ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

२०८० साउन, ६  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ ।

टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।”

अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ ।

टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।”

नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।”

आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् ।

कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् ।

“मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।”

स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।” 

शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् ।

समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)