आपत् परेको बेलामा स्थितिसँग जुझ्न मानिसहरूले अनेकौं उपाय अपनाउँछन् । झन् छोराछोरीका लागि त बाबुआमा जुनसुकै काम गर्न पनि पछि पर्दैनन् । चीनमा एक महिलाले अस्पतालमा उपचाररत छोरीका लागि आवश्यक रकम जुटाउन आफ्नै दूध बेचेकी छन् । सघन उपचार केन्द्र (आईसीयू)मा रहेकी छोरीका लागि कम्तीमा पनि १ लाख युआन (११ हजार २ सय ५० पाउण्ड स्टर्लिङ) चाहिने भएपछि ती महिलाले त्यस्तो गरेकी हुन् ।
मियाउफाई भिडियो वेबसाइटमा पियर भिडियोले एक भिडियो पोष्ट गरेको थियो । सो भिडियोमा उक्त महिला र उनका श्रीमान्ले आफ्नो समस्या बताएका थिए । सो भिडियोलाई चीनको सामाजिक सञ्जाल सिना वेइपोमा पनि शेयर गरियो । शेयर गरिएको भिडियो २४ लाखभन्दा धेरैपटक हेरिएको छ र त्यसमा ५ हजारभन्दा बढी कमेण्ट आएको छ । सो भिडियो सेञ्चेनको चिल्ड्रेन पार्कमा खिचिएको हो । आफ्ना जुम्ल्याहा छोरीमध्ये एकलाई सेञ्चेनकै पाओयन जिल्ला अस्पतालको आईसीयूमा राखिएको र उपचारका लागि आवश्यक रकम तत्कालै जुटाउन यस्तो गर्नुपरेको ती महिला र उनका श्रीमान्ले
बताएका छन् ।
ती महिलाले प्रतिमिनेट १० युआन लिएर अरूको बच्चालाई आफ्नो दूध खुवाइरहेकी छन् । यस भिडियोप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । धेरैजसोले ती महिलाप्रति सहानुभूति देखाएका छन् । कतिपयले बाटो हिँड्ने मानिसहरूसँग ती दम्पतीलाई पैसा दिन आग्रह गरे भने केहीले उनीहरूलाई आर्थिक सहयोग गर्ने बताए । केहीले भने मद्दत माग्ने अभद्र तरीकासमेत भने । एजेन्सी