ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिमा प्रविधि : चितवनमा ‘मोबाइल एप्स’मार्फत परामर्श

२०८० भदौ, २४  
समाचार प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भरतपुर (चितवन) । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरूले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् । 

कालिका नगरपालिका–५ का दीपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउँछन् । उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेका छन् ।  

‘उत्पादित वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राखिदिन्छौं, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ,’ खुसी हुँदै महतोले भने, ‘त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ ।’ उनले बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्छन् । उनले एपमार्फत कृषि उपजको विक्री गर्दै आएको सुनाए ।  

‘मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा बिचौलियाले खान पाएका छैनन्,’ उनले भने, ‘बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेको छु ।’ 

उनका पाँच बाख्रा छन् । विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नुपथ्र्याे । आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उनले बताए । 

पदमपुरको दीप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी विक्री नभएर कुहिने गरेको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध ३५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर विक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधारीले बताइन् ।  

सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो । अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन् । उनीहरूले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन् । मौसम, बीउबिजन, मलखाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उनले बताए ।  

सहकारी संस्थामा डिजिटल टिभीसमेत जडान गरिएको छ । त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउँछिन् । ‘विज्ञहरूलाई ल्याएर किसानको समस्या समाधान खोज्ने प्रयास गरेका छौं,’ उनले भने, ‘विज्ञका सुझाव मोबाइल एपमा राख्छौं ।’

कालिका नगरपालिका–५ र २ का महिलाले कृषि एप प्रयोग गर्ने गरेका छन् । प्रविधितर्फ किसानको आकर्षणसमेत बढ्दै गएको जिओ कृषिका कार्यक्रम अधिकृत प्रेम कुँवर बताउँछन् । उनका अनुसार १५ प्रतिशत महिलाले कृषि एपमार्फत सम्पूर्ण जानकारी लिने गरेका छन् भने संस्थाले एप चलाउनका लागि महिलालाई तालिमसमेत दिँदै आएको छ ।

यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । त्यसमा किसानले आफ्नो मोबाइलमार्फत बैंकले उपलब्ध गराएको एप्लिकेसन सफ्टवेयर प्रयोग गरी कृषिसम्बन्धी विभिन्न कारोबार सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्छन् । किसानले मौसम, कृषि सामग्रीको उपलब्धता, कृषिसम्बन्धी कारोबार र कृषि बीमा तथा अनुदानको जानकारी पाउन सक्छन् । 

कृषि व्यवसायको प्राविधिक ज्ञान, उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणसम्बन्धी सूचना र कृषि फार्मका सफल अभ्यासको जानकारी पनि किसान एपबाट लिन सकिन्छ । नगरपालिकाको कृषि शाखामा कृषिसम्बन्धी गतिविधि हेर्न मिल्ने डिजिटल मेसिन राखिएको छ । 

उद्यमशीलतामा जोडिनका लागि सो नगरपालिकाका सबै वडाका उद्यमीलाई मोबाइल एप जडान गर्ने प्रयासमा रहेको नगरप्रमुख विनोद रेग्मीले बताए । ‘वडा नं ६ र ५ मा डिजिटल स्क्रिनमार्फत कृषिसम्बन्धी जानकारी दिने र उपचारका विषयमा जानकारी दिने गरेका छौं,’ उनले भने, ‘११ ओटै वडामा एपको व्यवस्थापन गर्ने प्रयासरत छौं ।’ 

उनले एपमार्फत महिला उद्यमीलाई जोड्ने योजना रहेको बताए । डिजिटल प्रविधिमा जाँदा समयको बचतका साथै ठगिने सम्भावना कम हुने उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)