड साओमी र सामसङले मात्रै नेपाली बजारको आधाभन्दा बढी (झन्डै ५३ प्रतिशत) हिस्सा ओगटेका छन् । नेपालमा बढी विक्री भइरहेका ३ ब्राण्ड साओमी, सामसङ र एप्पलले ६५ प्रतिशत बजार ओगटेका छन्  ।

नेपालमा चिनियाँ ब्राण्ड साओमीको बजार हिस्सा सबैभन्दा बढी २६.६७ प्रतिशत छ भने दोस्रोमा कोरियाली ब्राण्ड सामसङ छ । सामसङले २६ प्रतिशत मात्रै बजार हिस्सा पाएको छ । त्यस्तै महँगो मूल्य रेञ्जका फोन विक्री गर्ने एप्पलले १२ प्रतिशत बजार पाउँदा ओप्पोले ७.८७ प्रतिशत बजार पाएको छ ।‌ ओप्पोले पनि पछिल्लो एक वर्षमा २ प्रतिशतले बजार गुमाएको छ । त्यस्तै रियलमी ६.८१ बजार पाउँदा भिभोले ६.७४ प्रतिशत बजार पाएको छ । 

त्यस्तै, नेपालमा विक्री हुँदै आएका हुवाई, टेक्नो, वनप्लस नोकिया लगायतका फोनको बजार हिस्सा भने १४ प्रतिशत मात्रै छ ।

विश्वभरमा एप्पलको बजार हिस्सा बढी 

विश्वव्यापी तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी बजार हिस्सा एप्पलको छ । एप्पलले गत मेमा सबैभन्दा बढी ३१.४४ प्रतिशत बजार हिस्सा पाएको थियो । मेको तुलनामा जुलाईसम्ममा एप्पलको बजार घटेको छ । बजार घटे पनि बजार हिस्साका आधारमा एप्पल शीर्ष स्थानमै छ । एप्पलले जुलाईसम्ममा विश्व बजारमा २८.३६ प्रतिशत बजारसहित पहिलो स्थानमा रहँदा सामसङले २४.२३ प्रतिशत बजार पाउँदै दोस्रो स्थानमा छ । चिनियाँ ब्राण्ड साओमी ११ प्रतिशत बजार ओगट्दै तेस्रो स्थानमा छ । यी ३ कम्पनीले विश्वको मोबाइल बजारको ६४ प्रतिशत बजार पाउँदा एप्पल र सामसङले मात्रै झण्डै ५३ प्रतिशत बजार ओगटेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)